arthik abhiyan
ad banner

पर्यटकका नाममा सर्वसाधारण बोक्ने सवारीसाधनमा रोक 

Sep 10, 2019 
यातायात
NA

नेपालगञ्ज (अस) । जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपाल–भारतका विभिन्न शहरमा पर्यटकका नाममा सर्वसाधारण यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जुन प्रयोजनका लागि अनुमति लिएको हो, त्यसबाहेक अन्य प्रयोजनमा सवारीसाधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

बैठकले नेपाल–भारत मैत्री बसबाहेक अन्य सवारीसाधनका हकमा उक्त निर्णय गरेको हो । भारत जाने र त्यहाँबाट आउने बसले अनुमति अनुसारको काम गरे/नगरेको अनुगमन गर्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय, जमुनाहलाई दिने निर्णय भएको छ । बैठकले पर्यटक लगेर गएका गाडी तिनै पर्यटक ल्याए/नल्याएको पत्ता लगाउन परिचयपत्र समेत हेर्ने भएको छ । सोमवार भएको निर्णयको जानकारीका लागि यातायात विभागमा पठाइने बैठकमा सहभागी होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिए ।

पर्यटकका नाममा यात्रु ओसार्ने गाडीविरुद्ध होटल व्यवसायी संघले चरणबद्ध आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण भएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख वीरबहादुर ओली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र यातायात व्यवसायी संघका प्रतिनिधि समेत सहभागी थिए ।
 

प्रतिक्रिया दिनुहोस्