arthik abhiyan
ad banner

चनाचटपटे बेचेर मासिक ७५ हजार कमाउँछन् ७० वर्षिय ‘चटपटे बाजे’ 

Aug 29, 2019 
प्रदेश ०४
Image Not Found
author avatar ध्रुवसागर शर्मा

भदौ १२,  म्याग्दी । धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । हुन पनि हो ,यो उमेरमा चाहेर पनि सोचेजस्तो काम गर्न सकिदैंन ।

अझ भनौं, अधिकांश जसो त सक्रिय जीवन विताउन पनि चाहँदैदन् । ६० वर्ष काटेपछि अब मैले के गर्न सक्छु र ? भन्ने हिनताबोधबाट अधिकाँश बृद्धबृद्धा छोराछोरी र परिवारको भर पर्छन् । तर म्याग्दीका ७० वर्षिय यी बृद्ध  चाँही सक्दो  कर्म गर्छन् अनि  महीनामा रू.७५  हजार भन्दा बढी आम्दानी गर्दछन् ।

आफन्तको आस नगरीकन शुरुमा रू.३ हजार लगानीबाट शुरु गरेको चटपटे व्यवसायबाट उनले सवैलाई चकित पार्ने गरी आम्दानी गरिरहेका छन् । विहान उज्यालो भएदेखि राती १० बजेसम्म चनाचटपटे बनाउन भ्याइ नभ्याई हुन्छ  ७० वर्षिय लालबहादुर पुर्जालाई । र  यो काममा सहयोगी बनेकी छिन् उनकी श्रीमती ६५ वर्षिय लिलामति पुर्जा ।

बेनीबजारको मंगलाघाटमा विसं २०६७ सालदेखि चनाचटेपटेको व्यवसाय शुरु गरेका   उनले कुखुराको मासु फ्राइ गरेर विक्री पनि गर्ने गरेका  छन् । ‘मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ,केहि  सीप नलागेर मरौं जस्तो पनि लाग्यो’, उनले भने । 

गरिबीका कारण लखेटिएर भारतका विभिन्न शहरहरुमा चौकीदारी र मजदुरी गर्दा पनि परिवार पाल्न नसकेपछि  स्वदेशमै फर्किएका  पुर्जाको जीवन अहिले रहरलाग्दो मात्र छैन,अरुका लागि अनुकरणीय पनि छ । उनले अतितका कुरा सुनाउँदा उनकी श्रीमति भने  आडैमा बसेर  आँसु पुछिरहेकी थिइन् । 

स्वदेशमा फर्किएपछि बेनीबजारकै एउटा निजी विद्यालयमा गेटपालेको काम  शुरु गरेका उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन् । अनि शुरु भयो, चनाचटपटे व्यवसाय ।‘मैले वोर्डिङका संचालकलाई रू.५०० तलब बढाइदिन भनें’, चनाचटपटे व्यवसाय शुरु गर्दाका दिनहरु सम्झदै पुर्जाले भने, ‘उहाँले नबढाइदिए पछि त्यसैको झोकमा आफन्तसँग रू.३ हजार सापटी लिएर यो व्यवसाय शुरु गरेको हुँ ।’

पुर्जालाई ग्राहकहरुले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् । हंसिला,फरासिला र रसिला पुर्जाले आफ्ना ग्राहाकहरुलाई स्वादिलो चनाचट्पटे मात्र खुवाउदैनन्, रसिला कुराहरु गरेर पेट मिचिमिचि हँसाउछन् पनि ।

एउटा घरको सटर भाडामा लिएर पुर्जाले चना चटपटेको पसल चलाएका छन् । मासिक रुपमा रू.३ हजार भाडा तिरेर संचालन गरेको सो पसलमा विहानदेखि राती १० बजेसम्म ग्राहकहरुको भीड लाग्छ । १० वर्ष अघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पूर्जाले  यो अवधिमा चनाचटपटे बेचेर नै लाखौं सम्पत्ति जोडेका छन् ।

उनले यहाँका बैंक तथा वित्तीय संस्थाहरुमा वचत गर्नुका साथै सारो गाह्रो परेकाहरुलाई आर्थिक सहयोग समेत गर्दैै आएका छन् । तीन छोरा र दुई छोरीका  अभिभावक पुर्जाले कहिल्यै पनि कसैको आश नगरेको बताए । उनले भने ‘हातखुट्टा चलुन्जेलसम्म यही व्यावसाय गर्छु,मलाई यसैमा मस्ती छ ।’

स्वदेशमा काम पाइएन भनेर विदेशीने युवाका लागि मात्र होइन  अव बुढ्यौली लाग्यो केहि गर्न सकिदैन भन्नेहरुका लागि पनि उनको यस्तो प्रयास अनुकरणीय हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्