arthik abhiyan
ad banner

२ करोड नजीक पुग्दै इन्टरनेट प्रयोगकर्ता

Sep 9, 2019 
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड नजिक पुगेको छ । मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको हो । नेपालमा २०५६ सालदेखि जीएसएम मोबाइल र २०५७ देखि मोबाइल इन्टरनेट शुरू भएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांकअनुसार विभिन्न सेवामार्फत इन्टरनेट चलाउने नेपालीको संख्या १ करोड ९४ लाख पुगेको छ । यसमा मोबाइलबाट मात्रै इन्टरनेट चलाउने संख्या १ करोड ६३ लाख ८८ हजार छ ।

नेपालमा मोबाइलसँगै शुरू भएको मोबाइल डेटा सेवाको बढ्दो प्रतिस्पर्धा, सेवाको व्यापक कभरेज, प्रविधिको विकास लगायत कारण इन्टरनेटको प्रयोग बढेको पाइन्छ । सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ सालदेखि थ्रीजी र २०७३ देखि फोरजीको सेवा शुरू पनि भएको थियो । प्राधिकरणका अनुसार आईएसपीबाट लिएको सेवा एउटै घरका चार÷पाँचजनाले प्रयोग गर्न सक्छन् । त्यसैले यसका ग्राहक थोरै देखिए पनि सेवाको पहुँच भने फराकिलो भइसकेको छ ।

मोबाइल इन्टरनेटमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ । ९४ लाख प्रयोगकर्ताले टेलिकमको मोबाइल इन्टरनेट सेवा लिएका छन् । यस्तै मोबाइल डेटामै प्राथमिकता दिएर अघि बढेको एनसेलका मोबाइल इन्टरेनट प्रयोगकर्ता ६७ लाख ६९ हजार रहेको प्राधिकरणको तथ्यांक छ ।

पछिल्लो समय प्रविधिको प्रयोगसँगै इन्टरनेट दैनिक आवश्यकता भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘अहिले हरेक काम मोबाइलबाटै हुन थालिसक्यो,’ उनले भने, ‘मोबाइल इन्टरनेटको प्रयोगले नेपालीको दिनचर्या सहज बन्दै गएको छ । त्यसैले यसको प्रयोग बढ्नु स्वाभाविक हो ।’

मोबाइल एप्स तथा सामाजिक सञ्जालको प्रयोगले मोबाइल डेटाको माग बढिरहेको छ । यस्तै आईएसपीबाट सेवा लिएर घरपरिवारमा इन्टरनेट चलाउनेहरू पनि बढ्दै गएका छन् । सेवाप्रदायकले गुणस्तरीय फोरजी सेवा दिन थालेकाले पनि मोबाइल डेटाका प्रयोगकर्ता लाभान्वित भएका छन् । पछिल्लो समय नेपाल टेलिकमले समेत फोरजी सेवा विस्तारमा जोड दिएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ता उल्लेख्य बढेका छन् । दूरसञ्चार सेवाप्रदायकले मोबाइलमा आधारित ग्लोबल प्याकेट मोबाइल सर्भिस (जीपीआरएस)मार्फत थ्रीजी र फोरजीसम्म इन्टरनेट सेवा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्