arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साउनमा मात्रै ४ हजारभन्दा बढीले लिए पान, सेवाग्राहीको चाप बढेपछि कार्यालय १२ घण्टा खुला

Aug 14, 2019  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

साउन २९, प्युठान । आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट साउन महीनामा मात्रै ४ हजार जनाभन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् । सरकारले साउन १ गतेदेखि १ हजारभन्दा माथिको पारिश्रमिकमा पान अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेपछि राजस्व कार्यालयमा पान लिनेको सेवाग्राहीको चाप बढेको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका प्रमुख लिलाप्रसाद शर्माले दिएको जानकारीअनुसार मंगलवार (साउन २८ गते) सम्ममा ४ हजार ८१३ जनाले पान नम्बर लिएका छन् । ‘सरकारले पान अनिवार्य गरेपछि कार्यालयमा सेवाग्राहीको चाप बढेको छ,’ उनले भने, ‘अहिले दैनिक २०० देखि ३०० जना पान कार्ड लिन आउछन् ।’ उनका अनुसार गत आव २०७५/७६ मा ३ हजार १६५ जनाले पान लिएका थिए ।

कार्यालयमा सेवाग्राहीको चाप बढेपछि दैनिक १२ घण्टा सेवा दिइएको कार्यालय प्रमुख शर्माले बताए । ‘हामीले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिएका छौं,’ उनले भने, ‘सेवाग्राहीहरु बिहान ७ बजे नै आउँछन् ।’ कार्यालयले साबिकको राप्ती अञ्चलका दाङ, प्यूठान, रोल्पा, सल्यान र रुकुम जिल्लालाई हेर्ने गरेको छ ।

व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका आर्थिक उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउन सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्