arthik abhiyan
ad banner

मानसरोवर जाने भारतीय पर्यटक घटे

Aug 15, 2019
बजार
Image Not Found

नेपालगञ्ज (अस) । हुम्ला हुँदै चीनको मानसरोवर जाने भारतीय पर्यटकको  संख्यामा कमी आएको छ । गत बिहीवारसम्म हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या ५ हजार ५३७ जना पुगेको हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 

अघिल्लो वर्ष यही समयसम्म ८ हजारभन्दा बढी भारतीय पर्यटक हुम्ला हुँदै मानसरोवर यात्रामा गएका थिए । अघिल्लो दुई वर्षको तुलनामा यसपटक भारतीय पर्यटक संख्या घट्नुको कारण रसुवाको केरुङ नाका छोटो पर्नु र काठमाडौंबाट हेलिकोप्टर सीधै केरुङमा उडान हुनु हो । 

साउन लागेपछि १२ दिनसम्म पर्यटक आउन रोकिए पनि साउन २२ देखि पर्यटक आउन थालेको घर्तीमगरले बताए । उनले भने, ‘पछिल्ला दुई दिनमा ७३ जना पर्यटक सिमकोट हुँदै हिल्साका लागि आएका छन् ।’ 

यस वर्ष आएका भारतीय पर्यटकमध्ये २ हजार ९९७ जना पुरुष र २ हजार ५४० जना महिला छन् । गत वर्ष १० हजार ८५७ जना भारतीय पर्यटकले मानसरोवर कैलाशको यात्रा हिल्सा हुँदै गरेका थिए भने त्योभन्दा अघिल्लो वर्ष १२ हजार ५३४ जनाले यात्रा गरेका थिए । 

सन् २०१७ देखि हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा शुरुआत भएको हो । हुम्लाबाट भारतीय पर्यटक भित्रिन थालेपछि होटलमा लगानी गर्न पुगेका हुम्लाका व्यवसायी अहिले पर्यटक घटेपछि चिन्तित हुन थालेका छन् । सिमकोट र हिल्सामा पर्यटकलाई लक्षित गरी तीन दर्जन होटल सञ्चालित छन् । 

प्रतिक्रिया दिनुहोस्