arthik abhiyan
ad banner

३ वर्षमा ३ करोड आईएमईआई दर्ता

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको काम शुरू 

Aug 26, 2019 
प्रविधि
Image Not Found
author avatar युवराज बस्नेत

काठमाडौं । मोबाइलको इन्टरनेशनल मोबाइल इक्वीपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता शुरू भएको ३ वर्षमा ३ करोड ७ लाख मोबाइलको आईएमईआई दर्ता भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर (युनिक कोर्ड) दर्ता गर्ने व्यवस्था २०७३ वैशाखमा शुरू गरेको थियो । 

नेपालमा मोबाइल दर्ता प्रक्रिया दुई चरणमा हुने गरेका छन्, जसमा मोबाइल आयातकर्ता मार्फत र व्यक्तिगत रूपमा यो नम्बर दर्ता गरिँदै आएको छ । मोबाइल आईएमईआई नम्बर व्यक्तिगत रूपमा ८ हजार ६ सय दर्ता भएका छन् भने आयातकर्ताले आइतवारसम्म ३ करोड ७ लाख ७६ हजार आईएमईआई दर्ता भएको प्राधिकरणका सहायक निर्देशक निराजन कोइरालाले जानकारी दिए ।

मोबाइल आयातकर्ताले सबैभन्दा बढी आईएमईआई दर्ता गराउने गरेका छन् । त्यसैगरी २०७३ चैतदेखि २०७४ को चैतसम्म व्यवसायीले १ करोड ९५ लाख ९३ हजार मोबाइल दर्ता गराएको कोइरालाले बताए । उनका अनुसार अझै ४ लाखभन्दा बढी मोबाइलको आईएमईआई दर्ता पाइपलाइनमा छ । 

आईएमईआई नम्बर दर्ता अनलाइनबाट बढी प्रभावकारी भएको पाइएको छ । अनलाइन प्रक्रियाबाट छिटो र सहज रूपमा दर्ता हुने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । धेरैजसो मोबाइल एकभन्दा आईएमईआई नम्बर राखिएको हुन्छ । व्यक्तिगत रूपमा आईएमईआई नम्बर दर्ता अनिवार्य नभए पनि आयातकर्ताले अनिवार्य रूपमा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्राधिकरणको नियम छ ।

मोबाइल फोनलाई व्यवस्थित गर्न तथा फोनको माध्यमबाट हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता कडाइसाथ लागू गरेको थियो । यसलाई थप प्रभावकारी र प्रयोगमैत्री बनाउन अनलाइनले ठूलो टेवा पुगेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘पछिल्लो समय मोबाइलको प्रयोग आर्थिक देखि शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा बढेको छ,’ उनले भने, ‘त्यहीअनुरूप समस्या पनि सृजना हुँदै गएका छन् ।’

मोबाइल चोरी, ह्याकिङजस्ता समस्या रोकथामका लागि पनि आईएमईआई दर्ता प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइएको प्रवक्ता अर्यालको भनाइ छ । आईएमईआई दर्ताले भन्सार छलेर हुने मोबाइल आयात रोकिनुका साथै मोबाइल हराएमा खोज्न सजिलो हुने पनि उनले बताए ।

नेपालमा विभिन्न भन्सार हुँदै अवैध मोबाइल सेट भित्रने क्रम अझै रोकिएको छैन । भन्सारबाट चोरीका मोबाइल समेत आउने गरेको पाइएको छ भने वैदेशिक रोजगारी र अन्य माध्यमबाट आयात हुने मोबाइल ठूलो संख्याका मोबाइल दर्तामा छैनन् । नेपालमा मोबाइलको अवैध आयात तथा कारोबारबारे प्रधिकरणमा धेरै गुनासो र उजुरी पर्ने गरेका छन् । 

एमडीएम प्रणालीको काम अघि बढ्यो
मोबाइलको अवैध आयात तथा चोरी न्यूनीकरणका लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएम) प्रणालीको काम अघि बढेको गरेको छ । 

एमडीएम प्रणालीको जिम्मा पाएका नुमेरा (एम) एसडिएन बीएचडी, मलेशिया, ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम्युनिकेशन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरले उक्त प्रणालीबारे जानकारी दिनेगरी सरोकारवालाहरूसँग गत आइतवारदेखि बिहीवारसम्म छलफल कार्यक्रम गरेको थियो । 

उक्त कम्पनीले एमडीएम प्रणाली ल्याउनुभन्दा पहिले नै त्यसको महत्त्व, आवश्यकता, कार्यप्रक्रिया, सम्बन्धित निकायको काम र जिम्मेवारी लगायतबारे छलफल गरेको हो । यस्तै कम्पनीले एमडीएम प्रणालीको काम, कम्पनीको भूमिका, यो प्रणालीले पार्ने प्रभाव आदि विषयमा जानकारी दिएको प्राधिकरणले बताएको छ ।

कम्पनीले शुरूमा दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई उक्त उक्त प्रणालीबारे जानकारी दिइएको थियो भने अब मोबाइल अपरेटरहरू, भन्सारका कर्मचारी, मोबाइल आयातकर्ता, प्रहरी र प्रशासन लगायतलाई सहभागी गराइनेछ । उक्त जेभी कम्पनीले ७० लाख ६६ हजार ८८८ अमेरिकी डलरमा टेन्डरमार्फत एमडीएमएसको सम्पूर्ण जिम्मेवारी प्राधिकरणद्वारा पाएर सम्झौता समेत गरिसकेको छ । टेन्डरअनुसार कम्पनीले एमडीएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन लगायत सम्पूर्ण काम गर्नुपर्ने हुन्छ । सो कम्पनीले नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, मोबाइल अपरेटरहरूको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइसको दर्ता लगायत कार्य गर्नुपर्ने हुन्छ ।

के हो आईएमईआई नम्बर ?
आईएमईआई मोबाइलको एक प्रकारको परिचय नम्बर हो । हरेक मोबाइलमा फरक फरक खालको आईएमईआई नम्बर हुन्छ । जति धेरै सिम लाग्ने मोबाइल सेट हुन्छ, त्यति नै आईएमईआई नम्बर हुन्छन् । मोबाइल प्रयोगकर्ताको सुरक्षाका लागि आईएमईआई नम्बर दर्ता अनिवार्य छ । आफ्नो मोबाइलमा रहेको आईएमईआई नम्बर थाहा पाउन ‘एस्ट्रिक ह्यास शून्य ६ र ह्यास’ डायल गर्नुपर्छ । मोबाइलकर्ताको फोन हराएको वा चोरी भएको छ भने सम्बद्ध व्यक्तिले त्यस्तो फोनको बारेमा प्रहरीलाई जानकारी दिन पनि आईएमईआई नम्बर आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्