arthik abhiyan
ad banner

हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

Sep 3, 2019 
प्रदेश ०३
Image Not Found

भदौ १७, मेलम्ची । पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा  पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ ।

हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ ।     
 ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’(पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो ।करीब ६० किलोमिटर लामो पदमार्ग निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताए । 

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो ।

 गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी सो निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ । 

उनका अनुसार पर्यटन विभागले स्थानीय तहको समन्वयमा रू.२ करोड लागतमा सो पदमार्ग निर्माण भइरहेको हो । हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमीको काम सम्पन्न भएको छ ।

पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा पनि १० किमी मात्रै काम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए ।     

उक्त कामका लागि प्रदेश नं ३ बाट रू.५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्ग निर्माणकार्य शुरु गरिएको सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिए । 

पहिलो मार्गअन्तर्गत हाल निर्माण शुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायांगी, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुंगिने छ ।
 त्यसैगरी दोस्रो रुटमा वडा नं ६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुंगिने छ ।  

   दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अंग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने छ । 

पदमार्ग कडा चट्टाने ढुंगालाई काटेर इँटाका रुपमा तयार गरी निर्माण भइरहेको छ । झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिने बताइएको छ  । रासस

प्रतिक्रिया दिनुहोस्