arthik abhiyan
ad banner

जिम्मेवार व्यवसाय र निजीक्षेत्र

Sep 8, 2019 
सम्पादकीय
NA

जिम्मेवार व्यवसायसम्बन्धी तेस्रो सम्मेलन काठमाडौंमा सम्पन्न भयो । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन, जिम्मेवार पर्यटन र कर्पोरेट सुशासन, जिम्मेवार कृषि, पूर्वाधार तथा सम्पर्क सञ्जाल, सामाजिक सुरक्षा, आन्त्रप्रेनरसिप तथा नवप्रवर्तन लगायत विषयमा छलफल भएको थियो ।

व्यावसायिक सामाजिक उत्तरदायित्व एवम् असल व्यावसायिक अभ्यासको प्रवर्द्ध न तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न निजीक्षेत्रका भूमिका सम्मेलनको मुख्य विषय थियो । जिम्मेवार व्यवसाय सम्बन्धी यस्तो कार्यक्रमले निजीक्षेत्रलाई जिम्मेवार व्यवसाय गर्न आवश्यक भूमिका तयार पार्ने विश्वास लिइएको छ ।

 मूलतः व्यवसाय आर्थिक लाभका लागि गरिन्छ । न्यूनतम लागतमा वस्तु तथा सेवाको प्रवाह गर्ने, रोजगारी सृजना गर्ने, स्रोतहरूको अधिकतम उपभोग गर्ने, नवीनतम प्रविधिहरूको सृजना गर्नु आदि नै व्यवसायको जिम्मेवारी हो । तर, अहिले यतिमात्र व्यवसायको जिम्मेवारी होइन भन्ने मानिन्छ । व्यवसाय समाजमाथि नै आश्रित हुने भएकाले व्यवसायको जिम्मेवार समाजप्रति पनि हुन्छ । समुदाय, वातावरण आदिप्रति जिम्मेवार भएर व्यवसाय गर्नुपर्ने हुन्छ । त्यही भएर आजभोलि संस्थागत सामाजिक उत्तरदायित्वलाई धेरैजसो कम्पनीहरूले निर्वाह गर्न थालेको पाइन्छ । तर, के नेपालका व्यवयसायीहरूले जिम्मेवार व्यवसाय गरिरहेका छन् त ?

राज्यलाई बुझाउनुपर्ने कर र राजस्व बुझाउने, उपभोक्ता हितका विरुद्ध कुनै पनि काम नगर्ने, समाज र वातावरणलाई अहित नहुने गरी व्यवसाय गर्ने तथा सामाजिक उत्तरदायित्व पूरा गर्ने काम नै जिम्मेवार व्यवसायका केही सूचक हुन् । तर, देशको अर्थतन्त्रको मुख्य क्षेत्र मानिएको निजीक्षेत्र जिम्मेवार हुन नसकेको आरोप लागेको छ । एनबीआईले नै गरेको एक अध्ययनले निजीक्षेत्रको छवि सकारात्मक नरहेको देखाएको छ । निजीक्षेत्र वास्तवमै जिम्मेवार हुने हो भने देशमा भ्रष्टाचार र आर्थिक अनियमितता जस्तो समस्या समाधानमा निकै सहयोग पुग्ने देखिन्छ । तर, यसो हुन नसक्नुमा निजीक्षेत्रको कमजोरी कहीँ  न कहीँ पक्कै छ भन्ने देखिन्छ ।

निजीक्षेत्र भन्नेबित्तिकै सबै व्यवसायीले जिम्मेवार व्यवसाय गरेका छैनन् भन्ने होइन । तर, सरकारले कुनै व्यवसायीमाथि अनियमिततामा कारबाही गर्दा निजीक्षेत्रले सिन्डिकेट र कार्टेलिङलाई प्रोत्साहन गर्ने गरी कारोबार नै ठप्प पारेका उदाहरण नभएका होइनन् ।

जिम्मेवार व्यवसायले प्रतिस्पर्धामा विश्वास गर्छ । तर, नेपालमा मूल्य र गुणस्तरमा स्वच्छ र पारदर्शी प्रतिस्पर्धा देखि“दैन । कम्पनीले कबोल गरेको रकम तिर्दा पनि उपभोक्ताले त्यसअनुसार वस्तु र सेवा उपभोग गर्न नपाएका उदाहरण बग्रेल्ती छन् । त्यस्तै उपभोग्य वस्तुमा मिसावट गर्ने, गुणस्तरहीन सामान बेच्ने, सरकारलाई राजस्व पूरा नबुझाउने, खरीदकर्तालाई सकेसम्म भ्याट बिल नदिने जस्ता गुनासा सर्वसाधारण उपभोक्ताको छ । यसलाई रोक्न एनबीआईजस्ता संस्थाले सक्रिय भूमिका निर्वाह गर्न सक्छन् । छलफल अन्तरक्रिया र अन्य सानातिना काम त भइरहेकै छन् । तर, जिम्मेवार व्यवसायको अभ्यासलाई बलियो बनाउन भने निजीक्षेत्र चुकेको छ । यसमा सरकारको पनि दोष छ ।

सरकारले निजीक्षेत्रलाई प्रतिस्पर्धाको मैदान खाली गरिदिनुपर्ने हो । नियम बनाएर नियम विपरीत काम गर्नेलाई सचेत पार्ने वा दण्ड दिने हो । तर, चाडपर्वका बेला अनुगमनमा नाममा व्यवसायीलाई दुःख दिने काम गरेर व्यवसायलाई जिम्मेवार बनाउन सकि“दैन । सरकारी अधिकारीहरूमा निजीक्षेत्र भन्नेबित्तिकै राजस्व छल्ने र नाफा मात्र हेर्ने व्यक्ति वा संस्था हो भन्ने भ्रम छ । राजनीतिक दलहरू पनि व्यवसायी भनेका चन्दाका स्रोत हुन् भन्ने सोच्छन् । यस्तो प्रवृत्ति निजीक्षेत्रलाई गैरजिम्मेवार बनाउन सहायक बनेको पाइन्न्छ । सरकारले बेलाबेलामा गर्ने अनुगमनभन्दा पनि निजीक्षेत्रका संघसंस्थाहरूले यसमा बढी प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् ।

जिम्मेवार व्यवसायको अर्को पाटो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो । अहिले यसका नाममा सातातिना काम गरेर प्रचारबाजी गर्न खोजेको पनि पाइन्छ । तर, व्यवसायीहरूले आफै जिम्मेवार बन्न असल व्यावसायिक अभ्यास गर्दा व्यवसाय पनि दिगो हुन्छ र दिगो विकासमा सहयोग पुग्छ भन्नेमा ध्यान दिएर काम गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्