ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्णाली राजमार्गका दर्जनौं पुल अलपत्र

Sep 2, 2019  
कर्णाली प्रदेश
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । कर्णाली राजमार्गका दर्जनौं पुलहरू अलपत्र परेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेख र कालीकोट हुँदै जुम्लासम्म रहेको उक्त राजमार्गमा पुल बन्न नसक्दा यात्रु तथा चालकले सास्ती खेप्दै आएका छन् । राजमार्गमा वर्षेनि सवारी दुर्घटनामा परी दर्जनौं यात्रुको मृत्यु हुने गरेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा निर्मित उक्त राजमार्गको यात्रा त्रासपूर्ण हुने गरेको दैलेख ठाटीकाँधका जनक थापाले बताए । बढ्दो सवारी दुर्घटनाकै कारण यस सडकलाई ‘मृत्युमार्ग’ नाम दिइएको छ । राजमार्ग निकै साँघुरो छ, ठाउँ–ठाउँमा कालोपत्र उप्किएको छ भने खाल्डाखुल्डीले झनै जोखिम बढाएको छ । 

राजमार्ग त बन्यो तर यसबाट कर्णालीवासीको मन रमाउन सकेको छैन । राजमार्गमा चल्ने सवारीसाधनभित्र मात्र होइन, छतमा समेत खुट्टा टेक्ने ठाउँ हुँदैन । सडक आसपासका घरटहराले राजमार्ग अतिक्रमण भइरहेको छ । राजमार्गमा ठेकेदारको लापरबाहीले साना–ठूला पुलहरू वर्षांैदेखि अलपत्र अवस्थामा छन् । कतिपय स्थानमा मुआब्जा विवादले निर्माण अघि बढ््न सकेको छैन । केही पुलको डिजाइन नै गलत हुँदा तोकिएको समयमा काम सम्पन्न गर्न समस्या भएको छ ।

राजमार्गमा सबैभन्दा धेरै पुल (१५ ओटा) निर्माणको जिम्मा रसुवा, इलाइट र सूर्य जेभीले पाएको छ । उक्त कम्पनीका प्रतिनिधि दीपक खड्काका अनुसार विश्व बैंकको सहयोगमा बन्ने १५ पुलको लागत करीब ५८ करोड रुपैयाँ छ । तीनओटै प्याकेजका पुलको सम्झौता अवधि सकिएको छ । तैपनि कम्पनीले म्याद थप्दै ठेक्का ओगटिइरहेको स्थानीयको गुनासो छ ।

कम्पनीले पहिलो प्याकेज अन्तर्गत लोहाखोला, रतिखोला, छेडाखोला, माटेखोला, लाम्चुडीखोला, पातलेखोला र छेडाखोलाको निर्माण जिम्मा लिएको छ । दोस्रो प्याकेज अन्तर्गत कुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेघाटखोला, गुइयाघाटखोला र दहीखोला तथा तेस्रो प्याकेज अन्तर्गत नाग्म–सिँजाखोला र छेदनाखोला पुल निर्माणको जिम्मा पाएको छ, जसमध्ये ५ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘रतिखोला पुल तीनपटक र लोवाखोला पुल दुईपटक ‘रि–डिजाइन’ गर्नुपरेकाले ढिलाइ भएको छ,’ खड्काले भने । बाँकी दर्जनभन्दा धेरै पुल निर्माणाधीन छन् ।

सडक डिभिजन कार्यालय, सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईका अनुसार यी पुलको निर्माण २०६८ देखि शुरू भएको हो । शुरूको चरणमा निर्माण जिम्मा लिएका करीब २० ठेकेदार कम्पनीले काम छाडेका थिए । ‘भट्टेखोला, कालेखोला, टाकुल्लाखोला, छिडेनाखोला, खल्लागाडखोला, बालीगढखोला र सिम्लाखोलाका पुल अधुरै छन्,’ उनले भने । धेरै पुलहरू निर्माणको जिम्मा एउटै कम्पनीले लिँदा पनि ढिलाइ भएको उनको भनाइ छ । ‘सिरुवा र सुनकोशी कविर जेभीले २०६८ मा जिम्मा लिएको जाक्सीखोला पुल अझै अलपत्र छ,’ उनले भने । राजमार्गका पुलहरूको डिजाइन ईआरएमसी कन्सल्टेन्सीले गरेको हा । यी पुलको डिजाइन संघीय राजधानी काठमाडौंमै बसेर गर्दा समस्या भएको प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्