arthik abhiyan
ad banner

मोनोरेल भन्दा मेट्रोरेल नै उपयुक्त हुन्छ

Sep 3, 2019 
अन्तरवार्ता
Image Not Found
आशिष गजुरेल, यातायात तथा ट्राफिक इन्जिनीयर

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थित गर्न ‘मास ट्रान्जिट’मा जाने योजना बनाएको छ । यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा चक्रपथमा आगामी ३ वर्षभित्र मोनोरेल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यस्तै, रेल विभागले बूढानीलकण्ठ–लगनखेल हुँदै कीर्तिपुरसम्म र लगानी बोर्डले नागढुंगा–धुलिखेल सडक खण्डमा मेट्रोरेल सञ्चालनको कार्ययोजना बनाइरहेका छन् । यसै सन्दर्भमा मोनोरेल र मेट्रोरेलको विषयमा यातायात तथा ट्राफिक इन्जिनीयर आशिष गजुरेलसँग गरिएको कुराकानीको सार :

मोनोरेल र मेट्रोरेलमा के फरक छ ?
जनसंख्या अत्यधिक भएको शहरमा ‘मास ट्रान्जिट’को रूपमा मेट्रोरेल र मोनोरेल सञ्चालन गरिन्छ । यी दुवैले एकैपटकमा धेरै यात्रु बोक्न सक्छन् । एउटा लिकमा गुड्ने सानो आकारको रेल मोनो तथा दुईओटा लिकमा गुड्ने अलि ठूलो आकारको रेल मेट्रोरेल हो । मेट्रोरेल मोनोभन्दा बढी यात्रु बोक्न सक्ने क्षमताको हुन्छ ।

मोनोरेल र मेट्रोरेल सञ्चालन कसरी हुन्छ ?
जमीनमाथि उठेको संरचना निर्माण गरेर मोनोरेल सञ्चालन गरिन्छ । जमीनमुनि सुरुङ बनाएर वा माथि उठेकै संरचनामा पनि मेट्रोरेल चलाउन सकिन्छ ।

नेपालका लागि कुन उपयुक्त छ ?
म मोनोरेल बनाउँनै हुँदैन भन्छु । मोनोरेलको क्षमता कम हुन्छ र यो दीर्घकालीन रूपमा मेट्रोरेलभन्दा महँगो पनि हुन्छ । एउटा मोनोरेल बनाउन करीब रू. ६ अर्ब र मेट्रोरेल बनाउन करीब रू. १० अर्ब लागत लाग्छ ।

मेट्रोरेलले ६० हजारदेखि ८० हजारसम्म यात्रु बोक्न सक्छ भने मोनोरेलमा ८ हजारदेखि १० हजारसम्म मात्र यात्रु बोक्ने क्षमता हुन्छ । ६ ओटा मोनोरेल बराबर एउटा मेट्रोरेल हुन्छ । बढी यात्रु बोक्न सक्ने र सञ्चालनमा पनि सस्तो हुने भएकाले मेट्रोरेल उपयुक्त हुन्छ ।

अन्तरराष्ट्रियस्तरमा कुन बढी सफल छ ?
बाहिरी देशमा पनि मेट्रोरेल सफल भएको छ । विश्वभर सबैभन्दा लामो मोनोरेलको रूपमा जापानमा ३० किलोमिटर लामो मोनोरेल सञ्चालनमा छ ।
मलेशियामा ८ किलोमिटरमा रहेको मोनोरेल राम्रो अवस्थामा चलिरहेको छ । अन्य कतिपय देशमा मोनोरेल असफल भएर बन्द भइसकेका छन् । केही समयअघि सिड्नीमा पनि मोनोरेल बन्द भयो । मुम्बईमा सञ्चालन भइरहेको मोनोरेल बन्द हुने अवस्थामा छ । सबैभन्दा बढी मोनोरेल जापानमा भएकोमा जापानले पनि मोनोरेलको लगानी घटाएर मेट्रोरेलमा लगानी बढाएको छ ।

मोनोरेल कस्तो ठाउँमा उपयुक्त हुन्छ ? काठमाडौंमा सुरुङ बनाएर मेट्रोरेल सञ्चालन गर्न सम्भव छ ?
विमानस्थल, पार्क लगायत साना ठाउँमा मोनोरेल उपुक्त हुन्छ । मेट्रोरेलमा नयाँ नयाँ प्रविधिको विकास भएकाले काठमाडौंमा यसको सञ्चालन सम्भव छ ।

काठमाडौंमा सञ्चालन गर्ने भनिएको मोनोरेल गलत हो ?
मेट्रोरेलभन्दा सुधारिएको बस सेवा राम्रो हुन्छ । यातायात व्यवस्थापनका लागि यस्ता योजनामा जाने हो भने मेट्रोरेल नै बनाउनुपर्छ । अन्तरराष्ट्रिय अभ्यासमा मोनोरेल असफल भइसकेकाले यसलाई नेपालमा बनाउनु नै हुँदैन भन्ने मलाई लाग्छ । मेट्रोरेल बनाउन समय लाग्ने भएकाले तत्कालका लागि सुधारिएको बस सेवा शुरू गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्