arthik abhiyan
ad banner

११ बुँदे घोषणापत्र जारी गर्दै उद्यमशीलता सम्मेलन सम्पन्न

Aug 15, 2019
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनुपर्ने निष्कर्षसहित दुईदिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ । सम्मेलनमा ४३ जिल्लाका ५०० युवा प्रतिनिधिले उठाएका मागलाई समेटी ११ बुँदे घोषणापत्र जारी गरिएको छ । 

सम्मेलनमा उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निःशर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, विना धितो ऋण र ब्याज अनुदानको प्रक्रिया सहज बनाउनुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालित गरेका कार्यक्रम एकद्वार प्रणालीबाट हुनुपर्ने र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्ने निष्कर्ष निकालिएको छ । 

सम्मेलन प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रूपको आयोजना तथा आईएमई फाउन्डेशनको सह आयोजनामा भएको हो । सम्मेलनबाट प्राप्त उपलब्धिबारे समापन सत्रमा सम्मेलन मूलआयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाको बिजनेश प्लानमाथि सरकार र निजीक्षेत्र लगानी गर्न तयार हुनुले युवामा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टार्टअप कम्पनी खोल्न यसले सहयोग पुर्‍याउने बताए ।

समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विगतका कमी कमजोरी र गलत प्रवृत्तिका कारण युवाहरू विदेश पलायन हुनुपरेको चर्चा गर्दै  सरकारले युवाहरूको सोचमाथि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आईएमई गू्रपका अध्यक्ष चन्द्र ढकालले सरकारले उद्यम गर्न चाहने युवालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।  उनले उद्यमी बन्न सहज नभएको उल्लेख गर्दै ठूलाभन्दा  ठूला चुनौतीको सामना गर्नसक्ने युवा मात्र सफल उद्यमी बन्ने बताए । 

सम्मेलनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, शंकरप्रसाद कोइराला, प्रदेश ३ उद्योगमन्त्री अरुण नेपाल, पूर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, वरिष्ठ उद्यमी हरिभक्त शर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण केसी, दिलीप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेत लगायत ४० भन्दा बढीले प्रस्तुति दिएका थिए । सम्मेलनमा उद्यम गर्न चाहने युवालाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तकको विमोचन समेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्