arthik abhiyan
ad banner

भीमेश्वरको समृद्धिका लागि पर्यटन र कृषिमा जोड दिएका छौं

Sep 10, 2019 
अन्तरवार्ता
Image Not Found
भरत केसी, प्रमुख, भीमेश्वर नगरपालिका

स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आइसकेपछि दोलखाको भीमेश्वर नगरपालिकामा विकास गतिविधि बढेका छन् । सदरमुकाम चरीकोटसमेत रहेको यो नगरपालिका क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रको रूपमा समेत विकसित हुँदै छ । त्यसैले नगरपालिकाले पनि पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख भरत केसी बताउँछन् । यस्ता संरचना निर्माणपछि भीमेश्वर पर्यटनको हब नै बन्ने उनको भनाइ छ । प्रस्तुत छ, नगरका विकास गतिविधि, सम्भावना, चुनौती लगायत विषयमा आर्थिक अभियानका दोलखा संवाददाता नवराज शिवाकोटीले नगर प्रमुख केसीसँग गरेको कुराकानीको सार :

भीमेश्वर नगरपालिकाका अहिले के गर्दै छ ?
नगरपालिकाले यहाँका भौतिक पूर्वाधार विकासका कामलाई नै निरन्तरता दिएको छ । सडक निर्माण, स्तरोन्नति र नगरलाई पर्यटकीय ‘हब’ बनाउन पर्यटन पूर्वाधारको विकासका काम भइरहेका छन् । मूलतः नगरपालिकाको समृद्धिका लागि उपयुक्त हुने खालका योजना निर्माण र कार्यान्वयनमा हामीले विशेष जोड दिएका छौं ।

नगरको समृद्धिको प्रत्यक्ष सम्बन्ध नागरिकको आयआर्जनस“ग हुन्छ । यसका लागि के कस्ता योजना छन् ?
भीमेश्वरको समृद्धिको मूल आधारको रूपमा नगरपालिकाले पर्यटन, कषि तथा पशुपालनलाई लिएको छ । पर्यटन विकासका लागि हामीले खोरथली वनमा खुला चिडियाखाना निर्माण गर्न लागेका छौं । भ्यूटावर, थामी संग्रहालय र हाइकिङ रूट निर्माण भइरहेको छ । यसैगरी मयूरपार्क, दोलखा बजारमा रहेका मठमन्दरको पुनर्निर्माण, विश्वशान्ति बुद्धपार्क लगायत संरचना निर्माण हुँदै छन् । यसैगरी भ्यूटावर आसपासमा बञ्जी जम्प, रकक्ल्याम्बिङ जस्ता साहसिक खेल खेल्ने स्थान निर्माणका लागि अध्ययन भइरहेको छ । यस्ता संरचना निर्माणपछि भीमेश्वर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्नेछ । यसबाट स्थानियको आयआर्जनमा सकारात्मक प्रभाव पर्नुका साथै रोजगारीको पनि सृजना हुनेछ । यस्तै कृषि तथा पशुपालनतर्फ कृषकलाई आकर्षित गर्न ठूलो परिमाणमा कृषिउपज उत्पादन गर्ने तथा पशुपालन गर्नेलाई अनुदानको व्यवस्था गरेका छौं । कृषिमा आधुनिकीकरण र अग्र्यानिक उत्पादनमा प्रोत्साहन तथा सहायता दिएका छौं । आगामी दिनमा नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज खरीदका लागि नगरपालिका, अन्य संघसंस्था र सहकारीको साझेदारीमा सदरमुकाममा कृषिउपज खरीद केन्द्र स्थापना गर्ने सोच छ ।

भीमेश्वर चक्रपथ निर्माणको अवस्था के छ ?
भीमेश्वर चक्रपथ निर्माणको काम पहिले नै शुरू भएको र डीपीआर तयार भएकोमा अहिले साविकको सुस्पाक्षमावती गाविस, बोच र लाँकुरी डाँडा गाविस थपिएकाले डीपीआर संशोधन भएको छ । नयाँ डीपीआर अनुसार हाल भीमेश्वर नगरपालिका वडा नं २ को दोलखा बजारबाट फुलपा, राम्पा, दोलखा–सिँगटी सडक, वडा नं १ सुस्पाक्षमावती पानीघाट, देउराली, मकैबारी निस्किएर अरनिको राजमार्ग,  खरीढुंगाबाट शेरा र टाँडी कुप्री हुँदै पुनः सदरमुकाम चरीकोट जोडिनेगरी चक्रपथको काम भइरहेको छ । यो बहुवर्षीय आयोजना हो । यो आयोजना सम्पन्न भएपछि भीमेश्वरभरि आवागमन तथा सर्वसाधारणले उत्पादन गरेका सामग्रीको बजारसम्मको पहुँच सहज हुनेछ ।

शहरी विकासतर्फ के भइरहेको छ ?
भीमेश्वर नगरपालिकाकै जिम्मेवारीमा रहनेगरी साना शहरी योजना अन्तर्गत रू. ९७ करोड लागतमा खानेपानी योजना सञ्चालन भइरहेको छ । यसमा रू. २५ करोडका लागि भीमेश्वर नगरपालिका जमानी बसेको छ । यो आयोजनाले भीमेश्वरको ठूलो क्षेत्रमा खानेपानी उपलब्ध गराउनेछ । नगरका सबै ठाउँमा भागमा स्वच्छ खानेपानीको व्यवस्था मिलाउन यो वर्ष नगरपालिकाले करीब १ करोड रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष नगरपालिकाले खानेपानी वर्षको रूपमा मनाउने भएको छ । ‘एक घर, एक धारा’ अभियान चलाउने निर्णय समेत भएको छ । यसैगरी ढल व्यवस्थापनका लागि पनि साना शहरी खानेपानी आयोजना मार्फत लगभग ६८ करोड रुपैयाँ लागतमा डीपीआर बन्ने तयारीमा छ । एडीबीको सहयोगमा बहुउद्देश्यीय ढल निर्माण गरिनेछ । 

ढललाई प्रशोधन गरी सिँचाइका लागि पानी र कृषिका लागि कम्पोस्ट मल तयार पार्ने योजना छ । यसै वर्ष चरीकोटमा सीसीटीभी क्यामेरासहित सडकबत्ती राख्ने, फुटपाथको व्यवस्थापन गर्ने र चरीकोटदेखि दोलखा बजारसम्म सजावट बढाउने रूखहरू लगाइनेछ । साथै नगरपालिकाको साझेदारीमा नगरबस सञ्चालनका लागि विभिन्न पक्षसँग छलफल भइरहेको छ ।

नगरको ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि बाहिरिने क्रम बढ्दो छ । युवा स्वरोजगारीका लागि नगरको कस्तो योजना छ ?
कृषिक्षेत्रबाट अग्र्यानिक उत्पादन तथा ठूलो परिमाणमा कृषिउपज उत्पादनमा जोड दिएका छौं । नगरपालिका तथा सहकारीकहरू समेतको लगानीमा कृषिउपज केन्द्र खोलिँदै छ । केन्द्रले किसानले उत्पादन गरेको कृषि उत्पादन खरीद गर्नेछ । यो व्यवस्थापछि कृषिक्षेत्रले नै रोजगार प्रदान गर्ने अवस्था सुनिश्चित हुन्छ । भीमेश्वरका पर्यटकीय सम्पदामा पूर्वाधार तयार भएपछि पर्यटन क्षेत्रमा पनि प्रशस्तै रोजगारी सृजना हुन्छ । त्यसपछि युवाहरू रोजगारीकै लागि विदेशिनु पर्दैन भन्ने मलाई लाग्छ ।

अहिले देशैभरि समयमै विकास निर्माणका आयोजना नसकिने समस्या छ । भीमेश्वरमा यससम्बन्धी के काम हुँदै छ ?
चरीकोट सडकको फूटपाथ निर्माण र भीमेश्वर नगरपालिकाको भवनको तला थप्ने काममा बाहेक नगरपालिकाले लगाएका ठेक्कामा काम समयमै भएका छन् । ती योजनामा धेरै घटेर ठेकेदारले ठेक्का हाल्नाले समस्या भएको हो । अन्य ठेक्कामा निर्माण व्यवसायीले समयमै काम गरेका छन् ।

नगरपालिकाका विकासमा के कस्ता समस्या र चुनौती देख्नुहुन्छ ?
अहिले भीमेश्वर नगरपालिकाको विकासमा देखिएको सबैभन्दा ठूलो चुनौती मानिसमा रहेको नकारात्मक सोचाइ नै हो जस्तो लाग्छ । केही भएन र गरेन भन्ने प्रवृत्ति पनि देखिएको छ । त्यो नकारात्मक सोचाइ सबैमा छ भन्ने चाहिँ होइन । बाटो चाहिने तर आफ्नो पाटो जान नहुने, फूटपाथ चाहिने तर थोरै जग्गा पनि छाड्न नहुने, बिजुली चाहिने तर आफ्नो जग्गामा पोल गाड्न नहुने जस्ता सोचले नगरको विकासमा पक्कै बाधा पार्छ । यस्ता सोचाइमा पनि विस्तारै परिवर्तन आउला । तर अहिलेलाई यो समस्याकै रूपमा देखिएको छ ।

नगरले गरेका स्मरणयोग्य काम र चाहेर पनि विविध कारण गर्न नसकेका काम केही छन् ?
हामी निर्वाचित भएर आएपछि चरीकोटको केन्द्रमा रहेको सातदोबाटो चोकमा ढलानका लागि गरिएको पहल, भीमेश्वर नगरपालिकाका सबै विद्यालयमा पोशाकमा एकरूपता कायम गर्ने निर्णय, खुला चिडियाखाना निर्माण, मयूरपार्क निर्माण, निर्माणाधीन विश्वशान्ति बुद्धपार्क, थामी संग्रहालय सम्झनायोग्य कामहरू हुन् भन्ने मलाई लाग्छ । तर भीमेश्वर चक्रपथको निर्माण, दोलखाको सम्पदा बस्तीको पुनर्निर्माणले सोचे जस्तो गति लिएन । अहिले बसपार्क, विभिन्न पार्कहरू, खेलमैदान जस्ता संरचना निर्माणमा वनसँग सम्बन्धित कानून तगारो बनेको छ । हिजो संरक्षण हुन्छ भनेर स्थानीय जनताले सबै सार्वजनिक जग्गा वनको नाममा नापी गराए, तर आज त्यही समस्या भयो । स्थानीय तहले वनको जग्गा प्लटिङ गरेर घडेर बेच्ने त होइन नि । जग्गा खरीद गरेर सबै संरचना निर्माण गर्न बजेट अभाव छ । वनसम्बन्धी कानून संशोधन नभएसम्म सोचेजति पूर्वाधार निर्माणका काम गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्