arthik abhiyan
ad banner

काठमाडौंमा गुड्यो बिजुली बस (फोटो फिचर)

Sep 9, 2019 
फोटो फिचर
Image Not Found
author avatar रामचन्द्र काफ्ले

पेट्रोल/डिजेल नचाहिने, ब्याट्रीबाट चल्ने बिजुली बस (विद्युतीय बस) सोमवारबाट काठमाडौं उपत्यकाको सडकमा गुड्न थालेका छन् । नेपालमा पहिलो पटक ब्याट्रीबाट चल्ने बस सार्वजनिक यातायातका रुपमा सञ्चालनमा आएका हुन् । यी बिजुली बसमा अब सर्वसाधारणले पनि सयर गर्न पाउनेछन् । ध्वनी प्रदुषण र वायु प्रदुषणले आक्रान्त काठमाडौं उपत्यकामा वातावरणमैत्री बिजुली बसको शुभारम्भ हुँदा सार्वजनिक यातायातको क्षेत्रले नयाँ फड्को मारेको छ ।

हुन त यसअघि २०३२ सालमा काठमाडौं उपत्यकामा बिजुलीबाट चल्ने ट्रली बस सञ्चालनमा आएको थियो । तर सरकारको उदासिनता, राजनीतिक हस्तक्षेप र चरम भ्रष्टाचारका कारण सर्वसाधारणले धेरै लामो समय ट्रली बस चढ्न पाएनन् । २०६६ सालतिरबाट ट्रली बस बन्द भयो । देशमा विद्यमान लोडसेडिङले पनि ट्रली बसलाई विस्थापित गर्न सहयोग गरेको थियो । यद्यपि अहिलेको अवस्थामा नेपाल लोडसेडिङमुक्त भइसकेको छ । जलस्रोतको दोस्रो धनी देशको रुपमा परिचित हुनुका साथै जलविद्युत् उत्पादनको अपार सम्भावनासमेत बोकेको देशमा अब फेरि त्यही नियति भोग्नु नपर्ला । जलविद्युतमा हामी आत्मनिर्भर बन्ने बाटोमा अघि बढिरहेका छौं ।

गत वर्ष साझा बसले सञ्चालन गर्ने भनी निकै तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् उपस्थित भएर उद्घाटन गरेको बिजुली बसमा सर्वसाधारणले यात्रा गर्न पाएनन् । तर अहिले सञ्चालनमा आएका बसले भने सर्वसाधारणलाई बोक्न थालिसकेको छ ।

सुन्दर यातायात प्रालिले चीनबाट किनेर ल्याएको बिजुली बस सञ्चालनको शुभारम्भ सोमवार उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले गरे । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको प्रांगणमा राखिएका दुई ओटा बिजुली बसमा उपप्रधानमन्त्री पोखरेलका साथमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालगायत त्यहाँ उपस्थित सबै चढेपछि त्यहाँबाट भद्रकाली, एनएसी, रत्नपार्क हुँदै टुँडिखेललाई एक फन्को लगाएका थिए । आधुनिक प्रविधिको प्रयोग गरिएको उक्त बसमा यात्रा कार्ड लिएर चढ्नेलाई सरकारले तोकेको भाडादरमा २० प्रतिशत छुट दिने घोषणा गरिएको छ । साथै मोबाइलबाट नै भाडा भुक्तानी गर्न सकिने गरी ‘स्मार्ट पेमेन्ट सिस्टम’समेत जडान गरिएको बताइएको छ ।

सोही कार्यक्रममा आविष्कारक महाविर पुनलाई सम्मान पनि गरिएको थियो । बिजुली बसको उद्घाटनअघि ब्राह्मणले विश्वकर्मा बाबाको नाममा पुजासमेत गरेका थिए भने मन्त्री इश्वर पोखरेलले केक काटेका थिए । हेर्नुहोस् तस्वीरमा कस्तो देखियो बिजुली बसको उद्घाटन समारोह :

तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्