arthik abhiyan
ad banner

कोइला खानी सञ्चालनमा आएन

Aug 15, 2019
प्रदेश ०५
NA
author avatar राजेश जीसी

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–२ रातापानीमा रहेको कोइला खानी सञ्चालन हुन सकेको छैन । ३ वर्षअघि बन्द भएको कोइला खानी सञ्चालनको प्रयास कुनै सरकारबाट नभएको गुनासो स्थानीयले गरेका छन् ।

रातापानीमा १० वर्ष अघिदेखि दाङका ठेकेदार वासुदेव घिमिरेले कोइला निकाल्दै आएका थिए ।

खानी सञ्चालनमा नआउँदा सरकारको लाखौं राजस्व र आपूmहरूको रोजगारी गुमेको स्थानीय बासिन्दाको भनाइ छ । तीनै तहको सरकार भए पनि जिल्लामा रहेका विभिन्न खानीको उत्खनन तथा सदुपयोग नहुनु विडम्बना भएको स्थानीय धनबहादुर खड्काले बताए । ‘सरकारले खानीको अन्वेषण तथा उत्खनन गर्नुपर्ने हो,’ उनले भने, ‘तर यहाँ बन्द भएको खानी सञ्चालनमा ल्याउने प्रयास समेत गरिएन ।’

संघीय व्यवस्था लागू भएपछि कोइला खानी पुनः उत्खनन हुने आशा गरे पनि पूरा नभएको अर्का स्थानीय धनबहादुर मगरले बताए । ‘खानी सञ्चालनमा सरकारले चासो दिएको छैन,’ उनले भने, ‘खानी सञ्चालन आए स्थानीयको आयस्तर बढ्नुका साथै सरकारलाई समेत ठूलो राजस्व प्राप्त हुन्थ्यो ।’ विभिन्न स्थानमा रहेका कोइला खानी सञ्चालनमा सरकारले कुनै पहल नगर्दा माण्डवी गाउँपालिकावासी चिन्तित भएको उनको भनाइ छ ।

माण्डवीका रातापानी, धनचौरलगायत तीन ठाउँका खानीबाट २–३ वर्ष अघिसम्म कोइला निकालिँदै आएको थियो । खानीको भित्रबाट पानी निस्किएको र जुनसुकै बेला पहिरो गएर कामदार पुरिन सक्ने भन्दै काम रोकिएको थियो ।

खानी उत्खनन गर्दा वरपरको खानेपानीको स्रोतमा समेत समस्या देखिएको थियो । यसको उचित व्यवस्थापनसहित खानी सञ्चालन हुनुपर्ने स्थानीयको माग छ ।

खानी सञ्चालनकोे अधिकार स्थानीय तहलाई नभएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए । ‘देशमा भएका खानीहरू सञ्चालन, उत्खनन गर्ने अधिकार केन्द्र सरकारसँग छ,’ उनले भने, ‘हामी सरकारलाई आग्रह गर्छौं ।’ 

यस्तै प्रदेश र केन्द्र सरकारको समन्वयमा प्रदेश वा स्थानीय सरकारले खानी सञ्चालन गर्नुपर्ने स्थानीय धनबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्