arthik abhiyan
ad banner

पुरानो स्मार्टफोन कसरी नयाँ जसरी चलाउने ?

Sep 2, 2019 
प्रविधि
Image Not Found

स्वाभाविक रूपमा पुरानो स्मार्टफोनको तुलनामा नयाँ फोन राम्ररी चल्छ । तर, फोन पुरानो हुँदैमा नयाँ फेरिहाल्न सबैलाई सम्भव हुँदैन । यस्तोमा पुरानो स्मार्टफोन कसरी राम्रोसँग चलाउने भन्ने धेरैको टाउको दुखाइको विषय हो । पुरानो स्मार्टफोन नयाँ जस्तो छिटो त पक्कै पनि चल्दैन । यद्यपि यसलाई राम्ररी चलाउन भने सकिन्छ । यहाँ तिनै विषयमा चर्चा गरिएको छ : 

नियमित सफ्टवेयर अपडेट
जहिले पनि स्मार्टफोनमा रहेको सफ्टवेयरको पछिल्लो संस्करण चलाउनुपर्छ । पछिल्लो संस्करणमा यसअघि देखिएका सुरक्षा, गोपनीयता, ह्याक हुने खतरा लगायत समस्या समाधान गरिएको हुन्छ ।

साथै यो सफ्टवेयर स्मार्टफोनमा राम्रोसँग चल्न सक्नेगरी बनाइएको हुन्छ । कहिलेकाहीँ पुरानो स्मार्टफोनमा नयाँ भर्शन अपडेट गर्दा केही समस्या पनि आउन सक्छ । तर, सफ्टवेयरको नयाँ भर्शन अपडेट गर्दा नै स्मार्टफोनलाई केही हदसम्म नयाँ जसरी चलाउन सकिन्छ ।

स्पेस खाली गर्ने
पुरानो स्मार्टफोन नयाँ जसरी नचल्नुको अर्को कारण फोनमा पर्याप्त स्पेस नहुनु हो । फोनमा रहेका फोटो, भिडियो तथा अन्य धेरै कुराले इन्टर्नल स्पेस भरिँदै जान्छ, जसको कारण स्मार्टफोन राम्रोसँग चल्न छाड्छ ।

यसका लागि एन्ड्रोइड फोनमा गुगल फोटोज र आईफोनमा आईक्लाउडको प्रयोग गरी स्मार्टफोनमा रहेका सबै फोटो सुरक्षित राखेर इन्टर्नल स्पेस खाली गर्न सकिन्छ ।

साथै मोबाइलमा राखिएका प्रयोग नहुने एप्लिकेशन हटाउँदा पनि यो समस्याको समाधान हुन्छ । फोनमा रहेका अनावश्यक डेटाहरू पनि बेलाबेलामा सफा गरिरहनुपर्छ । यसले मोबाइलमा पर्याप्त स्पेस हुन्छ र फोन राम्रोसँग चल्न थाल्छ । 

ब्याट्रीको समस्या पहिचान
अहिले स्मार्टफोन प्रयोगकर्तामध्ये धेरैको समस्या स्मार्टफोनको ब्याट्रीको हुने गरेको छ । यस्तोमा सबैभन्दा पहिला ब्याट्री सबैभन्दा बढी केमा खपत भइरहेको छ भन्ने पहिचान गर्नु जरुरी हुन्छ । त्यसपछि धेरै नचलाउने, तर अत्यधिक ब्याट्री खपत हुने एपहरू हटाउनुपर्छ । यसले ब्याट्री छिट्टै सकिने समस्या कम गर्छ । 

तर, यसो गर्दा पनि ब्याट्री टिकेन र यसले राम्रोसँग काम गर्न सकेन भने त्यसलाई परिवर्तन गर्नु नै राम्रो हुन्छ । ब्याट्रीका लागि विभिन्न किसिमको अफर तथा वारेन्टीको सुविधा पनि पाइन्छ । राम्रो ब्याट्री परिवर्तन गरेसँगै स्मार्टफोन पनि लामो समयसम्म राम्रोसँग चल्न सक्छ ।

फोनलाई सुरक्षित राख्ने
धेरै मानिसलाई नयाँ स्मार्टफोन चाहिने अर्को कारण फोनको स्क्रिनमा केही समस्या देखिनु वा अन्य भागमा केही चोट पुग्नु हो । त्यसका लागि स्क्रिन बचाउने स्क्रिन प्रोटेक्टर र फोन कभरको प्रयोग गर्न सकिन्छ । फोनमा कभर लगाउने तथा स्क्रिन प्रोटेक्टर राख्ने बानीले फोनलाई सुरक्षित राख्न सघाउँछ । साथै मोबाइल पनि सुरक्षित किसिमले चलाउनुपर्छ । 

प्रस्तुति : चिरञ्जीवी आचार्य

प्रतिक्रिया दिनुहोस्