arthik abhiyan
ad banner

स्थानीय तहमा स्थायी केन्द्रको किचलो

Aug 21, 2019 
विकास
NA

पर्वत (अस) । जिल्लाका स्थानीय तहमा स्थायी केन्द्रको विषय विवादित बन्दै गएको छ । अहिलेसम्म विवादमा रहेका मोदी गाउँपालिका र जलजला गाउँपालिकाको केन्द्र परिवर्तन भएका छन् । विहादी गाउँपालिका, फलेवास नगरपालिका, पैयुँ गाउँपालिका र महाशिला गाउँपालिकाको केन्द्रका विषयमा अझै अन्योल छ । 

कुश्मा नगरपालिकाको केन्द्र कुश्मा बजारमा रहने निश्चित छ । केन्द्र पायक ठाउँमा नभएको भन्दै विहादी गाउँपालिकामा सबैभन्दा ठूलो विवाद छ । गाउँपालिकाको केन्द्र प्रदेश सरकारले वडा नं ३ इमिचौरमा बनाउन बजेट विनियोजन गरेपछि विवाद बढेको हो । गाउँपालिकाको केन्द्र अहिले वडा नं ४ वहाकीठाँटीमा छ । वडा नं ३ का अध्यक्ष रनबहादुर आलेले केन्द्र जुनसुकै हालतमा पनि सार्नुपर्नेमा बहुमत सदस्य रहेको जिकीर गरे ।

प्रदेश सरकारले ‘रातो किताब’मा केन्द्र इमिचौरमा बनाउन बजेट पठाएपछि पनि अध्यक्षले केन्द्रबारे छलफल चलाउन नचाहेको आरोप लगाउँदै १६ जना प्रतिनिधि गाउँपालिकाको कुनै पनि बैठकमा सहभागी नहुने निर्णयमा पुगेका छन् । अध्यक्ष कमलप्रसाद भुसाल संघ सरकारले तोकेको वहाकीठाँटीमै केन्द्र रहने अडानमा छन् । केन्द्र सार्ने अधिकार प्रदेशसँग नभएको भन्दै उनले अहिलेको केन्द्र सार्न आवश्यक नरहेको बताए । फलेवास नगरपालिकाको केन्द्र अहिले खानीगाउँमा छ । त्यहाँ रहेको केन्द्र सार्ने विषयमा सामान्य छलफल भए पनि स्थायी रूपमा कहाँ रहने भन्ने निर्णय भइनसकेको नगरप्रमुख पदमपाणि शर्माले बताए । ‘केन्द्र खानीगाउँमै रहनेमा सहमति  हुने सम्भावना छ,’ उनले भने ।

पैयुँ गाउँपालिकाको केन्द्रको विवादले गत आवमा जग्गा खरीद र भवन निर्माण शीर्षकमा विनियोजित १ करोड बजेट फ्रिज भयो । प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले भने, ‘चालू आवमा पनि बजेट विनियोजन गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्