arthik abhiyan
ad banner

मर्मतको प्रतिक्षामा रुपालीगाड जलविद्युत् आयोजना

Aug 14, 2019
प्रदेश ०७
Image Not Found
सांकेतिक तस्वीर

साउन २९, डडेल्धुरा ।  झण्डै ३३ वर्ष पहिले निर्माण भएको सेल्टुना सिंचाइ तथा जलविद्युत् आयोजना जीर्ण बनेको छ ।  जिल्ला सदरमुकामदेखि १३ कोष टाढा भागेश्वर गाउँपालिकाको रुपालमा रहेको सो योजना मर्मत हुन नसक्दा जीर्ण बनेको हो ।  

विसं २०३८ मा करीब रू.१५ करोड लगानीमा रुद्रावती खोलामा निर्माण भएको यस सिंचाइ योजनाबाट १०० किलोवाट क्षमताको रुपालीगाड साना जलविद्युत् आयोजना समेत सञ्चालन गर्ने गरी निर्माण गरिएको स्थानीय लोकराज भट्टले बताए । लामो समयदेखि सिंचाइ आयोजना मर्मत हुन नसक्दा विद्युत् उत्पादन गृहसमेत जीर्ण बनेको उनले बताए ।   

भागेश्वर गाउँपालिका रुपालको सेल्टुना सिंचाइ योजना जीर्ण बन्दै गएपछि उक्त क्षेत्रबाट उत्पादन भइरहको जलविद्युत् आयोजना पनि १० वर्षदेखि बन्द भएको छ । सिंचाइ योजना जीर्ण बन्दा यस क्षेत्रको करीब १५० हेक्टर खेतीयोग्य जमीन सिंचित हुन नसकेकोे स्थानीय महेश पाण्डेले बताए ।   
     
जिल्ला सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान नहुँदै रुपाल क्षेत्रमा बिजुली बलेको थियो । विसं २०३८ मा रुपालको करीब ३ हजार घरधुरीमा विद्युत् आपूर्ति भएको स्थानीयवासी धनसिंह ठकुराठीको भनाइ छ ।    

विसं २०७२ मा रुपालमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको विद्युत् प्राधिकरण कार्यालय डडेल्धुराले बताएको छ । उक्त सिंचाइ र विद्युत् आयोजना मर्मतसम्भार र संरक्षण हुन नसक्दा राज्यको ठूलो लगानी खेर गइरहेको छ ।

आयोजना मर्मत गरी विद्युत् पुनःसञ्चालन गर्न बजेट माग गरिएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।  रासस
 

प्रतिक्रिया दिनुहोस्