arthik abhiyan
ad banner

प्राविधिक शिक्षाको ‘हब’ बन्दै दाङ

डेढ वर्षमा १९ प्राविधिक शिक्षालय

Aug 29, 2019 
शिक्षा
NA
author avatar पाण्डव शर्मा

घोराही । पछिल्लो समय दाङ प्राविधिक शिक्षाका लागि यस क्षेत्रकै ‘हब’ बन्दै गएको छ । डेढ वर्षमा मात्र जिल्लामा १९ ओटा प्राविधिक शिक्षालय स्थापना भएका छन् । यसै शैक्षिक सत्रमा थप पाँच सामुदायिक विद्यालयले प्राविधिक कक्षा सञ्चालनको अनुमति पाएका छन् । ती विद्यालयमा छिट्टै प्राविधिक विषयको पढाइ शुरू हुँदै छ ।

केही नयाँ शिक्षक संस्था र धेरैजसो माध्यमिक तहका विद्यालयमा प्राविधिक विषय पढाउन सम्बन्धन दिइएको छ । जिल्लाका सबै स्थानीय तहहरूमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ । यसमध्ये अधिकांशमा कृषिका प्राविधिक शिक्षा सञ्चालनमा छ । त्यसैगरी पशु विज्ञान, सूचनाप्रविधि, सिभिल इन्जिनीयरिङ, डेरी एन्ड फूड लगायत विषयको पढाइ पनि भइरहेको छ ।

गंगदी मावि राजपुरले कृषि विषय पढाउन थालेको छ । त्यसैगरी आदर्श मावि लालमटीयामा आइटी, देउपुर मावि लमहीमा सिभिल इन्जिनीयरिङ, वनगाउँ मावि देउखुरीमा सिभिल इन्जिनीयरिङ र झेल्नेटा मावि बंगलाचुलीमा आईटी विषयको पढाइ शुरू भएको शिक्षामन्त्रीका राजनीतिक सल्लाहकार जीवन गौतमले जानकारी दिए । 

यसैगरी सरस्वती मावि काठेकोहलमा आईटी, रझेना माविमा सिभिल इन्जिनीयरिङ तथा सर्भे, पप उमावि भरतपुरमा अटोमोबाइल, निघुवार माविमा कृषि, जनकल्याण मावि दुधरासमा कृषि, सेन्टर स्कुल तुलसीपुरमा आईटी, गुरुजजुर मावि रक्षाचौरमा कृषि, उरहरी माविमा पशु विज्ञान, पुरन्धारा माविमा कृषि, श्रीगाउँ माविमा कृषि र सिम्सुन्दरपुर माविमा कृषिको पढाइ शुरू भएको छ ।

त्यसैगरी दाङमा अन्य दुईओटा छुट्टै प्राविधिक शिक्षालय स्थापना भएका छन् । कृष्णसेन बहु प्राविधिक शिक्षालय, घोराहीमा विभिन्न प्राविधिक विषयमा पढाइ हुन थालेको छ । त्यसैगरी तुलसीपुरमा पनि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सम्पूर्ण प्रक्रिया पूरा भएको छ । तत्काल त्यहाँ पनि पढाइ शुरू हुने गौतमको भनाइ छ ।

सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ । जिल्लामै प्राविधिक शिक्षा पढाइ हुन थालेपछि यहाँका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य हुन थालेको घोराही उपमहानगरपालिका शिक्षा समन्वय इकाइ प्रमुख रामलाल खड्काले बताए । उनका अनुसार दाङमा अन्य जिल्लाबाट समेत प्राविधिक शिक्षा हासिल गर्न आउनेहरू बढेका छन् । दाङमा यसअघि नै अन्य १ दर्जनभन्दा बढी प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् । ती प्राविधिक शिक्षालयहरू सरकारी तथा निजीस्तरबाट सञ्चालित छन् । तर पछिल्लो डेढ वर्षमा स्थापना भएका १९ ओटा प्राविधिक विषय पढाइ हुने विद्यालय भने सरकारी नै हुन् ।

प्राविधिक विषय पढाउन चाहने सबै सरकारी विद्यालयलाई सहज रूपमा सम्बन्धन दिइएको शिक्षामन्त्रीका सल्लाहकार गौतमले बताए । ‘यहाँबाट प्राविधिक शिक्षा पढाउन मन्त्रालयमा गएका सरकारी विद्यालयका सबै फाइल अघि बढाउन विशेष जोड गरेको छु,’ उनले भने, ‘दाङमा अझै प्राविधिक शिक्षालय स्थापना गर्ने मेरो सोच छ ।’
 

प्रतिक्रिया दिनुहोस्