arthik abhiyan
ad banner

वडाध्यक्षले सञ्चालन गरेको कृषि फार्ममा कृषिमन्त्रीद्वारा अनुगमन

Aug 14, 2019 
प्रदेश ०३
NA

साउन २९, हेटौंडा । प्रदेश–३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बुधवार प्रदेश सरकारको अनुदानमा हेटौंडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालित बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गरेका छन् ।

मन्त्री लामाले हेटौंडा–१२ का वडाध्यक्ष ललित घलानद्वारा सञ्चालित अग्रेली कृषि फार्म अनुगमन गर्दै प्रदेश सरकारको उद्देश्यअनुसार कार्य सम्पादन गर्न निर्देशन दिएका वडाध्यक्ष तथा फार्मका सञ्चालक घलानले बताए । रू. ४० लाखको लगानीमा १३ कठ्ठा जमीनमा टनेल निर्माण गरेर गोलभेंडा, भेडे खुर्सानी तथा अन्य बेमौसमी तरकारी खेती गरिएको उक्त फर्मबाट वार्षिक रू. १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ । फार्मका लागि प्रदेश सरकारले रू. २१ लाख ७५ हजार अनुदान दिएको घलानको भनाइ छ ।

त्यस्तै मन्त्री लामाले बुधवारै हेटौंडा–१२ मा रहेको सुन्दर बहुउद्देश्यीय कृषक समूहले सञ्चालन गरेको बाख्रापालन केन्द्र पनि अनुगमन गर्दै यसबाट वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए । पदमपोखरी क्षेत्र बाख्रापालनका लागि अत्यन्त उपयुक्त भएकाले दत्तचित्त भएर काम गर्न उनले सुझाव दिए । केही दिनअघिबाट मात्रै सञ्चालनमा आएको बाख्रापालन केन्द्रमा ७५ माउ बाख्रा र तीन बोयर जातको बोका रहेको कृषक समूहका फेन्चु लामाले जानकारी दिए । प्रदेश सरकारको रू. १६ लाख ४३ हजार अनुदान र रू. १४ लाख १६ हजार उक्त समूहको लगानीमा १० जनाले सामूहिक बाख्रा पालन गर्दै आएका छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्