ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समुद्रपार व्यापार सहजीकरणको विकल्प धाम्रा बन्दरगाह 

Sep 2, 2019  
समाचार
Image Not Found
author avatar ओमप्रकाश खनाल

भद्रक (भारत) । नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको ओडिसा राज्यस्थित धाम्रा बन्दरगाह भरपर्दो विकल्प बन्ने देखिएको छ । अहिले अधिक चल्तीमा रहेको कोलकाताबाट ३०० किलोमीटरको दूरीमा रहेको यो समुद्री बन्दरगाहको भौगोलिक अवस्थिति र पूर्वाधार तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुन सक्छ । 

अदानी समूहको धाम्रा पोर्ट कम्पनी लिमिटेडले यो बन्दरगाह ५ वर्षदेखि सञ्चालन गरिरहेको छ । अहिले बल्क कार्गो ह्यान्डलिङमा केन्द्रित धाम्राले कन्टेनर कार्गोका लागि समेत पूर्वाधार तयारी अवस्थामा रहेको बताएको छ । 

कन्टेनर कार्गोका लागि सबै पूर्वाधारको प्रबन्ध मिलाइएकोमा आयातकर्ताले रेलमार्गबाट ढुवानी गर्न नमानेपछि गतवर्ष योजना स्थगित भएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत सुदीप दासगुप्ताले बताए । सबै पूर्वाधार तयार पारेर अन्तिम समयमा स्थगित योजनालाई आयातकर्ता तयार भए जुनसुकै बेला पनि उपयोग गर्न सकिने दासगुप्ताको दाबी छ । 

बन्दरगाहबाट नजीकको बालापुर सुक्खा बन्दरगाहमा रेलमार्फत कन्टेनर आवागमन महँगो परेपछि व्यवसायी पछि हटेका हुन् । धाम्राले बन्दरगाहदेखि भटाथिरासम्म ६० किलोमीटर आफ्नै रेलमार्ग सञ्चालन गरेको छ । तर, सडक पूर्वाधारको गतिलो प्रबन्ध छैन । 

गैरसरकारी रेल सेवा सञ्चालन गरेको यो कम्पनीले २ वर्षभित्र दुई लेनको सडकसहित रेल, सडक र पाइपलाइन कोरिडोर बनाउने योजना राखेको छ ।

‘अहिले एकतर्फी रेल लाइन सञ्चालन भइरहेको छ । अब यसलाई दोहोरो लाइन विस्तारको योजनामा छौं,’ दासगुप्ताले आर्थिक अभियानसित भने, ‘यो प्रयोजनका लागि रेल लाइनको छेउमा १२५ मीटर जग्गा लिएका छौं ।’ १२ अर्ब २५ करोड भारतीय रुपयाँको लगानीमा सडक र रेलमार्ग विस्तार हुने कम्पनीले बतायो ।

नेपालका लागि तेस्रो मुलुकबाट आउने बल्क र कण्टेनर दुवै कार्गोका लागि यो बन्दरगाह अन्य बन्दरगाहको तुलनामा सहज हुने देखिएको छ । कन्टेनर ह्यान्डलिङका लागि कन्टेनर फ्रेट स्टेशन (सीएफएस) निर्माणको योजना धाम्राको छ । 

यही समूहले सञ्चालन गरेको मुद्रा बन्दरगाहले सन् २०१८/१९ मा ३ करोड ५ लाख मेट्रिकटन (मेट) कन्टेनर ह्यान्डलिङ गरेको थियो । मुन्द्रा बन्दरगाहको प्रविधि र प्राविधिक ल्याएर पूर्वाधार परीक्षण गरिएकोमा आयातकर्ता पछि हटेपछि योजना स्थगित भएको थियो । ‘आयातकर्ता तयार भए तत्कालै कन्टेनर ह्यान्डलिङ गर्न सकिने अवस्था छ,’ दासगुप्ताले बताए । धाम्राले कन्टेनरका लागि तीनओटा बर्थ स्टेशनको पूर्वाधार तयार गरेको छ । अहिले बल्क कार्गोका लागि पाँचओटा बर्थ ह्यान्डलिङ भइरहेको छ । सन् २०२५ भित्र यो संख्यालाई ३५ पुर्‍याइने गुप्ताले बताए ।

धाम्रा बन्दरगाह नहरमा आधारित कोलकाताको कमजोर पूर्वाधार र विशाखापत्तनम् बन्दरगाहको लामो दूरीको निकास बन्न सक्ने वाणिज्य मन्त्रालयका पूर्व सहसचिव रविशंकर सैंजूले बताए । यही सम्भाव्यतालाई ध्यानमा राखेर गत मार्चमा नेपाल–भारत अन्तरसरकारी बैठकमा धाम्रा बन्दरगाह उपयोगमा सैद्धान्तिक सहमति भएको थियो । 

नेपाली पक्षले भारतीय निकायलाई सम्झौताको मस्यौदासमेत बुझाइसकेको छ । व्यापार सहजीकरणका लागि गुजरात प्रान्तको मुद्रा बन्दरगाह पनि प्रस्ताव गरिएको छ । ठूला पानीजहाज आउन सक्ने विशाखापत्तनम् बन्दरगाहभन्दा ४०० किलोमीटर नजीक भएकाले यो बन्दरगाह उपयोगमा आउँदा नेपाली आयातको लागत घट्ने कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालको भनाइ छ । ‘धाम्रा बन्दरगाह निजीक्षेत्रले सञ्चालन गरेकाले पनि तुलनात्मक सहज हुने अपेक्षा गर्न सकिन्छ,’ महावाणिज्यदूत अर्यालले भने । बन्दरगाहको आफ्नै रेल र सडक निर्माणको योजनाजस्ता पूर्वाधारले नेपाली आयातनिर्यातलाई सहज बनाउन सक्छन् । बन्दरगाहको विकल्प जति धेरै भयो त्यति नै व्यापारको लागत कम हुने उनले बताए । 

यो बन्दरगाहमा बल्कतर्फ सबैभन्दा बढी कोइला आयात हुन्छ । चुनढुंगा, जिप्सम, स्टील र मलखाद पनि आयातनिर्यात भइरहेको छ । कोइला अस्ट्रेलिया, दक्षिण अफ्रिका र इन्डोनेशिसाबाट आउँछ । मलखादको अधिकांश कारोबार ओमान, चीन र रूसबाट हुने बन्दरगाह व्यवस्थापनले बताएको छ । मलखादका लागि बन्दरगाहले हालै ७५ हजार मेट क्षमताको गोदाम तयार पारेको छ । कृषिजन्य कार्गोलाई पनि लक्ष्यमा राखिएको बताइएको छ । 

बितेको वर्ष सन् २०१८/१९ मा २ करोड ७ लाख मेट कार्गो ह्यान्डलिङ गरेको धाम्राले यो वर्ष २ करोड ७० लाख मेट लक्ष्य राखेको छ । यो क्षमता ३२ करोड ५ लाख मेट पुर्‍याउने योजना कम्पनीको छ । 

बन्दरगाह उपयोगमा सम्झौता हुन सकेमा बल्क कार्गोेका लागि प्रयोग भइरहेको हल्दिया बन्दरगाहमा रेलको अभावमा ६ महीनासम्म कुर्नपर्ने अवस्थासमेत अन्त्य हुन सक्छ । धाम्रा हल्दियाबाट १५० किलोमीटरमात्रै टाढा छ । 

रेल र्‍याकको संख्या दैनिक ९ बाट बढेर यस वर्ष १२ पुगेपछि रेल लाइनका स्टेशनमा लुप लाइन (अर्को रेललाई बाटो दिन बनाइएको लिक) निर्माण भइरहेको कम्पनीले बताएको छ । बन्दरगाहले आफ्नै स्वामित्वका पाँचओटा रेल सञ्चालन गरिरहेको छ । सन् २०२१ भित्र रेलको संख्या ३५ पुर्‍याइने कम्पनीका बजार प्रबन्धक अमन शरणले बताए । रेलमार्ग विस्तारको आंशिक काम शुरू भइसकेको र सडकका लागि ठेक्का भइसकेको जानकारी शरणले दिए । 

समुद्री किनारमा रहेको धाम्रामा पानीको न्यूनतम गहिराइ १८ मीटर रहेकाले मदर भेसल्स सजिलै आउन सक्छन् । यो गहिराइ विशाखापत्तनम्भन्दा २ मीटर बढी हो । ३ वर्षभित्रै यसलाई २२ मीटर बनाइने प्रबन्धक शरणले आर्थिक अभियानलाई बताए ।  नहरमा आधारित कोलकाता र हल्दियामा पानीको गहिराइ क्रमशः ६ र ८ मीटर छ । पानी कम भएकाले ठूला पानीजहाज आउन सक्दैनन् । यहाँ आउने कार्गो सिंगापुर वा कोलम्बोमा ट्रान्ससिपमेन्ट गरेर फिडर भेसल्समा ल्याउनुपर्छ ।

धाम्रामा ठूला पानीजहाज आउने भएकाले समुद्री भाडा कम पर्ने सैंजूको भनाइ छ । सैंजूका अनुसार विशाखापत्तनम् र धाम्राको समुद्री भाडा बराबर छ । ‘४०० किलोमीटर रेलमार्ग छोटिँदा समुद्री भाडा उस्तै भएपछि पारवहनको लागत स्वतः कटौती हुन्छ,’ उनले बताए ।   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्