ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

देशमा २१ लाख ७३ हजार करदाता, व्यक्तिगत पान लिने करीब १० लाख पुगे

Aug 29, 2019  
समाचार
Image Not Found
author avatar उत्तम अर्याल

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष (आव) २०७५/७६ सम्म सबैखाले करदाताको संख्या २१ लाख ७३ हजार ९०९ पुगेको बताएको छ । गत आवमा ३ लाख ८४ हजार १६२ करदाता बढेको विभागको तथ्यांक छ । विभागका अनुसार गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेको संख्या अत्यधिक बढेको छ । गत असार मसान्तसम्म व्यक्तिगत करदाताको कुल संख्या ९ लाख ९३ हजार ९७९ पुगेको विभागले बताएको छ ।

व्यक्तिगत करदातातर्फ गत आवमा २ लाख २७ हजार ३३२ जना थपिएका छन् । आव २०७४÷७५ मा ७९ हजार ९७३ जनाले व्यक्तिगत पान लिएका थिए । त्यस्तै, व्यावसायिक पान लिनेको संख्या पनि अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा १ लाख १६ हजार ९७ ले व्यावसायिक पान लिएका थिए भने गत आवमा १ लाख ५७ हजार ८२९ ले व्यावसायिक पान लिएका छन् । 

गत आवमा मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दर्ता हुनेको संख्या बढे पनि यो वृद्धि अघिल्लो आवको तुलनामा कम छ । अघिल्लो आवमा भ्याटतर्फ २० हजार ९३९ करदाता थपिएकोमा गत आवमा १९ हजार ५६२ मात्र थपिएका छन् । यस्तै, अन्तःशुल्कतर्फ अघिल्लो आवमा थप ५९ हजार १४७ करदाता दर्ता भएकोमा गत आवमा १३ हजार २९६ मात्र थपिएका छन् । 

विभागका पूर्व महानिर्देशक खुमराज पुञ्जाली गत आवको करदाताको संख्या मुलुकको जनसंख्याको तुलनामा निकै न्यून रहेको बताउँछन् । पछिल्लो समय मुलुकमा आर्थिक गतिविधि बढे पनि सोहीअनुसार करदाताको संख्या बढ्न नसकेको उनको भनाइ छ ।

सरकारले स्थायी लेखा नम्बर (पान) लिनेको संख्या बढाउन विगतदेखि नै प्रयास गरे पनि सफल नभएको उनको जिकीर छ । चालू आवदेखि सरकारले रोजगारदाता र श्रमिक सबैले अनिवार्य पान लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले बजेट वक्तव्यमा नै ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’को नीति लिएको छ । उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बिलबीजक, खाता, कागजात तथा आय विवरणजस्ता करसम्बन्धी सम्पूर्ण विवरणमा सरकारले पान अनिवार्य गरेको छ । 

उक्त व्यवस्थाले करदाताको संख्या बढाए पनि प्रभावकारिता भने सरकारको काम कारबाहीमा भर पर्ने पुञ्जाली बताउँछन् । सरकारले जनतालाई करको बारेमा चेतना जगाउन अझै आवश्यक रहेको उनको धारणा छ । उनले भने, ‘पानमा दर्तासँगै यसको प्राविधिक अपडेट हुन अनिवार्य छ । यदि जनतालाई वर्षमा यति कर तिरियो भन्ने जानकारी दिन सरकार सक्षम हुने हो भने यसले सकारात्मक नतीजा दिनेछ ।’ 

विभागका उपसचिव तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेलले हरेक वर्ष करदाताको संख्या बढिरहेको बताए । सरकारले ल्याएको नीतिसँगै आगामी वर्षमा करदाताको संख्या उल्लेख्य रूपमा बढ्ने उनको भनाइ छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्