arthik abhiyan
ad banner

निजगढ विमानस्थल : रुख काट्न नदिने अभिव्यक्तिको विरोधमा मन्त्रीको पुत्ला दहन

सामाजिक सञ्जालमा विरोध

Sep 1, 2019 
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १५, बारा । प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको क्रममा रुखहरु काट्न नदिने भनेर अभिव्यक्ति दिएका प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुत्ला दहन गरिएको छ । आइतवार सामाजिक सञ्जालमार्फत आह्वान गरिएको विरोध कार्यक्रममा स्वतस्फुर्त रुपमा सहभागी भएका निजगढका युवाहरुले निजगढको शहीदचोकमा पुत्ला दहन गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बेस क्याम्प निजगढको टोलीले हस्तक्षेप गरेर पुत्ला दहन नियन्त्रणमा लिएको थियो । विरोध कार्यक्रममा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले शिलान्यास गर्ने तयारी गरेको बेलामा प्रदेश सरकारका मन्त्रीले दिएको अभिव्यक्ति खेदजनक भएको बताए । उनले विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कायक्रममा विमानस्थल सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल बनाउने तयारी हुन थालेपछि चलखेल हुने गरेको भन्दै त्यसको विरोध गरिएको बताए ।

सामाजिक सञ्जालमा विरोध
प्रदेश–२ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा समेत चर्को विरोध शुरु भएको छ । निजगढ विमानस्थल निर्माणका लागि अहिले प्रस्तावित क्षेत्रमा प्रदेश–२ सरकारले रुखहरु काट्न नदिने र विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाव दिने तयारी गरेको भन्दै समाचार प्रकाशित भएपछि समाजिक सञ्जालमा विरोध शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्