arthik abhiyan
ad banner

जनता क्याम्पस सुर्खेत : पर्याप्त भौतिक संरचना नहुँदा समस्या

Aug 15, 2019
प्रदेश ०७
NA

सुर्खेत (अस) । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–९, विद्यापुरस्थित जनता बहुमुखी क्याम्पसमा पर्याप्त भौतिक संरचना नहुँदा समस्या भएको छ । क्याम्पसमा छात्रावास, क्यान्टिन लगायत संरचना नहुँदा विद्यार्थी, प्राध्यापक र कर्मचारीहरू मर्कामा परेका हुन् । 

विद्यापुर क्षेत्रमा व्यवस्थित घर नहुँदा भाडामा बस्न समेत समस्या हुने गरेको अछामबाट अध्ययनका लागि सुर्खेत झरेका विजय बुढाले बताए । वास बस्न जेनतेन व्यवस्था भए पनि स्तरीय भोजनालय पाउन कठिनाइ भएको उनको गुनासो छ । क्याम्पसको आप्mनै छात्रावास र क्यान्टिन नहुँदा आपूmहरू समस्यामा परेको उनले बताए । 

पश्चिम चौकुने गाउँपालिकाबाट अध्ययनका लागि विद्यापुर आएका तपेन्द्र बिसीले पनि क्याम्पसमा पुस्तकालय, छात्रावास र क्यान्टिन नहुँदा सास्ती पाएको गुनासो गरे । क्याम्पसका नाममा पर्याप्त जग्गा भए पनि रकम अभावले यस्ता संरचना बनाउन नसकिएको क्याम्पस प्रशासनले बताएको छ ।

हालै मप विश्वविद्यालयबाट आंगिक क्याम्पसको मान्यता पाए पनि बजेट नहुँदा छुट्टै पुस्तकालय, छात्रावास र क्यान्टिन निर्माणमा समस्या भएको क्याम्पस प्रमुख डिल्लीराम भण्डारीले बताए । विद्यापुरमा क्याम्पस आसपास पातलो बस्ती र पुरानो डिजाइनका घर भएकाले विद्यार्थीलाई उपयुक्त आवास पाउन समस्या भएको उनको भनाइ छ । ‘थुप्रै पूर्वाधार निर्माणका काम गर्न बाँकी छ,’ उनले भने । पूर्वाधार निर्माणका लागि आवश्यक बजेट, सहयोगका लागि जनप्रतिनिधिका साथै प्रदेश सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए । गत आर्थिक वर्षको बजेटबाटै उपकरण, फर्निचर, फर्निसिंह, रङरोगन, शौचालय मर्मत सुधारलगायत काम भइरहेको उनले बताए । 

क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि जनशक्ति तथा भौतिक पूर्वाधार निर्माणका लागि विश्वविद्यालयसँग समेत समन्वय गरिएको क्याम्पस प्रमुख भण्डारीले बताए । क्याम्पसमा सुर्खेतसहित अछाम, कैलाली, दैलेख, कालीकोट लगायतका ३३१ विद्यार्थी अध्ययनरत छन् ।

यसैबीच, क्याम्पस प्रशासनले सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सांसद नवराज रावतलाई क्याम्पसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा पहल गरिदिन आग्रह गरेको छ । क्याम्पस प्रशासनले सांसद रावतलाई क्याम्पसका लागि आवश्यक थप भौतिक संरचना निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्