arthik abhiyan
ad banner

एनसेलले घटायो मोबाइल डेटा शुल्क

Aug 23, 2019 
समाचार
Image Not Found
author avatar युवराज बस्नेत

काठमाडौं । निजी स्वामित्वको टेलिकम कम्पनी एनसेलले मोबाइल इन्टरनेट डेटा शुल्क घटाएको छ । कम्पनीले भदौ ५ गते (हिजो) देखि लागू हुने गरी मोबाइल डेटाको नयाँ शुल्क प्रतिएमबी २ रुपैयाँ तोकेको छ । 

पछिल्ला वर्षहरूमा अन्तरराष्ट्रिय बजारमा ब्यान्डविथको दरमा कमी आएको तर अन्य सेवाप्रदायक कम्पनीको तुलनामा एनसेलको डेटा महँगो भएका कारण नेपाल दूरसञ्चार  प्राधिकरणले एनसेललाई डेटा शुल्क घटाउन निर्देशन दिएको थियो । 

प्राधिकरण सञ्चालक समितिको असारको दोस्रो साता बसेको बैठकले साउन १ देखि लागू हुने गरी प्रतिएमबी ३ रुपैयाँबाट १ रुपैयाँ घटाई २ रुपैयाँमा झार्न निर्देशन दिएको थियो । 

तर, एनसेलले साउनदेखि डेटा शुल्क २ रुपैयाँ ७५ पैसा कायम गर्‍यो । निर्देशनको अवज्ञा गरेपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । कारबाही प्रक्रिया अघि बढेपछि मात्र डेटा शुल्क प्रतिएमबी २ रुपैयाँमा झारेको हो । साउनअघि कम्पनीले प्रतिएमबी ३ रुपैयाँमा उपभोक्तालाई डेटा विक्री गर्दै आएको थियो । 

एनसेलले साउनदेखि नै लागू गर्नुपर्ने भए पनि भदौ ५ गतेदेखि लागू हुनेगरी डेटा शुल्क घटाएको मौखिक जानकारी आएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । 

नेपालमा अहिले तीन सेवाप्रदायक टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइल सेवामार्फत डेटा वितरण गरिरहेका छन् । यी तीन कम्पनीबीच डेटा प्याकेजमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । 

एनसेल र नेपाल टेलिकमको मोबाइल डेटा शुल्क २०७१ फागुन २७ गते निर्धारण गरी प्राधिकरणले स्वीकृत दिएको थियो । हाल अन्तरराष्ट्रिय ब्यान्डविथमा धेरै कमी आइसके पनि २०७१ देखि २०७६ भदौसम्म इन्टरनेट डेटा शुल्कमा भने एउटै शुल्क कायम रहँदै आएको थियो ।

अहिले नेपाल टेलिकमले प्रतिएमबी १ रुपैयाँ र स्मार्ट टेलिकमले १ रुपैयाँ ५० पैसामा आफ्नो मोबाइल डेटा उपभोक्तालाई विक्री गरिरहेका छन् । स्मार्ट टेलिकमले पनि प्राधिकरणकै निर्देशनअनुसार प्रतिएमबी २ रुपैयाँबाट १ रुपैयाँ ५० पैसामा डेटा सेवा उपलब्ध गराएको छ । 

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार टेलिकमको थ्रीजी सेवामा ७० लाख र फोरजीमा ७ लाख ८१ हजार मोबाइल डेटा प्रयोगकर्ता छन् । त्यसैगरी एनसेलको थ्रीजीमा ३९ लाख ५५ हजार र फोरजीमा २७ लाख ६६ हजार तथा स्मार्ट टेलिकमको फोरजीमा १ लाख ९७ हजार उपभोक्ताले मोबाइल डेटा प्रयोग गर्दै आएका छन् । 

नेपालमा अहिले ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ६४ प्रतिशत पुगेको छ, जसमध्ये ४९ प्रतिशतले मोबाइल डेटा नै प्रयोग गर्ने गरेका छन् । 

टेलिकम कम्पनीहरूले मोबाइल डेटा शुल्क घटाए पनि अब प्राधिकरण आफैले डेटा शुल्क सीमा निर्धारण गर्ने बताएको छ । । त्यसका लागि १ महीनाभित्र उक्त डेटा शुल्क सम्बन्धी नयाँ निर्देशिका कार्यान्वयनमा ल्याइने प्राधिकरणले बताएको छ । 

दूरसञ्चार ऐनमा सेवा शुल्कको दर उचित र मनासिब हुनुपर्ने भनिए पनि हाल भएको निर्देशिकामा सेवा शुल्क दरबारे कुनै स्पष्ट उल्लेख नगरिएकाले प्राधिकरणले डेटा शुल्क सम्बन्धी निर्देशिका ल्याउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्