arthik abhiyan
ad banner

प्रकाशकीय

Sep 4, 2019 
सम्पादकीय
Image Not Found

नेपालको वर्तमान आर्थिक अवस्था सन्तोषजनक देखिँदैन । दुई तिहाइको सरकार सत्तामा आउँदा अर्थतन्त्र चलायमान हुने जुन अपेक्षा गरिएको थियो, त्यो हुनसकेको छैन । उदार अर्थतन्त्र र निजीक्षेत्रका बारेमा वर्तमान सरकारका नीतिप्रति प्रश्न उठाउने प्रशस्त ठाउँ पनि छन् । तर, २०४७ को राजनीतिक परिवर्तनपछिको आर्थिक उदारीकरणको जगमा उभिएको नेपाली अर्थतन्त्रप्रति अहिले आशावादी हुनुपर्ने आधार पनि थुपै्र छन् । स्थिर सरकारको गठनले लगानीको वातावरणलाई धेरै हदसम्म सकारात्मक बनाएको छ, नेपालमाथि विदेशी लगानीकर्ताको चासो पनि बढेको छ । त्योसँगै नयाँ प्रविधि र सोचबाट सुसज्जित युवा व्यवसायीहरूको ठूलो जमात तयार भइसकेको छ जो नेपालमा ‘आन्त्रपे्रनरशीप’लाई नयाँ आयाम दिँदै छन् ।

विस ५० को दशकमा मुलुक सशस्त्र द्वन्द्वको भुमरीमा फस्न पुगेर झन्डै २ दशक नगुमेको भए हालको अवस्था पक्कै पनि अझै धेरै उन्नत भइसक्थ्यो । त्यही द्वन्द्वको अवधिमा अर्थात् २०६२ भाद्रमा प्रकाशन थालिएको ‘आजको अभियान’ साप्ताहिकले शुरूदेखि नै आर्थिक क्षेत्रमा सुशासन, पारदर्शिता, उदारीकरणको प्रवर्द्धन गर्ने अभियान चलाइरहेको छ र २०६४ पुसमा ‘आर्थिक अभियान’ साप्ताहिक तथा २०६७ भदौमा ‘आर्थिक अभियान’ दैनिक भएपछि पनि यो अभियान निरन्तर छ ।

सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण अब अखबार मात्रै समाचारको स्रोत रहेन । तसर्थ समाचार उपभोगमा आएका नयाँ परिवर्तनहरूलाई आत्मसात् गर्दै समाचार प्रस्तुतिलाई थप परिस्कृत गर्नुको विकल्प छैन । हामीलाई थाहा छ, हाम्रा पाठकहरू हामीबाट सतही समाचार मात्रै  अपेक्षा गर्दैनन् । त्यसैले अर्थतन्त्रका समग्र पक्षको सूक्ष्म विश्लेषण, निजीक्षेत्रका नयाँ पहल, शक्ति राष्ट्रहरूको नेपालमा बढ्दो चासो र त्यसबाट नेपालमा हुनसक्ने आर्थिक फाइदा/बेफाइदा लगायत पक्षहरूमा हाम्रो अखबारकारिता केन्द्रित हुनेछ । साथै, आर्थिक अभियानका पृष्ठहरू थप विविधतायुक्त र साजसज्जामा नयाँ प्रविधिको प्रयोग गर्नेतर्फ हाम्रो प्रयास रहनेछ । र, हाम्रा यी पहल हाम्रो मूलभूत मान्यता —  खुला बजार अर्थतन्त्र,  उत्तरदायी र पारदर्शिता प्रवद्र्धन, सकारात्मक सोच र निजीक्षेत्रको सशक्त उपस्थिति — बाटै निर्देशित हुनेछन् । अतः यस १४ वर्षे अभियानमा हामीलाई साथ दिने आत्मीय पाठक तथा विज्ञापनदाताप्रति हामी कृतज्ञ छौं । र, आगामी दिन र वर्षहरूमा पनि जिम्मेवार पत्रकारिताको अभियान जारी राख्ने वाचा गर्दछौं ।

मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज प्रालि

प्रतिक्रिया दिनुहोस्