ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मोबाइल एपको संसार

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar युवराज बस्नेत

ठिमी बस्दै आएकी रीता कार्की पछिल्लो समय होटल तथा रेष्टुराँ धाएर खानाका परिकार खाँदिनन् । प्रायः घरमै बसिरहने भएकाले उनी खाना तथा खाजा खानुपरे फूडमान्डुमार्फत आफूलाई मन लागेका विभिन्न परिकार मगाउँछिन् ।

आफ्नो स्मार्टफोनमा फूडमान्डु एप डाउनलोड गरेकी कार्कीले यही एपमार्फत उपत्यकाका विभिन्न रेष्टुराँको परिकार घरमै बसीबसी अर्डर गर्ने गरेकी छन् । उनी भन्छिन् ‘रेष्टुराँ, क्याफेमा धाइराख्नु नपर्ने भएकाले त्यो समयलाई अन्य काममा खर्च गर्छु ।’ प्रविधिले सबैको दिनचर्या सहज र सुविधायुक्त बनाइदिएको उनको भनाइ छ ।

फूडमारियो पनि यस्तै सेवा दिने अर्को एक कम्पनी हो । यसले रेष्टुराँको होइन, घरमै बनाइएको खाना तपाईंकहाँ ल्याइदिन्छ । अहिले फूडमान्डु र फूडमारियोसँगै भोजडिल्स, मामहाम, यमफूड, भोक लाग्यो र हाम्रो किचेन लगायतले खानाको परिकार उपभोक्तासम्म पुर्‍याइरहेका छन् । यी सबै एप कम्पनीलाई ग्राहकसँग जोड्ने सेतु बनेका छन् ।
त्यस्तै, प्रविधिको प्रयोग गरी एपमार्फत भुक्तानी सेवा लिइरहेका अर्का व्यक्ति हुन्, नवीन कार्की । जडीबुटी बस्दै आएका उनले आफ्नो मोबाइलमा ई–सेवाको एप राखेका छन् । यसले उनलाई बिजुली, केबल टीभी र इन्टरनेटको बिल भुक्तानी, घरबेटीलाई कोठाभाडा तिर्न तथा बैंक वित्तसम्बन्धी सबै कामका लागि सहज बनाएको छ । कार्की क्यासलेस जस्तै भएर हिँड्छन् अर्थात् नगद बोक्दैनन् । उनी भन्छन्, ‘यसले पकेटमाराको डर पनि भएन, समयको बचत पनि भयो ।’

उनले यसरी ई–सेवाबाट सेवा लिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, अब उनी अर्को सेवाप्रदायक छनोटको तयारीमा छन् । ‘ई–सेवाको सेवा सरल, सहज र उत्कृष्ट हुँदाहुँदै पनि मलाई अर्को यस्तै सेवा दिने आईएमई पे प्रयोग गर्न मन लागेको छ,’ उनी भन्छन्, ‘सुनेको छु, खल्तीको सेवा पनि राम्रो छ ।’ बैंक खाता भएको जसले पनि कसैलाई रकम तिर्न तथा आपूmलाई कसैसँग सापट माग्न परे यस्ता मोबाइल एपले निकै सहज गरिदिएका छन् ।

ग्रामीण भेगमा यसको प्रयोग न्यून रहे पनि काठमाडौं उपत्यका र अन्य ठूला शहरमा भने मोबाइल एपको प्रयोगले व्यापक रूप लिएको छ । शहरी क्षेत्रमा डिजिटल भुक्तानी प्रणाली अगाडि बढिसकेको छ ।

मोबाइल एपबाटै मोटरसाइकल सेवा दिइरहेका सामाखुसीका सौगात पण्डित राइड शेयर सेवाप्रदायक कम्पनी टूटलसँग जोडिएका छन् । मानिसलाई एक ठाउँबाट अर्को ठाउँ पु¥याउन यो सहयोगी माध्यम बनेको उनी बताउँछन् । उनी यो पेशामा फुलटाइम नै दिएर लागिपरेका छन् । टूटलमार्फत मासिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाइ हुने उनको भनाइ छ । दिनमा अधिकतम ७० देखि ८० ट्रिप गर्ने उनी बताउँछन् । एपको माध्यमबाट सेवा प्रदान गर्ने सारथी, यात्रु, पठाओ र टूटलले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई निकै सहज बनाएका छन् । मोबाइल एपमार्फत विभिन्न सेवा लिइरहेका ग्राहकको संख्या नेपालमा बढ्दो छ भने हजारौंले उक्त सेवासँग प्रत्यक्ष जोडिएर रोजगारीको अवसर समेत पाएका छन् ।

किराना व्यवसाय अर्थात् रिटेल बिजनेस पनि यसबाट अछुतो छैन । ई–टेल (इलेक्ट्रोनिक रिटेल) कम्पनी सस्तो डिल, दराज, हाम्रो बजार र मेरो किनमेलले पनि एपमार्फत नै अर्डर लिन्छन् ।

नेपाली बजारमा मोबाइल फोन भित्रिएको झण्डै दुई दशक भएको छ । योे अवधिमा मोबाइल सेवा र प्रविधिले मात्र ठूलो फड्को मारेन, इन्टरनेट सेवा पनि देशव्यापी हुन पुग्यो । इन्टरनेटको पहुँच बढेसँगै मोबाइल एपमार्फत सेवा दिने कम्पनीको संख्या पनि अहिले उकालो लागेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा वार्षिक रू. २० अर्बभन्दा बढीको मोबाइल आयात भइरहेको छ । स्मार्टफोनका कारण पनि भ्यालु एडेड सर्भिस शुरू गर्न र विस्तार गर्न सहज भएको छ ।

विगत केही वर्षयता ओभर दी टप (ओटीटी) सेवा अर्थात् एपहरूको प्रयोग बढ्यो । मोबाइल एपको विकाससँगै नेपालमा पनि भाइबर, इमो, फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढ्यो । अहिले नेपाली युवाहरू यस्ता सामाजिक सञ्जाल र एपमार्फत व्यापार व्यवसायमा अघि बढिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदन अनुसार नेपालमा मोबाइल सेवा प्रयोगकर्ता ४ करोड १० लाख पुगेका छन् । त्यस्तै, ब्रोडएन्ड इन्टरनेटमा हाल ६४ प्रतिशत नेपालीको पहुँच छ । इन्टरनेट र मोबाइल एप परिपूरकजस्तै हुन् । नेपालमा जुन रूपले इन्टरनेटको विस्तार भइरहेको छ सोही अनुसार समाज डिजिटलाइज्ड प्रणालीतर्फ लम्किरहेको छ । इन्टरनेटविना यी मोबाइल एपको सम्भावना छैन ।

नेपाल सरकारले पनि ५ वर्षभित्र डिजिटल नेपाल बनाउने अवधारणा ल्याएको छ । यसअन्तर्गत देशका कुल ५५३ स्थानीय तहमध्ये साढे ४५० भन्दा बढी स्थानीय तहले आनै एप ल्याएका छन् ।यसले स्थानीय तहलाई गतिविधि, अनुगमन र कार्ययोजना बनाई अगाडि बढ्न सहज भएको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादव बताउँछन् । बाँकी स्थानीय तह पनि मोबाइल एप सञ्चालनमा ल्याउने तयारीमा छन् । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले नागरिक अधिकार एपलाई पनि स्वीकृति दिएको छ ।

मोबाइल एपमार्फत राइड शेयरिङको सेवा दिँदै आएको कम्पनी टूटलका कार्यकारी निर्देशक शिक्षित भट्ट भन्छन् ‘कयौं मानिसलाई यी एपको विषयमा अझै थाहा छैन । अबको विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’तिर केन्द्रित हुँदै छ । यस्तो अवस्थामा मोबाइल एपले सामाजिक तथा आर्थिक विकासलाई पनि प्रभाव पार्दै गएको छ ।’

नेपालमा पछिल्लो समय धेरै व्यवसायमा मोबाइल एप अनिवार्य हुन थालेको तर यसको नियमन पनि त्यतिकै आवश्यक रहेको फूडमान्डुका संस्थापक मनोहर अधिकारी बताउँछन् । ‘अबको युग डिजिटल युग हो,’ अधिकारी भन्छन्, ‘पछिल्लो समय व्यापार व्यवसायमा जुन रूपले एपको प्रयोग बढेको छ, यसले नेपालको प्राविधिक तथा सामाजिक मान्यतामा नै परिवर्तन ल्याउने देखिएको छ ।’

प्रविधिमा आएको परिवर्तनसँगै उपभोक्ताहरू अनलाइन तथा इन्टरनेटमार्फत सेवा लिन आतुर छन् । बजारको अवस्थालाई हेर्दा अबको बाटो मोबाइलमार्फत अनलाइनमै भएको ई–सेवाका संस्थापक अस्कर अलिको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता स्टार्टअप कम्पनीलाई नियमन गर्न कार्ययोजना अगाडि बढाएको उनले जानकारी दिए । नेपालमा ठूलो परिमाणमा पेमेन्ट गर्नुप¥यो भने डिजिटल पेमेन्टलाई अनुमति छैन यसका लागि अझै चेकबाट कारोबार भइरहेको देखिन्छ ।

टूटल, पठाओले छोटो समयमा काठमाडौंको सार्वजनिक यातायात सेवामा ‘डिसरप्शन’ गरे । सरकारले यिनको सेवा रोक्न खोज्दा उपभोक्ताहरू नै यसको बचाउमा आए । यसले प्रविधिमा आधारित व्यवसाय÷सेवालाई शहरी उपभोक्ताले कति आत्मसात् गरेका छन् भन्ने देखाउँछ ।

नेपाल राष्ट्र बैंकबाट मोबाइल एपमार्फत भुक्तानी प्रणाली सञ्चालन गर्न गेटवे कम्पनीहरूले इजाजतपत्र लिने क्रम बढेको छ । पेमेन्ट गेटवे कम्पनीको संख्या मात्रै करीब १ दर्जन पुग्न लागेको छ । राष्ट्र बैंकबाट वित्तीय कारोबारका लागि ई–सेवा, खल्ती, आईएमई पे, प्रभु पे, सेल पे र आई पेले इजाजतपत्र लिइसकेका छन् । तर, बजारमा प्रतिस्पर्धा गरिरहेका यी कम्पनीले नयाँ सेवा दिनेभन्दा पनि अर्कोको नक्कल गरिरहेका छन् । केही हप्ताअघि मात्रै ‘सेल पे’ नामक मोबाइल वालेट नेपाली बजारमा प्रवेश गर्यो । यो अन्य पेमेन्ट गेटवे एपभन्दा फरक छ र यसमा बैंकबाट सोझै बजारमा कारोबार गर्ने व्यवस्था भएकाले उपभोक्ताको आकर्षण यतापट्टि बढ्ने सम्भावना छ ।

ई–कमर्श लगायत अधिकांश वित्तीय कार्यालयले आफ्नै मोबाइल एपको विकास गरेका छन् । सरल र सहज भएका कारण मोबाइल ल्यापटप र कम्प्युटरभन्दा शक्तिशाली भइसकेको खल्तीका सञ्चालक मनीष मोदी बताउँछन् । तर, अहिले ग्रामीण भेगमा भन्दा पनि जहाँ इन्टरनेटको पहुँच छ कम्पनीहरू त्यतै केन्द्रित छन् ।  

नेपालमा अहिले कुनै पनि मोबाइल एप कम्पनीले १ करोडदेखि १० करोडसम्म लगानी गरेका छन् । विशेषगरी, ठूला अनलाइन कम्पनीले रू. ५ देखि १० करोडमा कम्पनी सञ्चालन गरिरहेका छन् । तर, उपभोक्ताले भने डिजिटल भुक्तानीलाई अझै बुझ्न नसकेको मोदी बताउँछन् । अहिले नेपालमा कुल ३ प्रतिशत कारोबार मात्रै डिजिटल भुक्तानीबाट हुने गरेको वालेट सेवाप्रदायकको भनाइ छ ।

विश्व ‘क्यासलेस’ प्रविधिमा गइसकेको छ । सरकारी संस्था पनि डिजिटल भुक्तानीमै प्रेरित भइरहेका छन् । पछिल्लो समय हरेक क्षेत्रमा कार्डमार्फत भुक्तानी बढेको छ । समग्रमा व्यापार तथा व्यवसाय अबको ५ देखि १० वर्षमा पूर्णरूपमा अनलाइन प्रणालीमा जाने र यसका लागि मोबाइल एपले विशेष भूमिका निभाउने डिजिटल सेवाप्रदायकहरू बताउँछन् । तथापि, भविष्यमा ठूलो अर्थतन्त्र मोबाइल एपमा आधारित हुने सम्भावना रहेकाले यसको नियमन पनि आवश्यक रहेको उनीहरूको भनाइ छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्