arthik abhiyan
ad banner

सबस्टेशन नबन्दा विद्युत् उत्पादनमा असर

Sep 10, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अभियान संवाददाता

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सबस्टेशन निर्माणमा ढिलाइ हुँदा जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा असर परेको छ । समयमै सबस्टेशन नबन्दा विद्युत् उत्पादन गर्न सक्षम हुँदाहुँदै पनि आयोजनाले उत्पादन गर्न पाएका छैनन् । 

अन्नपूर्ण–४, नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । तर, अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको सबस्टेशन समयमै सम्पन्न नहुँदा व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्न नसकेको आयोजनाका अध्यक्ष किशोर सुवेदीले बताए । अस्थायी रूपमा नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत् हुँदै केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना भए पनि सो प्रसारण लाइनले क्षमता धान्न नसक्ने उनको भनाइ छ । सबस्टेशनको काममा ढिलाइ हुँदा क्षमता अनुसारको विद्युत् आपूर्ति गर्न थप १ वर्ष लाग्ने उनको अनुमान छ । 

नारच्याङमै निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाको पनि ९० प्रतिशत काम सकिएको छ । ४ महीनाभित्र निर्माण सकिने गरी आवश्यक सम्पूर्ण उपकरण आयोजनास्थलमा पुगेको छ । इन्टेक, टनेल र पावर हाउससहित आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिइएको छ । ‘सबस्टेशन नबन्दासम्म उत्पादन गरेर फाइदा छैन, सिभिलतर्फको काममै केन्द्रित छौं,’ आयोजनाका इन्जिनीयर चूडामणि निरौलाले भने । सबस्टेशनको कामलाई तीव्रता नदिए विद्युत् खेर जाने उनको भनाइ छ । 

२०७५ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्रसारण लाइनअन्तर्गत सबस्टेशनको करीब ७५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । ‘घलेम्दीलाई वैकल्पिक व्यवस्था मिलाएका छौं,’ उनले भने । म्याग्दीको दाना, पर्वतको कुश्मा तथा पश्चिम नवलपरासीको स्टेशनमा तीव्र गतिमा काम भइरहेको उनले बताए । उनका अनुसार अन्नपूर्ण–६, घारको पोखरेबगरमा ६ ओटा टावरको काम स्थानीयले अवरुद्ध गरेका छन् । गाउँपालिकाको सदरमुकाम तथा बस्तीमाथि हाइटेन्सन लाइन राख्नुपर्ने अवस्थामा स्थानीयले विरोध गरेका हुन् । 
दाना–कुश्मा–बर्दघाट १४२ किमी प्रसारणलाइन मध्ये पहिलो खण्ड दाना–कुश्माको ४२ किमी खण्डका अन्य काम अन्तिम चरणमा रहेको आयोजनाले 
जानकारी दिएको छ । २ अर्ब ९० करोड रुपैयाँमा सबस्टेशन निर्माण गर्ने ठेक्का पाएको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले काम गर्दै आएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा ४२ मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र मुस्ताङको टुकुचेमा रहेको १३ दशमलव ५ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्