arthik abhiyan
ad banner

चैत महीनाबाट गैंडा गणना शुरु हुँदै

Sep 2, 2019 
प्रदेश ०३
Image Not Found

भदौ १६, चितवन । यस वर्ष गैंडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैंडा गणना गर्न सकिएको थिएन । 

गैंडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ ।  चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा रहेका छन् । ती सबै निकुञ्जमा गैंडा गणना एकसाथ गरिने छ ।

विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गैंडा गणनाका लागि गृहकार्य शुरु भइसकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम शुरु भएको छ । ‘विभागमा पनि छुट्टै समिति गठन हुनेछ’, कँडेलले भने ।     

गैंडा गणनाका लागि विभागले रू.१ करोड १० लाख विनियोजन गरेको छ । अपुग रकमका लागि दाताको भर पर्नुपर्ने विभागले बताएको छ । सवै निकुञ्जमा गैंडा गणना गर्दा रू.१ करोड ५० लाख हाराहारी खर्च हुने कँडेलले जानकारी दिए । 

गत वर्ष विभागले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करीब एक महीना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि १० दिनसम्म लाग्ने अनुमान छ । सबैभन्दा बढी गैंडा चितवनमा छ । 

सन् २०१५ को गणना अनुसार देशभर ६४५ गैंडा रहेका थिए । ६०५ गैंडा चितवन निकुञ्जमा थिए । दुई वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैंडा बगाएको थियो । 
केही गैंडा मृत भेटिएका थिए । गैंडाको वास्तविक संख्या पत्ता लगाउन गत आवमा गणनाको तयारी गरिएको थियो ।  

प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।  रासस
 

प्रतिक्रिया दिनुहोस्