arthik abhiyan
ad banner

भेडापालनमा रमाएका लाक्पानेरू

Aug 22, 2019 
रोजगारी
Image Not Found

भोजपुर । बर्खायाम, सिमसिम पानी । डाँडा र खर्क कुहिरोले ढाकिएका छन् । भिजेकै खर्कमा एकनास चरिरहेका छन् दर्जनौं भेडा । र, तिनको रेखदेखमा छन् एक वृद्ध । भेडापालनमै २ दशक बिताइसकेका लाक्पानेरु शेर्पा यसका क्षेत्रका मानिसका लागि नयाँ नाम होइन । आखिर उनलाई यही व्यवसायले चिनाएको छ ।

षडानन्द नगरपालिका–९ किमालुङका ६३ वर्षीय लाक्पानेरुले २१ वर्षदेखि भेडापालन गर्दै आएका छन् । भेडापालनको आम्दानीबारे सन्तुष्ट देखिन्छन् उनी । ‘वार्षिक ५ लाखसम्म आम्दानी हुन्छ,’ उनले भने । आपूmले पुख्र्याैली पेशालाई निरन्तरता दिँदै आएको उनले सुनाए ।

भेडापालन व्यवसायमै रमाएका शेर्पाको भेडीगोठमा अहिले १५० बढी भेडा छन् । बिहानदेखि बेलुकासम्म यिनको स्याहारसुसारमै उनी व्यस्त हुन्छन् । ‘चराउन लैजानुप¥यो, ल्याउनुप¥यो, दानपानी हेर्नुप¥यो, दुःख त छ, तर आफ्नै काम गन पाउँदा रमाइलो लाग्छ,’ उनले भने । हिउँदमा गाउँकै गोठमा रहने भेडा वर्षात् लागेपछि चलाउन मैयुङ डाँडा, सातदोबाटो, साल्पाको आसपासका जंगलमा लैजाने गरेको उनले बताए । भेडा, भेडाको घ्यू तथा ऊन बेच्ने गरेको उनको भनाइ छ ।  पहिले धेरैले यो व्यवसाय गरे पनि अहिले घट्दै गएको उनले बताए ।

शेर्पा जस्तै टेम्केमैयुङ गाउँपालिका–४ नागिका जुद्धबहादुर राईको पनि दिनचर्या पनि भेडापालनमै बित्ने गरेको छ । राई सानैदेखि यो पेशामा लागेका हुन् । ‘मैले पनि पुख्र्याैली पेशा नै अँगालेको हुँ,’ उनले भने । यो व्यवसायबाट वार्षिक रू. ६ लाखसम्म आम्दानी भएको उनले बताए । शेर्पा र राई उदाहरण मात्र हुन्, भोजपुरको माथिल्लो भेगका किसानहरूले भेडापालन गर्दै आएका छन् । त्यस क्षेत्रमा २० ओटा भेडीगोठ रहेको स्थानीयको भनाइ छ ।

वनको नीतिले समस्या
पछिल्लो समय सामुदायिक वनको नीतिका कारण भने भेडापालनमा समस्या भएको किसानको गुनासो छ । खुला चरनको अभावले मैयुङ तथा टेम्के क्षेत्रमा ठूलो संख्यामा भेडीगोठ घटेका छन् । जिल्लाको तल्लो भेगमा सामुदायिक वन उपभोक्ता समूहले चरन क्षेत्र उपलब्ध नगराउँदा समस्या भएको व्यवसायीको गुनासो छ । ‘सबै क्षेत्रमा भेडा डुलाउन पाए राम्रो हुन्थ्यो,’ भेडापालक शेर्पाले भने, ‘तर केही सामुदायिक वनमा चरीचरनमा रोक लागेको छ ।’ यस्तै भेडापालकसँग प्रत्येक सामुदायिक वनले रू. ५ सयदेखि ३ हजारसम्म वार्षिक राजस्व उठाउने गरेको उनको भनाइ छ । सरकारले नै वनको नीति परिवर्तन गरेर सामुदायिक वनक्षेत्र चरीचरनका लागि खुला बनाइदिनुपर्ने उनीहरूको माग छ ।

यस्तै भेडामा देखिने नाम्ले, फनफने जस्ता रोगले पनि समस्या हुने गरेको सम्बद्ध किसान बताउँछन् । पशुचिकित्सक नजीक नहुदाँ २ दिन हिँडेर षडानन्द नगरपालिकाको दिङ्ला तथा भोजपुर सदरमुकाममा औषधि किन्न जानुपर्ने बाध्यता छ ।

भेडाको ऊनबाट बनेका सामग्रीको विदेशमा समेत माग 
जिल्लामा भेडाको ऊनबाट बनेका राडीपाखी स्वदेशी बजारका साथै विदेशमा समेत निकासी हुने गरेको छ । चीन, भारतलगायत देशमा यसको माग हुने गरेको शेर्पाले बताए । यद्यपि भेडापालन घट्दै गएकाले मागअनुसार उत्पादन हुन नसकेको उनको भनाइ छ । भेडाको ऊनबाट बनेका राडी आतिथ्य सत्कारमा बढी प्रयोग हुने गर्छ । साथै चिसोबाट बच्न यसलाई तन्दाको रूपमा ओछ्याउने र सिरकको रूपमा ओढ्ने समेत गरिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्