arthik abhiyan
ad banner

सुनको भाउमा निरन्तर वृद्धि 

Aug 15, 2019
अन्तरराष्ट्रिय
Image Not Found

न्यूयोर्क (अमेरिका) । बहुमूल्य धातु सुनको भाउ बुधवार पनि बढेको छ । मंगलवार सुनको भाउमा सामान्य कमी आए पनि बुधवार पुनः सुनको भाउ बढेको हो । अमेरिका र चीनबीच जारी व्यापारयुद्धका कारण विश्व अर्थतन्त्रमा देखिएको अनिश्चयसँगै सुनको भाउले टेवा पाएको हो ।  

बुधवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस १ हजार ५१७ डलर ०६ सेन्टसम्म पुगेको थियो । व्यापारयुद्धबारे देखिएको आशंकासँगै लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न सुनमा लगानी बढाएका हुन् । यो समाचार तयार पार्दासम्म स्पट गोल्डको भाउ बेलुका सवा ७ बजे प्रतिऔंस १ हजार ५१४ डलर ७७ सेन्टमा आइपुगेको थियो । 

विश्लेषकले अझै पनि अमेरिका–चीन व्यापारयुद्ध समाधान हुने दिशामा अघि नबढेको भन्दै यसले आगामी दिनमा सुनको भाउ थप बढ्न सक्ने बताएका छन् । गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता गर्न तयार नरहेको बताएका थिए । यससँगै अमेरिका र चीनबीच तय भएको आगामी सेप्टेम्बरको वार्ताबारे पनि आशंका पैदा भएको छ । 

गत साता मात्रै सुनको भाउ ४ प्रतिशत बढेको थियो । यस वर्षको शुरूयता सुनको भाउ १७ प्रतिशतभन्दा धेरै बढिसकेको छ । विश्व अर्थतन्त्रमा केही नकारात्मक अथवा आश्चर्यपूर्ण घटना भए सुनको भाउ बढ्ने गरेको छ । एजेन्सी


 

प्रतिक्रिया दिनुहोस्