arthik abhiyan
ad banner

कार्यालय खारेजीपछि भवन प्रयोगविहीन

Sep 9, 2019 
प्रदेश ०६
NA

दैलेख (अस) । संघीय व्यवस्थापछि दैलेखमा खारेज भएका सरकारी कार्यालयका भवनहरू अहिले प्रयोगविहीन बनेका छन् । खारेज हुने निश्चित भए पनि धमाधम टेन्डर हालेर बनाइएका करोडौं लागतका भवन उपयोग हुन नसकेको हो ।

डेढ वर्षअघि मात्रै रू. १ करोड ९४ लाख लगानीमा निर्माण गरिएको जिल्लास्थित पशु सेवाको कार्यालय अहिले खाली छ । निर्माण सम्पन्न भएको ३ महीना नबित्दै कार्यालय खारेजीमा परेपछि सो भवन प्रयोगविहीन बनेको स्थानीयले बताए । जिल्लाका विषयगत कार्यालयले २ वर्षअघि धमाधम भवन निर्माण गरेका थिए । ती कार्यालय पनि खारेज भएपछि डेढ वर्षदेखि उपयोग हुन सकेको छैन । जिल्ला शिक्षा कार्यालयको पुरानो भवन हुँदाहुँदै पनि गत वर्ष ३ करोड ७२ लाख रुपैयाँ लगानीमा नयाँ भवन बनाइयो । कार्यालय खारेजीमा पर्दा नयाँसँगै पुरानो भवनसमेत प्रयोगविहीन छ । अझै पनि कतिपय भवन निर्माणकै क्रममा छन् । सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा गाभिएर छुट्टिएको घरेलु तथा साना उद्योग विकास समितिको भवन निर्माण जारी छ । 

कार्यालयले स्थानीय तहमा गाभिने निश्चित भएको अवस्थामा २ वर्षअघि निर्माण कम्पनीसँग सम्झौता गरेको हो । कार्यालय स्थानीय तहमा जाने नजाने भन्नेबारे अझै अन्योल रहेको कर्मचारी बताउँछन् । हाल घरेलुले ३ करोड २६ लाख रुपैयाँ लगानीमा भवन निर्माण गरिरहेको छ । वरिष्ठ उद्योग विकास अधिकृत परशुराम आचार्यका अनुसार भवन निर्माण सम्पन्न भएलगत्तै नयाँ भवनमा कार्यालय सर्नेछ ।

यसरी करोडौं खर्चेर बनाइएका सरकारी संरचनाको प्रयोगबारे स्थानीय प्रशासन भने अन्योलमा छ । स्थानीय तह मासिक लाखौं रुपैयाँ खर्चेर भाडामा बसेका छन् भने सरकारी कार्यालय प्रयोगविहीन छ । खारेजीमा परेका कार्यालयहरूको भवन प्रयोगमा नआउँदा जीर्ण हुन थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्