arthik abhiyan
ad banner

दैलेखमा संघीय बजेटको ९७.९७% प्रगति

Aug 21, 2019 
विकास
Image Not Found

दैलेख (अस) । दैलेखमा गत आव २०७५/७६ मा संघीय सरकारबाट प्राप्त कुल बजेटको ९७ दशमलव ९७ प्रतिशत खर्च  भएको छ । गत आवमा संघीय सरकारबाट जिल्लालाई रू. ५ अर्ब ६५ करोड ९६ लाख ७१ हजार विनियोजन भएको थियो, जसमा चालूतर्फ ३ अर्ब ८७ करोड ३७ लाख ८७ हजार र पूँजीगततर्फ १ अर्ब ७८ करोड ५८ लाख ८३ हजार थियो ।

जिल्लामा चालूतर्फको बजेट ३ अर्ब ७८ करोड ४५ लाख ५४ हजार (९७.५१ प्रतिशत) खर्च भएको छ । यस्तै पूँजीगततर्फ १ अर्ब ७५ करोड ७० लाख १६ हजार (९८.३८ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखले बताएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख प्रकाश गौतमका अनुसार गत आवको अन्त्यसम्म खर्च नभएका समानीकरण अनुदानबाहेक सशर्त, समपूरक तथा विशेष अनुदानका रकम फिर्ता हुने गर्दछ । ‘संघीय सरकारले स्थानीय तहलाई दिएको अनुदान रकम संघीय सरकारको चालू खर्चको रूपमा लिइने गरेको छ ।’ 

दैलेख विकासका दृष्टिले पछि परेको जिल्ला हो । यहाँको पूर्वाधार विकास तथा नागरिकको जीवनस्तरमा बजेटको महत्त्वपूर्ण भूमिका हुने गर्छ । संघीयतापछि जिल्लाका विभिन्न ग्रामीण क्षेत्र सडक सञ्जाल जोडिएका छन् । यसले स्थानीयको आवतजावत र कृषि क्षेत्रको विकासमा पनि सघाउ पुगेको छ । प्रत्येक वर्ष आउने बजेट प्रायः सडक, सिँचाइ, खानेपानी लगायत विकासका काममा खर्च हुने गरेको छ । नियन्त्रक गौतमले भने, ‘यहाँ पुष्पलाल (मध्यपहाडी) राजमार्ग, पर्यटन तथा भौतिक पूर्वाधारका कामले जिल्लाको आर्थिक सामाजिक परिवर्तनको संकेत गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्