arthik abhiyan
ad banner

नेपाली विषयमा गण्डकी प्रदेशको सिकाइ उपलब्धि अब्बल

Aug 29, 2019 
शिक्षा
Image Not Found

काठमाडौं । गण्डकी प्रदेशमा कक्षा ५ का विद्यार्थीको नेपाली विषयको सिकाइ उपलब्धि नेपालकै अब्बल रहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमीले गरेको विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण (नासा) प्रतिवेदनले यस्तो देखाएको हो । साथै गण्डकी प्रदेशका सबै जिल्लाका उक्त तहका विद्यार्थीको नेपाली विषयको सिकाइ उपलब्धि औसतभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

सोही तहको विद्यार्थीको गणित विषयको सिकाइ उपलब्धि भने प्रदेश २ को बढी देखिएको छ । प्रदेश २ मा पनि सिरहाका विद्यालयको कक्षा ५ का विद्यार्थीको गणित सिकाइ उत्कृष्ट छ । यस्तै सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विद्यार्थीको गणितको सिकाइ उपलब्धि औसतभन्दा बढी रहेको केन्द्रले बताएको छ । केन्द्रले देशभरका करीब २ हजार विद्यालयमा सिकाइ उपलब्धिको अध्ययनन गरेको थियो ।

विद्यार्थीको क्षमतालाई माइनस २ देखि प्लस २ सम्मका ऋणात्मक र धनात्मक संख्यामा विभाजन गरिएको थियो । सोहीअनुसार बीचको अंक शून्यलाई ५ सय मानेर त्यसमुनिका क्षमतालाई ५ सयभन्दा न्यून र त्यसमाथिका क्षमतालाई ५ सयभन्दा माथि कायम गरेर औसत निकालिएको केन्द्रले बताएको छ, जसमा ५ सयभन्दा न्यून उपलब्धिलाई राष्ट्रिय औसतभन्दा कमजोर र ५ सयभन्दा माथिको अंकलाई राम्रो उपलब्धि मानिएको छ ।

गणितमा निजी र नेपालीमा सामुदायिक अगाडि
केन्द्रले सामुदायिक विद्यालय र निजी विद्यालयको कक्षा ५ को गणित तथा नेपाली विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो । यसबीचको तुलनामा नेपाली विषयमा सामुदायिक विद्यालय र गणित विषयमा संस्थागत विद्यालय अगाडि देखिएका छन् । नेपालीमा सामुदायिक विद्यालयको औसत ५२५ रहेकोमा निजीको ४९१ छ भने गणितमा निजीको ५२३ र सामुदायिकको ४९३ रहेको प्रतिवेदनले देखाएको छ । गतवर्षको फागुनमा कक्षा ५ बाट देशभरबाट नमूना छनोटमा परेका २४ जिल्लाका ७ सय विद्यालयका १४ हजार २०७ विद्यार्थीको नेपाली विषय र ७ सय विद्यालयकै १४ हजार १७४ विद्यार्थीको गणित विषयको उपलब्धि परीक्षण गरिएको थियो ।

केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले समग्रमा गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्न नसकेको देखाएको छ । यो परीक्षणसँग यसअघिको परीक्षणको उपलब्धिलाई दुवै वर्षमा सोधिएका उनै प्रश्नका आधारमा तुलना गर्दा गणितमा यस वर्षको उपलब्धि केही न्यून रहेको देखिएको छ । यस्तै प्रतिवेदनमा नेपाली विषयमा यस वर्ष थोरै सुधार भएको उल्लेख छ ।

यसैगरी गणितमा प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश कमजोर छन् भने नेपालीमा कर्णाली, प्रदेश २ र सुदूरपश्चिम प्रदेश कमजोर देखिएका छन् । नमूना छनोटमा परेका जिल्लाहरूको सिकाइ उपलब्धिको तुलना गर्दा गणित र नेपाली दुवैमा सिरहा, चितवन र ललितपुरको उपलब्धि उच्च छ भने भोजपुर र महोत्तरीको उपलब्धि अति न्यून रहेको केन्द्रले बताएको छ ।

छात्रा र छात्रको सन्दर्भमा सिकाइस्तरको भिन्नता न्यून देखिएको प्रतिवेदनको निष्कर्ष छ । गणितमा छात्र र नेपालीमा छात्राले केही राम्रो गरेको देखिन्छ । गणितमा छात्रको औसत ५०१, छात्राको ४९९ र नेपालीमा छात्राको औसत ५०१, छात्रको ४९९ छ ।

कार्यसम्पादनमा एउटा विद्यालय मात्र राम्रो
केन्द्रले १ हजार ९९९ विद्यालयमा गरेको विद्यालय कार्यसम्पादन परीक्षणमा एउटा विद्यालय मात्रै उत्कृष्ट भएको बताएको छ । केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले प्रायः विद्यालयको सिकाइ उपलब्धि घट्दै गएको बताए । उनका अनुसार ३ दशमलव ५ प्रतिशत बालबालिका अहिले शिक्षाको पहुँच बाहिर छन् । विद्यार्थी असफल हुनुले उनीहरू मात्र नभई शिक्षक, विद्यालय र राष्ट्र नै असफल भएको बुझाउने उनको टिप्पणी छ । 

भाषिक पृष्ठभूमिले सिकाइ उपलब्धिमा प्रभाव
प्रतिवेदनले विद्यार्थीको भाषिक पृष्ठभूमिले पनि उनीहरूको नेपाली विषयको सिकाइ उपलब्धिमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीको घरमा बोलिने भाषालाई नेपाली र अन्य गरी दुई भागमा वर्गीकरण गरी तुलना गरिएकोमा नेपाली भाषा बोल्नेले नेपाली विषयमा राम्रो गरेको देखियो । अध्ययन अनुसार शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ । तर गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको देखिएको छ ।

यस्तै अध्ययनले कक्षा ५ मा ११ वर्ष र त्यसपछि १२ वर्षको उमेर समूहको नतीजा राम्रो देखाएको छ । ट्युशन पढ्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । ट्युशनमा भर पर्नेको नेपालीमा औसत ५१० र गणितमा औसत ५११ छ ।

अधययनले कक्षा खाली भएको समयमा कक्षाकार्य, गृहकार्य, समूह कार्य जस्ता पढाइसँग सम्बन्धित क्रियाकलापमा सहभागी हुने विद्यार्थीको उपलब्धि खाली भएको कक्षामा खेल्ने जस्ता क्रियाकलापमा मात्र लाग्नेको भन्दा राम्रो देखिएको छ । प्रतिवेदनले विद्यालयहरूले कक्षा खाली गर्न नहुने र भएका खाली कक्षामा पनि उनीहरूलाई सिकाइका विभिन्न क्रियाकलापमा सहभागी गराउनु उपयुक्त हुने सुझाव समेत दिएको छ ।

दुर्व्यवहारले सिकाइ उपलब्धिमा नकारात्मक असर
केन्द्रको उक्त अध्ययनले विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीहरूबाट हुने विभिन्न प्रकारका दुव्र्यवहारका कारण नकारात्मक असर परेको देखाएको छ । अध्ययनले विद्यालयमा कुनै न कुनै प्रकारको दुव्र्यवहार महसूस गर्ने विद्यार्थी ४७ प्रतिशत रहेको बताएको छ । विद्यार्थीले धेरै दुव्र्यवहारको सामना गर्दा सिकाइ त्यहीअनुसार कमजोर हुने निष्कर्ष अध्ययले निकालेको छ । यसकारण बालमैत्री विद्यालय बनाउन जरुरी भएको केन्द्रको सुझाव छ । 

गृहकार्यको बोझभन्दा अतिरिक्त क्रियाकलाप जरुरी
हरेक दिन करीब ३ घण्टा वा सोभन्दा कम समय टीभी हेर्ने, इन्टरनेट र कम्प्यूटर चलाउने, खेल्ने, कुराकानी गर्ने लगायत जुनसुकै क्रियाकलापमा समय व्यतीत गरेका विद्यार्थीको सिकाइमा नकारात्मक असर नपरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । यसकारण विद्यार्थीले विद्यालय बाहेकको अन्य समयको उपयोगले पनि सिकाइ उपलब्धिमा प्रभाव पारेको देखाएको छ । यसबाहेक ३ घण्टाभन्दा बढी समय अध्ययन र गृहकार्य बाहेकका काममा लगाउने विद्यार्थीको सिकाइ उपलब्धि भने कम देखिएको अध्ययनले देखाएको छ । यसबाट विद्यार्थीलाई गृहकार्यको बोझभन्दा अतिरिक्त क्रियाकलाप समेत जरुरी भएको देखिन्छ । केन्द्रले २०६८ सालदेखि कक्षा ३, ५, ८ र १० को सातओटा परीक्षण गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस्