arthik abhiyan
ad banner

नेपालमै नयाँ प्रविधिबाट पाठेघरको ट्युमरको उपचार हुन्छ

Aug 30, 2019 
अन्तरवार्ता
Image Not Found
डा. रंगीना लाइकंगबम शाह, ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ, ब्लूक्रश अस्पताल, त्रिपुरेश्वर

फाइब्रोइड (पाठेघरको ट्युमर) स्त्रीरोगमध्ये पर्ने गम्भीर रोग हो । ३५ देखि माथिका महिलामा यस्तो ट्युमर बढी देखिए पनि सोभन्दा कम उमेरमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ । अहिले नेपालमै यसको आधुनिक प्रविधिबाट ल्याप्रोस्कोपी सर्जरी हुन्छ । तर नेपालमा अधिकांश महिलामा यसबारे जानकारी नहुँदा ९० प्रतिशतसम्म पुरानै तरीकाले शल्यक्रिया हुने गरेको ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ रंगीना लाइकंगबम शाह बताउँछिन् । प्रस्तुत छ, फाइब्रोइड, यसका लक्षण, उपचार र ल्याप्रोस्कोपी सर्जरीबारे उनीसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

पाठेघरको ट्युमर भनेको के हो ? यो के कारणले हुन्छ ?
पाठेघरको ट्युमर भनेको पाठेघरमा मासु पलाउनु वा ट्युमर देखिनु हो । यसबारे विभिन्न अनुसन्धान भए तापनि खास कारण पत्ता लागिसकेको छैन । यद्यपि, वंशाणुगत तथा शरीरमा हुने एस्ट्रोजन हार्मोन चाहिनेभन्दा बढी उत्पादन भएमा पाठेघरको ट्युमर हुने गरेको पाइन्छ । पाठेघरको छाला वा बाहिरी भाग, पाठेघरको मासुको तह र पाठेघरको भित्री भागमा ट्युमर पलाउन सक्छ ।
 
कुन उमेर समूहका महिलामा पाठेघरको ट्युमर बढी हुन्छ ?
महिलामा ४० वर्षपछि यो समस्या देखिन सक्छ । सोभन्दा कम उमेर समूहका महिलामा पनि पाठेघरको ट्युमर देखिएको छ । यस्तै, अविवाहित र निःसन्तान महिलामा यो रोग देखिन सक्छ । वंशाणुगत रूपमा पनि पाठेघरको ट्युमर हुन सक्ने भएकाले आमालाई पाठेघरको ट्युमर छ भने पछि छोरीलाई पनि देखिन सक्ने सम्भावना हुन्छ ।

यसका लक्षणहरू के के हुन् ?
पाठेघरको ट्युमर हुँदा महीनावारी हुने बेलामा तल्लो पेट अत्यधिक दुख्ने, पिरियड चाँडो (२१ दिनभन्दा अघि) हुने, महीनावारी भएको ५ दिनभन्दा बढी १०–१५ दिनसम्म रगत बग्ने, यौनसम्पर्क राख्दा योनी दुख्ने लगायत लक्षण देखिन्छन् । यस्तै, महीनावारी समयमा भएको छ र लामो समयसम्म रगत बग्दैन भने पनि पाठेघरको ट्युमर हुन सक्छ । यस्तो अवस्थामा अति रक्तश्राव (८० एमएल भन्दा बढी) हुने र दिनको ५/६ ओटाभन्दा बढी प्याड पूरै भिज्ने हुन सक्छ ।

ट्युमरको कारण पाठेघरमा क्यान्सर हुन सक्ने सम्भावना कत्तिको हुन्छ ?
पाठेघरमा हुने कतिपय ट्युमरका कारण क्यान्सर हुन सक्छ । यद्यपि, सबै ट्युमरले क्यान्सर हुन्छ भन्ने होइन । पाठेघरमा देखिने ट्युमरको करण क्यान्सर हुन सक्ने भएकाले चिकित्सकसँग समयमै परामर्श गरी क्यान्सर हो वा होइन भनेर यकिन गर्नुपर्छ र सोहीअनुसार उपचार गर्नुपर्छ ।

पाठेघरको ट्युमरको उपचार कसरी हुन्छ ?
पाठेघरको ट्युमर लक्षणविना नै देखिन सक्छ । विनालक्षण ट्युमर देखिएमा र ट्युमर ५ सेन्टिमिटरभन्दा सानो छ भने त्यस्तो अवस्थामा १ वर्षसम्म कुर्न सकिन्छ । तर त्यो ट्युमर बढ्दै गयो वा लक्षण देखिन थाल्यो भने जति सक्दो चाँडो उपचार गर्नुपर्छ । शुरूमा यसलाई औषधिको माध्यमद्वारा उपचारको प्रयास गर्न सकिन्छ । अत्यधिक रगत बग्दा रगत रोक्ने औषधि, महीनावारी अनियमित भएमा समयमा महीनावारी गराउने हर्मोन चक्की, रगतको कमी देखिएमा आइरन चक्की, अत्यधिक दुखाइ भएमा दुखाइ कम गर्ने औषधिको सेवन गरेर रोग कम गर्ने प्रयास गरिन्छ । औषधिको सेवनबाट उपचार हुन नसकेमा ओपेन सर्जरी र ल्याप्रोस्कोपी सर्जरी गरेर शल्यक्रिया गरिन्छ । शल्यक्रिया गरेर पाठेघरमा देखिएको ट्युमर फाल्नुपर्छ । कतिपय अवस्थामा पाठेघर नै झिकेर फाल्नुपर्ने पनि हुन सक्छ ।

ओपन सर्जरी र ल्याप्रोस्कोपी सर्जरीमा के फरक छ ?
ओपन सर्जरी गर्दा बिरामीलाई बेहोश पारेर जहाँ ट्युमर छ, त्यसको माथि करीब १० सेन्टिमिटर जति चिरेर शल्यक्रिया गरिन्छ । यसमा छालाको २÷३ तहसम्म चिर्दै उपचार गर्न वा पाठेघर झिक्न सकिन्छ । तर, ल्याप्रोस्कोपी सर्जरी नयाँ प्रविधि हो । दुरबिनको सहायताले ट्युमर भएको अंगमाथि १ सेन्टिमिटर मात्र पेट चिरेर सो प्वालको माध्यमबाट क्यामेरा भित्र छिराइन्छ, जसबाट पेटभित्रका सबै अंगको अवस्था हेरिन्छ । त्यसपछि शल्यक्रिया गर्नुपर्ने ठाउँ पहिचान गरी त्यसमाथि  आधा सेन्टिमिटरका २/३ ओटा प्वाल पारी औजार भित्र छिराइन्छ र शल्यक्रिया गरिन्छ । परम्परागत तरीकाको शल्यक्रिया भन्दा ल्याब्रोस्कोपी विधिबाट गरिने शल्यक्रिया बढी प्रभावकारी हुन्छ । स्त्री रोगमा बच्चा बाहिर निकाल्न बाहेक अन्य सबैखाले शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट हुन्छ ।

ल्याप्रोस्कोपी सर्जरी गर्नुका फाइदा के छन् ?
ल्याप्रोस्कोपी सर्जरी गर्दा एकदमै कम चिरे पुग्छ, जसले गर्दा घाउ छिटो निको हुन्छ । कम चिरेकै कारण कम रगत बग्ने, दुखाइ कम हुने, काटेको घाउ र बाहिरको छालामा संक्रमण हुने सम्भावना एकदमै न्यून हुन्छ । यो शल्यक्रिया गरेपछि बिरामी छिटो निको हुने भएकाले अस्पताल कम बसे पुग्छ । हामी बिहान शल्यक्रिया गरेको बिरामीलाई बेलुकासम्म डिस्चार्ज गरिसक्छौं ।

नेपालमा ल्याप्रोस्कोपी सर्जरीको अवस्था कस्तो छ ?
ल्याप्रोस्कोपी सर्जरीको विकास भइसके पनि नेपालका लागि यो नयाँ प्रविधि हो । हाम्रो देशमा पुरानै प्रविधिको प्रयोग गरी पेट चिरेर शल्यक्रिया गरिन्छ । करीब ९० प्रतिशत शल्यक्रिया ओपन सर्जरीका माध्यमबाट हुने गरेको छ । नेपालका केही अस्पतालले भने ल्याप्रोस्कोपी प्रविधिमार्फत शल्यक्रिया शुरू गरेका छन् ।

कतिपय देशमा ओपन सर्जरी बन्द नै भइसकेको अवस्थामा हामीले चाहि“ त्यही प्रविधि प्रयोग गर्नुको कारण के हुन होला ?
यो नयाँ प्रविधिले उपचार गर्न सक्ने दक्ष डाक्टरको संख्या देशभरमै एकदम न्यून छ । ल्याप्रोस्कोपी सर्जरी नेपालमा हुन्छ भन्ने धेरै महिलालाई जानकारी छैन । जनचेतनाको कमीले पनि हामी पुरानै प्रविधिको प्रयोग गर्न बाध्य भएका हौं ।
 
पाठेघरमा ट्युमर हुँदा पाठेघर नै फाल्नुपर्छ ?
अवस्था हेरेर पाठेघर फाल्नुपर्ने हुन सक्छ । अविवाहित वा बच्चाको चाहना भएका ४० वर्षमुनिका महिलाको पाठेघरमा भएको ट्युमर मात्र काटेर फाल्न सकिन्छ ।
 
पाठेघरमा ट्युमर हुनबाट बच्न के गर्नुपर्छ ?
महिलाको पाठेघरमा समस्या देखिने अधिकांश कारण हर्मोनको गडबडी, संक्रमण, वंशाणुगत समस्या, कम उमेरमा धेरै बच्चा जन्माउनु, सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु र स्वस्थ जीवनशैली नअपनाउनु आदि हुन् । सर्वप्रथम समग्र पाठेघरमा विभिन्न प्रकारका समस्या हुन नदिन यी कुरामा सचेत हुनुपर्छ । स्वस्थ रहन र पाठेघरमा ट्युमर हुनबाट समयमै बच्न प्रत्येक ६–६ महीनामा अनिवार्य चेकअप गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्