arthik abhiyan
ad banner

दूधमा मिसिएको राजनीति

Sep 9, 2019 
सम्पादकीय
NA

विगत ११ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा नेपालमा करीब १ अर्ब रुपैयाँ बराबरको धूलो दूध आयात हुने गरेको देखिन्छ । यसमध्ये भारतबाट मात्रै ८३ प्रतिशत दूध आयात हुने गरेको छ ।

बढ्दो जनसंख्या र जीवनस्तरमा आएको सुधारका कारण नेपालमा दूधको माग बढिरहेको छ । तर, कृिषमा लाग्ने जनसंख्या घट्दै जा“दा गाईबस्तु पाल्नेको संख्या पनि घट्दै गएको छ । त्यसैले बढ्दो दूधको मागलाई देशको उत्पादनले धान्न सकिरहेको छैन । तर, किसानको दूधले बजार नपाउने र उपभोक्ताले गुणस्तरीय दूध नपाउने समस्या भने बढ्दो छ । दूधको उत्पादन बाह्रै महीना समान रूपमा नहुने भएकाले माग र आपूर्तिमा सन्तुलन गर्न गाह्रो भए पनि नेपालमा दूधस“ग सम्बद्ध समस्या भने किसान, डेरी र सरकारको दाउपेचस“ग जेलिएको पाइन्छ ।

सरकारले धूलो दूध आयातमा प्रतिबन्ध लगाएसँगै डेरीहरूले पर्याप्त दूध आपूर्ति गर्न सकेनन् । यसअघि किसानहरूको दूध विक्री नहुने गरेको अवस्थासमेत थियो । धूलो दूध आयातमा प्रतिबन्ध लागेपछि सरकारी दुग्ध विकास संस्थानले भारतबाट दूध ल्याएर आपूर्ति गर्ने तयारी गरेको छ । केही निजी डेरीहरूले पनि भारतबाट दूध ल्याएर आपूर्ति गर्न थालेका छन् । यसले धूलो दूधको प्रतिबन्ध र दूधको बजारको सम्बन्ध अचम्म लाग्दो देखिन्छ । 

माथिको तथ्यले दूधको उत्पादन र आपूर्ति प्रक्रिया बजार प्रणालीमा आबद्ध नभएको देखाउँछ । किसानले बजारमा दूध पुर्‍याउन सकेका छैनन् जसले गर्दा उनीहरूले उचित मूल्य पाउन सकेका छैनन् । अहिले दूधको मूल्य वृद्धि गरिएको छ तर त्यो वृद्धिबाट वास्तविक किसानले लाभ पाउन सक्ने सम्भावना कमै छ । दूध उत्पादन बढाउन सरकारले विभिन्न अनुदान र सहुलियत नदिएको होइन । तर, त्यस्तो अनुदान टाठाबाठाको हातमा बढी जाने गरेको छ । किसानका लागि व्यवस्था गरिएको अनुदान रकम गोष्ठी, छलफल र नक्कली किसान खडा गरेर सिध्याइन्छ । 

धूलो दूधमाथि प्रतिबन्ध लगाएर यसको मूल्य समेत बढाइएको छ । प्रतिबन्ध अघि १० हजार ५ सयको हाराहारीमा पाइने धूलो दूधको मूल्य ४ हजारभन्दा बढी बढेको छ । धूलो दूधको मूल्य बढ्दा बिस्कुट तथा आइसक्रिम उद्योग मर्कामा परेका छन् ।

नेपालमा बेलाबेलामा हुने मिल्क होलिडेका कारण किसानहरूको दूध नबिकेर समस्या हुने गरेको छ । धूलो दूध उत्पादन गर्न चितवनमा निजीक्षेत्रको लगानीमा कारखाना नै खुलेको थियो । तर, पर्याप्त दूध नपाएपछि त्यो अहिले बन्दको अवस्थामा छ । दुग्ध विकास संस्थानले पनि केही मात्रामा धूलो दूध उत्पादन गर्ने गरेको थियो । तर, अहिले भने ऊसँग पनि धूलो दूध अभाव भएको छ । 

दूधको उत्पादनसँग सम्बद्ध विषयमा सधैं नै विवाद र राजनीति हुने गरेको छ । विकसित गाईहरू ल्याउने भनियो त्यसमा विवाद भयो । धूलो दूध कारखानाले दूध नपाएर बन्द छ भने किसानहरूले दूध बेच्न पाएका छैनन् । भारतीय कम्पनीहरूलाई नेपालमा आउन दिने भनियो पछि फेरि रोकियो । धूलो दूधमा प्रतिबन्ध लगाएका कृषिमन्त्रीले नै दूध आयात गर्न भने स्वीकृति दिए । यी सबै तथ्यलाई मिसाउ“दा नेपालमा दूध उत्पादनसँग सम्बद्ध विषयमा स्पष्ट नीति नै छैन भन्ने देखाउँछ । 

दूधमा आत्मनिर्भर हुने हो भने उत्पादन बढाउनुको विकल्प छैन । यसका लागि सर्वप्रथम किसानलाई बजारस“ग जोड्न सक्नुपर्छ । सहकारीका माध्यमबाट जहाँ जहाँ बजारसँग उत्पादनलाई जोडिएको छ त्यहाँ उत्पादन पनि राम्रै बढेको छ । तर, ढुवानी प्रक्रिया, चिस्यान र प्रशोधन केन्द्रहरूको उचित व्यवस्थापन नहुँदा किसानहरू यसका लागि प्रोत्साहित हुन सकेका छैनन् भने उपभोक्ताहरू स्वच्छ र गुणस्तरीय दूध पाउन वञ्चित छन् । यो अव्यवस्था र गन्जागोल रहिरहनु दूध उत्पादन र कृषिक्षेत्रका लागि मात्र होइन, समग्र अर्थतन्त्रकै लागि घातक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्