arthik abhiyan
ad banner

गैससको कार्यालय नै गोप्य सञ्चालन : परियोजनामा विवाद, गुणस्तरहीन काम

Sep 3, 2019 
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

राजविराज । संघसंस्था परिचालन कार्यविधि २०६१ अनुसार प्रत्येक गैरसरकारी संस्थाले आफ्नो कार्यालयको होर्डिङ बोर्ड र स्वीकृत परियोजनाको उद्देश्य, बजेट, कार्यक्षेत्र, लाभग्राही समेत खुलाई सेवा बडापत्र खुला र सर्वसाधारणको पहुँचमा राख्नुपर्छ । तर, सप्तरीमा ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) नामक गैरसरकारी संस्थाले गोप्य ढंगले कार्यालय सञ्चालन गरिरहेको पाइएको छ ।

संस्थाबाट सञ्चालित कतिपय योजना विवादित बन्न थालेपछि कार्यालय नै गोप्य ढंगले सञ्चालन भइरहेको तथ्य बाहिरिएको हो । संस्थाले करीब १० वर्षदेखि सप्तरीमा काम गर्दै आएको छ । तर कार्यालयमा अझैसम्म होर्डिङ बोर्ड राखिएको छैन । ‘संस्थाका परियोजना स्थलमा संक्षिप्त विवरण देखिने होर्डिङ बोर्ड पाइएन,’ स्थानीय मोहम्मद अनवरले भने, ‘राजविराज आएर ११ देखि २ बजेसम्म कार्यालय खोज्दा पनि भेटिएन ।’ संस्थाका कलष्टर संयोजक दिनेश अर्यालले अर्को स्थानबाट कार्यालय सरेर यहाँ आएकाले होर्डिङ बोर्ड राख्न नभ्याइएको प्रतिक्रिया दिए ।

आरआरएनले तिरहुत गाउँपालिका–३ गोइठीमा भवानी राधा आधारभूत विद्यालयको भवन निर्माण गर्ने भयो । त्यसका लागि स्थानीयको विवादकै बीच उपभोक्ता समिति गठन गरियो र गत १९ गते समितिसँग सम्झौता भएर निर्माण थालियो । समुदाय विकास कार्यक्रम तथा उक्त संस्थाको २८ लाख ४६ हजार र गाउँपालिकाको रू. ९ लाख ७१ हजार बजेटमा विद्यालयको भवन निर्माण कार्यमा अझै विवाद कायमै छ ।

कार्यक्रम अन्तर्गत सोही गाउँपालिका–१ त्रिकोलस्थित वडा कार्यालयको भवन निर्माणाधीन छ । २०७६ वैशाख २४ गते सम्झौता भएर निर्माण थालिएको भवनमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध गरेका छन् । ‘इँटा र बालुवा गुणस्तरहीन प्रयोग भएको पाइएको छ,’ स्थानीय मोहम्मद हकिमले भने, ‘यसबारे वडा कार्यालयमा कुरा राख्यौं, तर भवन निर्माणको विषयमा कुनै जानकारी नरहेको प्रतिक्रया पाएछि अब कहाँ गुनासो गर्ने भन्ने अन्योलमा छौं । वडाध्यक्ष शिवनारायण महतोले उक्त भवन निर्माणबारे आफू अनभिज्ञ रहेको स्वीकारे ।

आरआरएनले हाल तिरहुत गाउँपालिकामा आठ र विष्णुपुर गाउँपालिकामा एउटा परियोजनामा काम गरिरहेको छ । तिरहुत गाउँपालिका–१ मै पाँच परियोजना सञ्चालनमा छन् । समुदाय विकास कार्यक्रम, उक्त संस्था र गाउँपालिकाको गरी रू. १ करोड ९० लाख ९१ हजार बजेटमा काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्