arthik abhiyan
ad banner

पोखरामा यसरी मनाइयो गाईजात्रा (फोटो फिचर)

Aug 21, 2019 
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

विशेष गरी काठमाडौं उपत्यकामा नेवार समुदायले दिवंगत आफन्त तथा पृतिको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन गाईजात्रा पर्व मनाउने गर्दछन् । मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिंगारिएको गाई, कुमारी बनाई बालक तथा युवाहरुले नगर परिक्रमा गर्ने प्रचलन छ । काठमाडौंमा दिवंगत व्यक्तिको सम्झनामा स–साना केटाकेटी सिंगारेर गाईको चित्र अंकित कागजको मुकुण्डो तथा सिङ लगाइदिएर वसन्तपुर, हनुमानढोका दरवार लगायत पुराना नगरक्षेत्र घुमाउने चलन छ ।

१७औं शताब्दीमा काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले पुत्र बियोगमा डुबेकी आफ्नी रानीको मन बहलाउन गाईजात्राको चलन शुरु गरेका इतिहासकारहरु बताउँछन् । दुनियाँमा अरुले पनि यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउनका लागि राजा प्रताप मल्लले आफ्ना दिवंगत आफन्तका नाममा घर–घरबाट जात्रा निकाली नगर परिक्रमा गराउनु भनी आदेश दिएको र सोही दिनदेखि गाईजात्रा मनाउन थालिएको किंवदन्ती छ । गाईजात्रामा बाजागाजासहित नाचगान, व्यंग्य प्रहसन देखाउने प्रचलन पनि छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकाका साथै काभ्रे, दोलखा, खोटाङ, भोजपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरालगायतका स्थानमा पनि मनाइन्छ । विभिन्न ठाउँमा गाईजात्रा पर्व फरक–फरक तरिकाले मनाउने गरिन्छ ।

यसवर्षको पोखरामा मनाइएको गाईजात्राका तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ । यहाँ बालक तथा युवाहरुले गाई, कृष्णका साथै विभिन्न व्यंग्यात्मक रुपमा प्रस्तुत भई बाजागाजासहित नाचगान गर्दै नगरपरिक्रमा गरे । दिवंगत आफन्तको सम्झना गर्दै गाईको रुपमा डोकोमा सिंगारेर दिवंगत भएका व्यक्ति महिला भए महिलाले लगाउने लुगा र पुरुष भए पुरुषले लगाउने लुगा झुण्ड्याएर पुत्ला बनाउने गरिन्छ । यहाँ ३२ ओटा टोलबाट गाईजात्रा निकालिन्छ । गाईजात्रा सकिएपछिको पहिलो शनिवार महेन्द्रपुलस्थित मुख्य सडकमा गाईजात्रा नाच प्रतियोगिता गरिन्छ । यो प्रतियोगितामा प्रत्येक टोलबाट एक–एक समूहको प्रतिनिधित्व गराइन्छ ।

तस्वीरहरु : प्रदीप कुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्