arthik abhiyan
ad banner

विद्यालयलाई २ करोड ५० लाखका शैक्षिक सामग्री

Sep 6, 2019 
प्रदेश ०३
Image Not Found

दोलखा । भारतको सिक्किम विकलांग समाजले दोलखाको शैलुङ गाउँपालिका क्षेत्रभित्रका विद्यालयलाई रू. २ करोड ५० लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ । गाउँपालिकाका ९ ओटा माध्यमिक विद्यालय तथा अन्य अधारभूत विद्यालयलाई समाजले यसै आर्थिक वर्षभित्र उक्त रकम बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने भएको हो  ।

माध्यमिक तह सञ्चालन भइरहेका विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना, प्राविधिक शिक्षा सञ्चालन भइरहेका विद्यालयमा प्रयोगात्मक कार्यमा प्रयोग हुने उपकरण र आधारभूत तहको बालकक्षामा विभिन्न शैक्षिक सामग्री गराउन लागिएको संस्थाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

गाउँपालिकाभित्रका ९ ओटा माध्यमिक विद्यालयमा सुविधासम्पन्न विज्ञान प्रयोगशाला स्थापनाका लागि २०/२० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउने सहमति भएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । यसैगरी समाजले इन्जिनीयरिङ क्षेत्रमा प्रयोग हुने २६ लाख रुपैयाँ बराबरको उपकरण दुर्गा माविलाई उपलब्ध गराउँदै छ । प्रतिबद्धता अनुरूप हाल १३ लाख रुपैयाँभन्दा बढीको सामग्री विद्यालयलाई हस्तान्तरण भइसकेको र बाँकी सामान आउने क्रममा रहेको प्रधानाध्यापक परशुराम श्रेष्ठले बताए । विद्यालयमा यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनीयरिङमा डिप्लोमा कक्षा सञ्चालन हुँदै छ ।

यसैगरी शैलुङ गाउँपालिकाको भैंसेस्थित शारदा माविमा भेटेरिनरीमा डिप्लोमा कक्षा सञ्चालनका लागि ल्याब स्थापना गर्न १४ लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइने समाजले बताएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेका आधारभूत तहका बालकक्षामा २/२ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिने समाजका अध्यक्ष गौतमले जानकारी दिए ।

जिल्लाको उक्त गाउँपालिकाभित्रका विद्यालय दुर्गममा रहेको र ल्याब लगायत पूर्वाधार अभाव भएकाले सहयोग गर्न लागिको गौतमले बताए । प्रतिबद्धता गरिए बमोजिमका सामग्री केही उपलब्ध गराइसकिएको र विज्ञान प्रयोगशाला तथा अन्य प्रयोजनका शैक्षिक सामग्री यसै आर्थिक वर्षभित्र उपलब्ध गराइने उनको भनाइ छ । उक्त संस्थाको सहयोगले समग्र शैलुङ गाउँपालिकाको शैक्षिक उन्नतिमा ठूलो योगदान पुग्ने विश्वास शैलुङ गाउँपालिकाका अध्यक्ष दुलालले विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस्