arthik abhiyan
ad banner

जागिरको प्रलोभन देखाई ५ लाखभन्दा बढी ठगी र गरगहना लुटपाट गरी जबरजस्ती करणी गर्ने एक जना पक्राउ

Sep 2, 2019 
प्रदेश ०२
Image Not Found
author avatar सौरभ यादव

भदौ १६, राजविराज । सामाजिक सञ्जाल ईमोमार्फत सम्पर्क गरी बैंकमा जागिर लगाई दिने प्रलोभन देखाएर लाखौंको ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चार जना महिलालाई जागिरको प्रलोभनमा पारी रू. ५ लाख ७० हजार ठगी गरेको तथा एक जना महिलालाई गरगहना लुटपाट गरी जबरजस्ती करणीसमेत गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनपुरले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका २९ वर्षीय सञ्जिव खड्का भनिने सन्तोष कुमार यादवलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।

यादवले सिन्धुपाल्चोकको पाखर नगरपालिका–१ की ३३ वर्षीया स्वस्थानी नेपाली, कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की मिना बोहरा, सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की आशा राई र सोलुखुम्बुकी विष्णु नेपालीलाई जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ । यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ की एक युवतीलाई सप्तरीको अग्निसाइर कृष्णासवर गाउँपालिकास्थित सितापुरमा बोलाई उनीसँग भएको गरगहना लुटेर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

यसअघि पनि विराटनगरमा एक महिलालाई लुटपाट गरी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका यादव सोहि मुद्दामा अदालतबाट १ वर्ष ६ महीना कैद सजाय भएकोमा हालसम्म कैद भुक्तान नगरी फरार रहेको प्रहरीले बताएको छ । यादवको साथबाट ‘सिगारेट’ लेखिएको आन्तरिक राजस्व विभागको स्टिकर लगायतका सरसमानसमेत भेटिएकोले आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्