arthik abhiyan
ad banner

गुणस्तर सुधारसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण 

Aug 29, 2019 
शिक्षा
Image Not Found
author avatar बीपी गौतम

रूपन्देही । प्राथमिक तहमा विद्यार्थी अभाव देखिन थालेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गत वर्षदेखि ‘विद्यालय खाजा कार्यक्रम’ सञ्चालन ग¥यो । सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन नगरपालिकाले बालविकास कक्षा व्यवस्थित पनि ग¥यो । फलस्वरूप चालू शैक्षिक सत्रमा तिलोत्तमा नगरका सामुदायिक विद्यालयमा गतवर्षको भन्दा ७ सय विद्यार्थी बढेका छन् ।

‘आगामी वर्ष सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण थप बढ्ने अपेक्षा छ,’ तिलोत्तमा नगरपालिकाका शिक्षा उपसचिव गंगाराम आचार्यले बताए । उनका अनुसार गतवर्ष १२ हजार १५४ विद्यार्थी भर्ना भएकामा यस वर्ष १२ हजार ८८४ विद्यार्थी भर्ना भएका हुन् । तिलोत्तमाले सामुदायिक विद्यालयमा आकर्षण बढाउन निःशुल्क दिवा खाजा, विद्यालय कलर कोड, नगरस्तरीय शिक्षकको व्यवस्थापन, शिक्षक तालीम, भौतिक पूर्वाधार सुधारलगायत काम अघि बढाएको छ । 

सामुदायिक विद्यालयहरूमा जनप्रतिनिधि तथा शिक्षकहरूले समेत आप्mना छोराछोरी भर्ना गराएर अन्यलाई उत्प्रेरित गरेका छन् । वडा नं ४ का वडाध्यक्ष दिवाकर ढकालले आफ्ना दुई छोराछोरीलाई निजी विद्यालयबाट छुटाएर जनज्योति मावि डिंगरनगरमा भर्ना गराए । ‘सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षाका लागि सक्षम छन् भन्ने सन्देश दिन मैले यो निर्णय गरेको हुँ,’ वडाध्यक्ष ढकालले भने । 

जनज्योतिमा यस वर्ष १ सय नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक रघुनाथ पोखरेलले जानकारी दिए । तिलोत्तमा–११ शिवपुरस्थित शिवपुर माविमा यो वर्ष २५० नयाँ विद्यार्थी भर्ना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भट्टराईले जानकारी दिए ।

नगरका ४४ ओटा सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई चालू शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापन गरेपछि विद्यालयमा बालबालिकाको उपस्थिति बढेको उपसचिव आचार्यले बताए । अहिले बालविकास केन्द्रका बालबालिकाले कोठाको एक छेउमा ३२ इन्चको एलईडी टीभी र आरामदायी बसाइका साथ शिक्षण सिकाइ गरिरहेका छन् । यसका लागि नगरपालिकाले प्रतिबालविकास केन्द्र २ लाख रुपैयाँका दरले लगानी गरेको छ ।  

विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावकको सक्रियता र अन्तरक्रिया बढेको, विद्युतीय हाजिरीले शिक्षकको अनियमितता हटेको र बाल विकासमा सहयोगी कार्यकर्ताको तलब चालू वर्षदेखि ५० प्रतिशत  बढाइएकाले शैक्षिक गुणस्तरमा सुधार हुँदै गएको आचार्यले दाबी गरे । त्यस्तै दिवाखाजाका लागि नगरपालिकाले वार्षिक डेढ करोड लगानी गरेको र विद्यालयमा जंकफूड जस्ता न्यून गुणस्तरीय र अस्वस्थकर खाद्यवस्तुमा प्रतिबन्ध लगाइएकाले पनि विद्यार्थीको आकर्षण बढेको नगर प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ ।

नगरपालिकाले विद्यालय सरसफाइ र हरियाली प्रवद्र्धन, विद्यालयवाटिका तथा वृक्षरोपण कार्यक्रम समेत सञ्चालन गरेको छ । यसले विद्यालयहरू आकर्षक देखिन थालेका छन् । यो वर्ष कम्पाउन्ड वाल नभएका विद्यालयमा सोको निर्माण गर्ने र टिनको छानो भएका विद्यालयमा फल्ससिलिङ राख्ने योजना नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्