arthik abhiyan
ad banner

क्लिंकर आयात ह्वात्तै कम : १ वर्षमा अर्बौं रकम विदेशिनबाट रोकियो

Aug 23, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्वदेशमै क्लिंकर उत्पादन हुन थालेपछि भारतबाट हुने क्लिंकरको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्ष (आव) (२०७५/७६) मा १३ लाख ४८ हजार मेट्रिक टन क्लिंकर आयात भयो, जो अघिल्लो आवको तुलनामा झन्डै २० लाख टन कम हो । आव २०७४/७५ मा ३३ लाख १४ हजार मेट्रिक टन क्लिंकर आयात भएको थियो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)को विगत ५ वर्षको तथ्यांक हेर्दा आव २०७३/७४ र २०७४/७५ मा क्लिंकर आयात सबैभन्दा उच्च रह्यो । तर, गत आर्थिक वर्षसम्म आइपुग्दा क्लिंकर आयात ह्वात्तै घटेको छ । नेपालको वैदेशिक व्यापार घाटा भारतसँग उच्च रहेको अवस्थामा त्यहाँबाट हुने क्लिंकरको आयात घट्दा नेपाल–भारत व्यापारमा समेत केही मात्रामा भए पनि सन्तुलन बनाएको देखिन्छ ।

सिमेन्ट उत्पादकहरू गत पुसदेखि क्लिंकर आयात बन्द भएको बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भूकम्पपछिको पुनर्निर्माणले निर्माण सामग्रीको माग उच्च भएकाले यसतर्फ लगानीकर्ताहरू थप आकर्षित भएका र त्यसले लगानी र उत्पादनमा वृद्धि भएको बताउँछन् । अहिले मागभन्दा बढी क्लिंकर उत्पादन भइरहेको बताउँदै उनले भने, ‘क्लिंकर निर्यात गर्न गाह्रो छ । किनभने, हाम्रा कारखानाहरू बोर्डरभन्दा निकै टाढा छन् र कारखानासम्म पुग्न गुणस्तरीय सडक पनि छैन ।’ उनले क्लिंकर तथा सिमेन्टमा आत्मनिर्भर हुँदा मुलुकबाट १ वर्षमा रू. १५० अर्ब रकम बाहिर जानबाट रोकिएको बताए । 

अग्नि सिमेन्ट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक ताराप्रसाद पोखरेलले आयात घट्नुले   सकारात्मक सन्देश दिएको उल्लेख गर्दै भने, ‘गत आर्थिक वर्षदेखि नै क्लिंकर आयात प्रायः ठप्प छ, अब खपत बढाउन र निर्यातमा पनि आवश्यक पहल गर्न जरुरी छ ।’ 

सरकारले चालू आव २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातयोग्य वस्तुको रूपमा प्राथमिकतामा राखेको छ । यसले गर्दा पनि सिमेन्ट तथा क्लिंकर उत्पादकहरू निकट भविष्यमै निर्यातको वातावरण बन्ने कुरामा आशावादी देखिन्छन् । 

पछिल्लो समय सिमेन्ट र क्लिंकर उत्पादन गर्ने उद्योगहरूको विस्तार हुँदै जाँदा नेपालमा वार्षिक क्लिंकर उत्पादन १ करोड ५० लाख टन हुन थालेको छ । तर, माग भने वार्षिक १ करोड २० लाख मेट्रिक टन मात्र रहेको सिमेन्ट उत्पादक संघले बताएको छ । 

पुनर्निर्माणको क्रममा सिमेन्टको माग उच्च हुँदा यसतर्फ लगानी आकर्षित भएको संघका एक अधिकारी बताउँछन् । त्यस समयमा देखिएको मागले निरन्तरता नपाउँदा पूर्ण क्षमता अनुसार उद्योगहरूले उत्पादन गर्न सकेका छैनन् । 

संघका अनुसार हाल सञ्चालित ६३ सिमेन्ट उद्योगमध्ये १८ ओटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । १५ वर्षको अवधिमै आत्मनिर्भर भएको सिमेन्ट तथा क्लिंकर उद्योगमा रू. २ खर्बभन्दा बढी लगानी रहेको संघको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्