arthik abhiyan
ad banner

लगानीका लागि तिलोत्तमा हरेक हिसाबले सुरक्षित छ

Sep 3, 2019 
अन्तरवार्ता
Image Not Found
वासुदेव घिमिरे, नगर प्रमुख, तिलोत्तमा नगरपालिका

तिलोत्तमा तीव्र शहरीकरण भइरहेको रूपन्देहीको नयाँ नगरपालिका हो । जनप्रतिनिधि आइसकेपछि नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धन जस्ता कार्यक्रम तीवरूपमा अघि बढाएको छ । फरक अभ्यास र नयाँ कार्यको थालनीले यो नगरपालिका मुलुकमै चर्चामा छ । नगरपालिकाले आउँदो असोज ९ गते लगानी सम्मेलन गर्दै छ । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर आर्थिक अभियानका रूपन्देही संवाददाता बीपी गौतमले नगर प्रमुख वासुदेव घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय तहले नै लगानी सम्मेलन गर्दै छ । यो किन र केका लागि गर्दै हुनुहुन्छ ?
२०७१ सालमा साविकका सात गाविस मिलेर बनेको बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भइरहेको क्षेत्र हो । यहाँ नयाँ उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम बढेको छ । रूपन्देहीकै मध्यभागको अवस्थिति, बीचबाट ६ लेख सडक बौद्ध परिक्रमा पथ, भारतीय सीमा र निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नजीक,  पर्याप्त खुला क्षेत्र, सडक, विद्युत्, पानीको पर्याप्तता जस्ता कारणले यहाँ लगानी तीव्ररूपमा बढिरहेको हो ।

हामीले तिलोत्तमालाई समृद्ध नगरको रूपमा विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेका छौं । तर पनि बजेट सीमितताको कारण अपेक्षित कामहरू एकैपटक गर्न नसकिएको यथार्थ छ । यसैलाई मनन गरेर आर्थिक विकासमा निजीक्षेत्रको उपस्थिति थप व्यापक बनाउने उद्देश्यले असोज ९ गते ‘तिलोत्तमा लगानी सम्मेलन’ आयोजना गरेका हौं । तिलोत्तमामा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु नै यस सम्मेलनको मुख्य लक्ष्य हो । तिलोत्तमा आफैमा अपार सम्भावना बोकेको नयाँ शहर भएकाले यहाँ स्वदेशी तथा विदेशी निजीक्षेत्र, विकास साझेदार संस्थाहरूको लगानी भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । हामी लगानीकर्तालाई यहाँ लगानी गर्दा अत्यन्त सुरक्षित छ भन्नेमा विश्वस्त पार्न चाहन्छौं ।

सम्मेलनको मिति नजिकिँदै छ । तयारीको काम अघि बढाइरहँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 
लगानी सम्मेलनलाई सबैले सकारात्मक रूपमै लिएको पाएका छौं । लगानी सम्मेलन गर्ने थाहा पाएपछि सरोकारवाला धेरैले हामीहरूलाई फोन गरेर यसबारे बुझ्ने गर्नुभएको छ भने कतिपय व्यवसायी नगरपालिकामै आएर सम्मेलनबारे बुझ्ने, सल्लाह सुझाव दिने गर्नुभएको छ । अरू ठाउँमा उद्योग लगाएकाहरू पनि तिलोत्तमामा सार्न पाए हुन्थ्यो भन्ने चाहना राखेको मैले पाएको छु ।

तिलोत्तमा लगानी सम्मेलन सफल हुने आधारहरू के के हुन् ?
लगानी सम्मेलनमा हामीले स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिएका छौं । परियोजना छनोट गर्दा पनि हामी नगरपालिकाले आफैले गर्नुपर्ने कामको क्षेत्रमा बढी केन्द्रित भएका छौं । त्यसैले पनि हामीहरू यो सम्मेलनमा सफल हुनेछौं । अर्को कुरा, लगानी सम्मेलनमा तत्काल लगानी भित्रिने एउटा पक्ष होला, अर्को पक्ष भनेको यहाँ लगानीको वातावरण छ है भन्ने जानकारी लगानीकर्तालाई दिनु पनि हो । यसो हुँदा लगानीकर्ता आफूलाई अनुकूल हुँदाको अवस्था वा लगानी बढाउँदा हाम्रो क्षेत्र रोज्न सक्ने आधार पनि तय हुन्छ ।

त्योभन्दा महत्त्वपूर्ण कुरा यो सम्मेलनले यहाँको निजीक्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच राम्रो नेटवर्किङ विकास गराउनेछ । यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो । त्यसले यो सम्मेलन मूलतः लगानीसँग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङको साझा थलो पनि हिसाबले पनि सफल हुनेछ ।

तिलोत्तमामा लगानी गर्दा लगानीकर्ताले के लाभ पाउँछन् ? लगानीकर्तालाई के कस्तो सहुलियत र सुविधा दिँदै हुनुहुन्छ ? 
लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि नगरपालिकाले लिने सबै प्रकारका कर छूट, जग्गा प्राप्ति लगायत विषयलाई समेटेका छौं । सबैभन्दा महत्त्वपूर्ण कुरा त नगरपालिकामा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउन सक्नेछ । परियोजनासम्म जाने र आउने बाटोको पहुँच, विद्युत्, पानीलगायत पूर्वाधार सुविधा नगरपालिकाबाट हुनेछ ।

लगानी सम्मेलनमा कतिओटा र कस्ता परियोजना प्रस्तुत गर्दै हुनुहुन्छ ? 
२२ ओटाजति परियोजना लगानी सम्मेलनमा लैजाँदै छौं । परियोजना प्रस्ताव गर्दा सो परियोजनाले वातावरण र नागरिकको दैनिक जीवनमा पार्ने प्रभावलाई समेत ध्यान दिएका छौं । सुर्ती तथा मदिरासम्बन्धी र वातावरणमा प्रत्यक्ष रूपमा नकारात्मक पर्ने परियोजनालाई निरुत्साहित गरिएको छ । स्थानीय कच्चापदार्थमा आधारित, स्थानीय रोजगारी, वातावरण प्रदूषण न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, कृषि, प्राविधिक शिक्षा, स्वास्थ्य आदिमा आधारित परियोजनालाई प्राथमिकता दिइएको छ । प्रस्तावित परियोजनामा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, ढाक्रेवास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्मार्ट बालउद्यान लगायत छन् ।

कतिओटा परियोजनामा कति लगानी भित्रिने अपेक्षा गर्नुएको छ ?
अहिलेसम्म हामीहरूको सम्पर्कमा आएका लगानीकर्ताको कुराकानीका अनुसार लगानी सम्मेलनमा सम्मानजनक लगानी भित्रिने गरी एमओई हुन्छ भन्ने छ । मैले अघि पनि भने यो लगानी सम्मेलनको दुईओटा महत्त्व छ । एउटा तत्काल एमओई गरेर आउने लगानी, अर्को अप्रत्यक्ष रूपमा पछि आउने लगानी । त्यसैले हामीले लगानीलाई निरपेक्ष ढंगबाट मात्र हेर्न हुँदैन जस्तो लाग्छ । 

यसलाई अलि प्रस्ट्याइदिनुहोस् न ? 
मैले भन्न खोजेको लगानी सम्मेलनमा कति लगानीको एमओई भन्ने कुरा मात्र सबथोक होइन भन्ने हो । जस्तै– कुनै लगानीकर्ता लगानी सम्मेलनमा सहभागी भएर यहाँको सबै अवस्था बुझेर आफ्नो लगानी सुरक्षित हुने देख्दा पछि लगानी ल्याउन पनि सक्छ । नेपाल नै नआएको विदेशी लगानीकर्ताले यहाँ आएर तिलोत्तमा मात्र होइन, मुलुककै अन्य ठाउँमा पनि लगानी गर्न सक्छ । त्यसैले हामीले के भनेका छौं भने आयोजनाको हिसाबले यो सम्मेलन हामीले गरेको देखिए पनि यो सबैको साझा लगानी सम्मेलन हो ।

अन्त्यमा के भन्नुहुन्छ ?  
फेरि पनि मैले जोड दिन चाहन्छु कि– यो लगानी सम्मेलन हामीहरू सबैको हो । सम्मेलनले जति लगानी ल्याउनेछ, त्यसको फाइदा अप्रत्यक्ष रूपमा सबै नेपालीलाई हुनेछ । लगानी सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिनेछ । तिलोत्तमामा जति पनि सम्भाव्य परियोजनाहरू हुन्छन्, ती योजनामा लगानी गरेर कस्तो प्रतिफल प्राप्त गर्न सकिन्छ, लगानीको प्रशासनिक तथा कानूनी बाटो के हो, लगानी सम्बन्धी स्थानीय सरकारको दृष्टिकोण, परियोजना कार्यान्वय गरिरहँदा पर्ने व्यावहारिक समस्या समाधानका उपाय के के हुन् भन्नेबारे सम्पूर्ण जानकारी सम्मेलनले दिनेछ । यी सबै विषयवस्तुलाई नजिकबाट चिन्ने/चिनाउने माध्यमको रूपमा लगानी सम्मेलनलाई लिइएको छ । अतः लगानी सम्मेलनमा सहभागी हुन सम्पूर्ण लगानीकर्तालाई आह्वान गर्दै सहयोग पुर्‍याउन सबैलाई अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्