arthik abhiyan
ad banner

प्रधानमन्त्री रोजगार कार्यक्रम : दाङमा डेढ सय जनाले काम छाडे

Aug 15, 2019
प्रदेश ०५
NA

घोराही (अस) । दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ युवाहरूको आकर्षण घटेको छ । शुरूमा राम्रो कमाइ हुने अपेक्षाले रोजगारमा सामेल भएकाहरूले धमाधम काम छाड्न थालेका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा ६ सय जनामध्ये १५५ जनाले काम छाडिसकेको उपमहानगरका रोजगार संयोजक भागवत घिमिरेले बताए । उत्साहका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन भरेकाहरू अहिले निराश भएर काम छोड्न थालेको उनको भनाइ छ ।

घिमिरेका अनुसार हाल ४ सय ४५ जनाले मात्र उक्त कार्यक्रमअन्तर्गत काम गरिरहेका छन् । दलित, असहाय, एकल महिला, अतिविपन्न तथा बेरोजगार नागरिक पहिचान गरी रोजगार प्रदान गरिएको उनले बताए । ‘सरकारको मापदण्डमा परेकाहरूलाई कामका लागि छनोट गरिएको थियो,’ उनले भने, ‘तर अहिले बीचमै काम छोड्नुको कारण थाहा भएन ।’

रोजगारीका लागि आवेदन दिँदा सरकारले दिने तलबबारे उनीहरू अनभिज्ञ भएको, निर्माण, सरसफाइ जस्ता काममा लगाएकाले काम छाडेको हुन सक्ने उपमहानगरपालिकाले बताएको छ । उपमहानगरपालिकाका १९ ओटै वडाबाट रोजगारीका लागि फारम भरेका ११ हजारमध्ये ६ सय जनालाई छनोट गरिएको थियो, जसमध्ये ३२६ महिला र ११९ जना पुरुष दैनिक रूपमा रोजगारीमा आउने गरेका छन् । काम छाडेका १५५ जनाको ठाउँमा छिट्टै पदपूर्ति गरिने संयोजक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्