arthik abhiyan
ad banner

धनगढी विमानस्थलको वार्षिक आम्दानी ३ करोड, हवाई यात्रुको संख्या २ लाख ३४ हजार

Sep 5, 2019 
प्रदेश ०७
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १९, धनगढी । सुदूपश्चिममा नियमित रुपमा उडान  हुन थालेपछि धनगढी विमानस्थलको आम्दानीमा बृद्धि भएको छ ।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्स तथा निजी हवाई कम्पनी बुद्ध, श्री, सौर्य एयरलाइन्सले धनगढी–काठमाडौं तथा काठमाडौं–धनगढी नियमित रुपमा गर्न थालेपछि विमानस्थलको वार्षिक आम्दानी रू.३ करोड पुगेको विमानस्थल प्रमुख तेजबहादुर बुड्थापाले बताए ।

शुरुमा साताको तीन दिन नेपाल एयरलाइन्स र बुद्ध एयरले मात्रै गर्दै आएकोमा पछिल्लो डेढ वर्षयता सौर्य तथा श्री एयरलाइन्सले पनि धनगढी –काठमाडौं दैनिक  रुपमा गर्दै आएका छन् । हाल यो विमानस्थलबाट साताको तीन दिन ५ ओटा तथा चार दिन चार ओटा उडान हुँदै आएको छ । 

एक महीनामा सरदर १९ हजार ५०० यात्रुले धनगढी–काठमाडौं यात्रा गर्दै आएको विमानस्थल कार्यालय धनगढीले बताएको छ । हाल दैनिक ६५० यात्रुले धनगढी–काठमाडौं तथा काठमाडौं–धनगढीको हवाई यात्रा गर्दै आएका छन् । यस हिसाबले वार्षिक यहाँबाट २ लाख ३४ हजार यात्रुले हवाई यात्रा गर्ने गर्दछन् ।

‘विमानस्थल विस्तारका लागि आवश्यक पर्ने २१ कट्ठा जमीन अधिग्रहण गरेर विमानस्थलको नाममा नामसारी गरिसकेका छौं’ प्रमुख बुड्थापाले भने, ‘अव धनगढी विमानस्थलको नाममा ७० विगाहा जमीन विमानस्थल प्रयोजनका लागि उपयोगमा आएको छ । ’

कुल १हजार ८०० मिटर रनवे स्तरोन्नती गर्नुपर्नेमा ४८० मिटर अझै बाँकी छ । विमानस्थलको रनवे स्तरोन्नतीका लागि रू. १८ करोडमा ठेक्का गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्