arthik abhiyan
ad banner

प्रारम्भिक चरणको निर्वाचनमा पछि परेसँगै नयाँ आर्थिक योजना ल्याउँदै म्याक्री

Aug 15, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

ब्युनस आयर्स (अर्जेन्टिना) । अर्जेन्टिनाका राष्ट्रपति मौरिसिओ म्याक्रीले नयाँ आर्थिक योजना घोषणाको तयारी गरेका छन् । आइतवार भएको प्रारम्भिक निर्वाचनमा पछि परेसँगै मतदाताको विश्वास जित्न म्याक्रीले नयाँ आर्थिक योजना अघि सार्न लागेका हुन् । आइतवारको निर्वाचनमा उनी विपक्षी उम्मेदवार अल्बर्टो फर्नान्डेजसँग ठूलो अन्तरले पछि परेका थिए । 

यो समाचारसँगै मंगलवार अर्जेन्टिनाको मुद्रा पेसो ४ दशमलव २९ प्रतिशत कमजोर बनेको थियो । मंगलवार पेसोको भाउ प्रतिडलर ५५ दशलमव ९ पुगेको छ । यसअघि सोमवार अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रा पेसोको भाउ १५ प्रतिशत घटेको थियो । म्याक्री अनपेक्षित रूपमा पछि परेसँगै पेसोको भाउ एकै दिन १५ प्रतिशत कमजोर भएको हो । 

सोमवार अर्जेन्टिनाको मुद्राका साथै शेयर बजारमा पनि ठूलो कमी आएको छ । मुलुकका केही शेयरले आधाभन्दा बढी मूल्य गुमाएका थिए । आफ्नो पराजयपछि बजारमा देखिएको यस्तो नतीजाबारे प्रतिक्रिया दिँदै राष्ट्रपति म्याक्रीले यो केवल शुरुआत रहेको बताए । उनले विपक्षी दलप्रति लगानीकर्ताको आशा नरहेको प्रतिक्रिया दिएका छन् । म्याक्रीले अझै आर्थिक सुधारका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । 

सोमवार अर्जेन्टिनाको प्रमुख शेयर सूचक मार्भल इन्डेक्स ३१ प्रतिशत घटेको थियो । अर्जेन्टिनाका सबैभन्दा ठूला कम्पनीको शेयरमूल्यमा निकै कमी आएसँगै त्यसको प्रभाव समग्र शेयर सूचकमा देखिएको हो । अर्जेन्टिनामा आइतवार भएको निर्वाचनमा म्याक्री वामपन्थी नेता अल्बर्टो फर्नान्डेजसँग पराजित भएका छन् । आगामी अक्टोबरमा अर्जेन्टिनामा राष्ट्रपतीय निर्वाचन हुनेछ । यो निर्वाचनमा १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत पाउने दलले मात्र उक्त निर्वाचनमा भाग लिन पाउनेछन् । 

लगानीकर्ताले अक्टोबरमा हुने मुख्य निर्वाचनमा राष्ट्रपति म्याक्रीले जित्नु असम्भव जस्तै रहेको बताएका छन् । सन् २०१५ मा राष्ट्रपति बनेसँगै म्याक्रीले अघि सारेको अर्थतन्त्र बचाउने योजना अहिले लागू भइरहेका छन् । जसमा अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) को ऋण, सार्वजनिक खर्चमा कटौती तथा पूँजीगत नियन्त्रणको अन्त्यलगायत योजना छन् । 

तर, अर्जेन्टिना अझै आर्थिक मन्दीमा छ । साथै, उच्च मुद्रास्फीति दर र गरीबीका कारण म्याक्रीको योजना निष्प्रभावी देखिएको हो । निर्वाचन आउन २ महीना अझै बाँकी रहेको अवस्थामा म्याक्रीको पक्षमा पुनः जनमत बढ्न सक्ने केहीले आशा व्यक्त गरेका छन् । एजेन्सी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्