arthik abhiyan
ad banner

कृषिक्षेत्रमा परिवर्तन ल्याउँदै यी प्रविधि

Aug 26, 2019 
प्रविधि
Image Not Found

 

प्रविधिविनाको संसार अहिले कल्पना नै गर्न सकिँदैन । यस्तो कुनै क्षेत्र छैन, जहाँ प्रविधिको प्रयोग नभएको होस् । प्रविधिले मानिसको दैनिक क्रियाकलाप सहज बनाएको त छ नै, कामको उत्पादकत्व समेत बढाइदिएको छ । त्यसैले हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिको अनुसन्धान, विकास र उपयोग हुने क्रम बढ्दो छ । 

प्रविधिको माध्यमबाट परिवर्तन हुँदै गरेका यस्तै क्षेत्रमध्ये एक हो कृषि । नेपालको कृषिक्षेत्रमा धेरै प्रविधि भित्रिन नसके पनि विश्वमा भने यसको विस्तार हुँदै गएको छ । यी प्रविधि मार्फत केही मुलुकले कृषिक्षेत्रमा ठूलो फड्को मारिसकेका छन् । कृषिक्षेत्रमा पछिल्लो समय अभ्यास भइरहेका केही नयाँ प्रविधिबारे यहाँ चर्चा गरिएको छ, जसले यो क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने सम्भावना समेत देखाएका छन् ः 

शहरी खेती
शहरी खेतीको सबैभन्दा ठूलो फाइदा स्थानको सदुपयोग हो । यद्यपि परम्परागत तथा करेसाबारीमा गरिने खेतीभन्दा यो केही जटिल हुन्छ । यो प्रणालीमा घरभित्रै निश्चित स्थान वा कुनै बक्समा बाली लगाइन्छ । शहरी खेतीको मुख्य प्रणाली ‘भर्टिकल फार्मिङ’ हो । यो प्रविधिको प्रयोग गरी परम्परागत खेतीको तुलनामा १० गुणा बढी उत्पादन गर्ने अध्ययनले देखाएको छ । 

विज्ञहरू उत्पादन, यसले ओगट्ने क्षेत्र र प्रभावकारिताको हिसाबले यो प्रविधि निकै उपयुक्त भएको बताउँछन् । आप्mनो घर÷भवनमै खेती गर्न सक्नु यो प्रविधिको विशेषता हो । घर तथा भवनमा खेती गर्नुपर्ने भएकाले कसरी फोहोर कम गर्दै उत्पादन बढाउने भन्नेमा बढी ध्यान दिइन्छ । धेरै स्थान हुनुको अर्थ त्यहाँ धेरै ऊर्जा आवश्यक हुन्छ, जसका लागि धेरै खर्च र खेर जाने स्रोत चाहिन्छ । त्यसैले खेतीका लागि ठूलो पूर्वाधारभन्दा पनि उपयुक्त स्थान तथा डिजाइन तय गर्नु यो प्रविधिको महत्त्वपूर्ण काम हो । 

ड्रोन
पछिल्लो समय जलवायु परिवर्तनको समस्या बढ्दो छ । यो समस्याको सोझो असर कृषिक्षेत्रमा पर्नेमा कुनै दुईमत छैन । केही मात्रामा यसको प्रभाव देखिन पनि शुरू भइसकेको छ । अहिलेको अवस्थामा जलवायु परिवर्तनको समस्या बढ्दै गए अमेरिकाजस्ता विकसित मुलुकमा पनि खाद्यान्न अभाव हुने विज्ञहरूले बताउँदै आएका छन् । यस समाधानका लागि अहिले कतिपय कृषिबालीमा ड्रोनको प्रयोग शुरू गरिएको छ । यसले मौरीले गर्ने परागसेचन लगायत काम पनि सहजै गर्न सक्ने बताइन्छ । यो परीक्षण सफल भएमा जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा पर्ने असर न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

कृत्रिम बौद्धिकता
कृत्रिम बौद्धिकताको प्रयोग पनि कृषिक्षेत्रका लागि निकै महŒवपूर्ण मानिएको छ । अहिले सवारीसाधन तथा अन्य मेशिनमा गरिएको यस किसिमको प्रयोगले किसानलाई निकै फाइदा पुग्ने देखिएको छ । विशेषगरी बाली काट्ने समयमा प्रयोग गरिने मेशिनमा यसको प्रयोग गर्न सकिने बताइएको छ ।  साथै पछिल्लो समय विकास गरिएका कृत्रिम बौद्धिकताले आवाज, मेशिनको काम, ताप सेन्सर, स्थान, स्वास्थ्यलगायतको जानकारी राख्न सक्छ । यसको प्रयोगबाट बालीमा कस्तो किसिमको रसायन कसरी प्रयोग गर्ने भन्ने लगायत काम सहजै गर्न सकिनेछ । 

ब्लकचेन
यो प्रविधिको प्रयोग क्रिप्टोकरेन्सीमा गरिन्छ भन्ने धेरैलाई थाहा होला । कृषिक्षेत्रमा समेत यसको प्रयोग बढ्दै गएको छ । यसबाट कृषि उपजको व्यापारमा ठूलो सहयोग पुग्ने देखिएको छ । कारोबारको क्रममा भोग्नुपर्ने विभिन्न समस्याबाट यो प्रणालीले छुटकारा दिएको छ । यसले मानिसलाई ‘स्मार्ट सम्पर्क’ विस्तारका लागि पनि सघाउँछ । साथै यसले भनेको समयमा डेलिभरीको व्यवस्थाका लागि टेवा पुग्छ । 

सीआरआईएसपीआर
हालै वैज्ञानिकहरूले पत्ता लगाएको यो प्रविधिको प्रयोगबाट कुनै पनि भ्रू्रण परिवर्तन गर्न सकिन्छ । डीएनएको केही भाग काटेर वा हटाएर त्यसको भ्रूण परिवर्तन गर्न सकिन्छ । यसको प्रयोग गरी अहिले विभिन्न जनावरको संरचना परिवर्तन गरी अत्यधिक फाइदा लिने सम्बन्धमा परीक्षण भइरहेको छ, जसको माध्यमबाट मासुका लागि पालिने जनावरमा मासु कम लाग्ने डीएनए हटाई अत्यधिक मोटो बनाउन सकिन्छ । यसले मासु उद्योगमा पनि ठूलो सहयोग पुग्नेछ । यो प्रविधिको प्रयोग अहिले खाद्यान्नका लागि पनि भइरहेको छ । बढी पानी तथा अन्य अनुकूल वातावरण चाहिने बिरुवाको भ्रूण परिवर्तन गरी जुनसुकै स्थानमा उत्पादन गर्न सकिने बनाउन अध्ययन भइरहेको छ । अनुकूल वातावरण अभावले समस्या रहेका बालीमा यो प्रविधिले सहयोग गर्नेछ ।

प्रस्तुति : चिरञ्जीवी आचार्य
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्