arthik abhiyan
ad banner

शेयरबजार हल्लाउने कम्पनी

खरीद निर्णयको आधार कम्पनी मूल्य

Sep 10, 2019 
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

नेप्से सूचक ‘यति पुग्छ,’ ‘उति पुग्छ,’ ‘घटेर यतिमा आउँछ’ र ‘यति वर्षमा बढेर यति पुग्छ’ जस्ता चर्चाले कारोबारी र लगानीकर्ता दुवैलाई पिरोलेको छ । जोड, घटाउ, गुणन, भाग, प्रतिशत र औसत जस्ता व्यावहारिक गणितसमेत नबुझ्नेलाई ‘टेवा, अवरोध, प्रतिरोध’ जस्ता शब्दले अभिमन्यूलाई भैंm चक्रव्यूहमा पारेको छ । सूचकको हाउगुजीले शेयरबजार प्रताडित बनेको छ । सूचक के हो, के होइन, कसरी बढ्छ, कसरी घट्छ, सूचक निर्धारण गर्न कस्ता कम्पनी जिम्मेवार हुन्छन् यस बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ । 

सूचक कुनै आधार वर्ष वा दिनको बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । यसको मापन गर्दा आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरण दुईओटा अंक लिएर व्यक्त गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदै जान्छ । बोनस शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । सम्भवतः एक्सचेन्जको कारोबार मापन एक्सचेन्जले भन्दा पहिले स्वस्फूर्त रूपमा कारोबारी र शेयरबजार विषयमा कलम चलाउनेले आफूखुशी शुरू गरेका हुन् । पछि एक्सचेन्जले पनि कारोबार मापन गर्न आवश्यक सम्झियो र मापन गर्न थाल्यो । कारोबार मापनको यस्ता सूचक जसले जति पनि आफ्नो इच्छाअनुसार बनाउन सक्छ । यसैको पछिल्लो अभ्यासका रूपमा एनएमबी क्यापिटलले योजना व्यवस्थापन गर्न लागेको एनएमबी– ५० नामक म्युचुअल फन्डले छिट्टै आफ्ना लागि सूचक बनाउने तर्खरमा लागेको छ । यसमा ५० ओटा सूचीकृत कम्पनी रहनेछन् । सूचकले कम्पनीको उन्नति र प्रगति वा लाभांश आदि केहीलाई पनि जनाउँदैन । आधारभूत सूचक मापन गर्न प्रायशः सीमित कम्पनीलाई मात्र लिइन्छ । यिनै छानिएका कम्पनीको कारोबारको आधारमा हुने आधार र दैनिक पूँजीकरणको अंकलाई लिएर सूचक निकालिन्छ । सूचक गणना गर्दा पहिलो दिनलाई १ सय वा १ हजार विन्दुलाई आधार लिएर शुरू गरिएको भेटिन्छ । नेपालमा सूचक गणना गर्दा १ सय विन्दुलाई आधार लिइएको छ । 

संसारको अग्रणी १० ओटा एक्सचेन्जमा पर्ने भारतको बम्बे स्टक एक्सचेन्जको ‘सेनसेक्स’ आधारभूत सूचक हो । पछिल्लोपटक यसको सूचांक झन्डै ३७ हजार विन्दु (सेप्टेम्बर ६, २०१९) छ । त्यस्तै, भारतकै अर्को नेशनल स्टक एक्सचेन्जको सूचकांक निप्mटी करीब १० हजार (सेप्टेम्बर ६, २०१९) छ । अधिकांश स्टकको सूचक गणना १ सय विन्दुबाट गरिए पनि भारतको नेशनल स्टक एक्सचेन्जको आधारभूत सूचक र पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जको केएसई ( १०० को गणना क्रमशः सन् १९९६ अप्रिल १ तारीख र सन् १९९१ नोभेम्बरबाट १ हजार विन्दुबाट शुरू गरिएको हो । निप्mटीमा ५० ओटा र केएसईमा १ सयओटा कम्पनी सामेल गरिएको छ । बम्बे स्टकको सूचक गणना सन् १९७९ अप्रिल १ तारीखबाट ठूला पूँजीयुक्त ३० ओटा कम्पनी सामेल गरी १ सय आधार विन्दुबाट गरिएको हो । निप्mटी र सेनसेक्समा सामेल हुने कम्पनी बेलाबेलामा फेरबदल पनि हुनेगर्छ । सेनसेक्सले सन् २०१९ जुन ३ तारीखमा अहिलेसम्मको ४० हजार २ सय ६७ दशमलव ६२ को उच्चतम विन्दु छोएको छ भने सन् १९९० जुलाई २५ तारीखमा १ हजार विन्दु कटाएको थियो । 

बंगलादेशको ढाका स्टक एक्सचेन्जले आधारभूत सूचकका रूपमा सन् २००८ जनवरी १७ तारीखदेखि डीएसई बोर्ड इन्डेक्स र डीएसई–३० गरी दुईओटा सूचक विकास गरेको छ । 

नेपालको शेयर सूचक 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय १८ (नेप्से, साप्ताहिक प्रतिवेदन, भदौ २०, २०७६) ओटा कम्पनी सूचीकरण भएका छन् । नेप्सेले म्युचुअल फन्डसहित सूचीकृत कम्पनीलाई १२ ओटा समूहमा विभाजन गरेको छ । यी सबैको अलगअलग सूचक गणना हुन्छ । नेपालको आधारभूत सूचकका रूपमा ‘नेप्से’ रहेको छ । यसका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट गरी अरू तीनओटा सूचक छन् । कुल मिलाएर १६ ओटा सूचक गणना हुन्छ । पछिल्लो समयमा आएर सेन्सेटिभ इन्डेक्स अर्थहीन बनेको छ । 

बजार हल्लाउने कम्पनी 
नेपालमा मात्र होइन, संसारभरका एक्सचेन्जलाई हल्लाउने तागत राख्ने कम्पनीको संख्या सीमित हुन्छ । बम्बे र नेशनल स्टकको गणना सीमित कम्पनी (३० र ५०) बाट गरिएको भए पनि त्यसभित्र पनि सूचक हल्लाउने तागत राख्ने कम्पनी १÷२ ओटा मात्र हुन्छन् । नेपालमा नेपाल टेलिकमले अहिले पनि सूचक घटबढमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । पछिल्लो समय यसको मूल्यमा तीव्र गिरावट आए पनि यसको भूमिका कायमै छ । नेपाल टेलिकम बाहेक नबिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्रमशः स्थान जमाएका छन् । नेपालमा सूचक घटबढ गराउनमा बढीमा १५ ओटा कम्पनी आलोपालो गरी १० स्थान ओगट्छन् । यिनै १० ओटा कम्पनीले मूलरूपमा सूचकलाई हल्लाइरहेका हुन्छन् । नेपालको शेयरबजारको कुल पूँजीकरण १४ खर्ब ९६ अर्ब ७१ करोड ६२ लाख ३० हजार रुपैयाँको आधारमा नेपाल टेलिकम एक्लैको ६ प्रतिशतभन्दा बढी योगदान रहेको छ । त्यसपछि क्रमशः माथि उल्लिखित बैंकको छ । पाँचौं स्थानमा परेको चार्टर्ड बैंकको योगदान टेलिकमको ठ्याक्कै आधा अर्थात् ३ प्रतिशतभन्दा बढी छ । यी १० ओटा कम्पनीको कुल पूँजीकरणमा योगदान ३५ प्रतिशत रहेको छ । 

सूचक घटबढ
सूचक घट्ने मुख्य दुईओटा कारणमध्ये एउटा कारण तालिकाबाट पनि मोटामोटी अनुमान लगाउन सकिन्छ । यिनै १० ओटा कम्पनी वा यी सरहका पूँजीकरण भएका कम्पनीको कारोबारले सूचक तलमाथि पार्ने गर्छन् । अन्य कम्पनीको भूमिका नहुने होइन, तर यिनको जति हुँदैन । शेयरबजारमा सूचीकरण भएका कतिपय कम्पनीको नियमित कारोबार नहुन पनि सक्छ । तर, यी १० ओटा वा यस्तै प्रकृतिका १० ओटा कम्पनीको कारोबार नहुने दिन बिरलै हुन्छ । 

सूचक घट्नुको अर्को कारणमा पहिलो कारोबार मूल्य पनि हो । नेप्सेले पहिलो कारोबारका लागि दिएको अधिकतम मूल्यमा पहिलो कारोबार खुलेर कारोबार बन्द भएको अन्तिम कारोबार मूल्यको आधारमा बनेको पूँजीकरणलाई आधार पूँजीकरणमा जोड्छ । अधिक मूल्यमा कारोबार हुँदा आधार पूँजीकरण बढ्न जान्छ र भोलिपल्टबाट उक्त कम्पनीको भाउ घट्न थालेमा पूँजीकरण पनि अगिल्लो दिनभन्दा घट्दै जान्छ । आधार पूँजीकरण बढिसकेको हुन्छ । यसले पनि सूचक घटाउन मद्दत गर्छ । अधिक मूल्यको पहिलो कारोबार बजारका लागि हितकारी हुँदैन । 

अन्त्यमा, अर्थमन्त्री डा. युवराज खतिवडाले भनेझैं ‘कम्पनीको प्रोफाइल’ हेरेर लगानी वा कारोबार गर्नेलाई सूचकले कुनै समस्या पार्दैन । नेप्सेले पनि आधारभूत सूचक सीमित कम्पनीलाई लिएर नेप्से– २० बनाउन र हाल सूचक गणनाका लागि लिएको सबैको आधार पूँजीकरणको अंक साप्ताहिक प्रतिवेदनमा उल्लेख गर्नु वाञ्छनीय हुन्छ । 

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।
dahal_j@hotmail.com

 

प्रतिक्रिया दिनुहोस्