arthik abhiyan
ad banner

राष्ट्रिय आविष्कार केन्द्र : डिजेल गाडी कात्तिकभित्रै विद्युतीय बनाइँदै

Sep 10, 2019 
यातायात
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले डिजेलबाट चल्ने पुराना भ्यानलाई कात्तिकभित्र विद्युतीय प्रणालीमा परिवर्तन गरिने बताएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा केन्द्रका संस्थापक महावीर पुनले गाडी परिवर्तनका लागि ब्याट्री र मोटर जोड्न बाँकी रहेको जानकारी दिए । दशैंसम्ममा चीनबाट गाडीका ब्याट्री र मोटर ल्याइने र कात्तिकभित्र विद्युत्बाट चल्ने बनाइने उनले बताए ।

केन्द्रले जेठदेखि जापानी अटो कम्पनी मित्सुबिसीको भ्यानलाई विद्युतीय गाडीमा परिवर्तन गर्ने काम गरिरहेको छ । केन्द्र संस्थापक पुनले इन्जिनीयरिङ पढिरहेका पाँच विद्यार्थीद्वारा गाडी बनाउने कामको थालनी गरेका थिए । नेपालमा डिजेल/पेट्रोलबाट चल्ने पुराना थोत्रा गाडीलाई विद्युतीय प्रणालीबाट चल्ने बनाएर इन्धनका लागि बाहिरिने रकम रोक्न सकिने उनको विश्वास छ । सोही उद्देश्यले आपूmले यसलाई अभियानकै रूपमा अघि बढाएको उनले बताए । 

पुनका अनुसार इलेक्ट्रिक भेहिकल एशोसिएशन अफ नेपालका अध्यक्ष उमेश श्रेष्ठले दानमा दिएको पाँचसीटे उक्त डिजेल भ्यानलाई परीक्षणका रूपमा विद्युतीय भ्यानमा परिवर्तन गरिएको हो । यद्यपि यो भ्यान कसैले किन्न पाउने भने छैनन् । अध्ययन अनुसन्धानका लागि भ्यान परिवर्तनको काम गरिएकाले यसलाई तयार पारेर प्रदर्शनीमा राखिनेछ । कीर्तिपुरस्थित अनुसन्धान केन्द्रको प्रयोगशालामा यो काम भइरहेको उनले जानकारी दिए ।

सहज, सुलभ र वातावरणमैत्री यातायात सेवाका लागि विद्युतीय सवारीसाधन महŒवपूर्ण भएको पुनले बताए । नेपालमा जलविद्युत्को उत्पादन बढ्दै गएकाले पनि अब विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने उनको धारणा छ । डिजेल÷पेट्रोल लगायत इन्धनको तुलनामा कम खर्चिलो भएकाले सर्वसाधारण मानिस यसको प्रयोगबाट बढी लाभान्वित हुने उनले बताए । ‘विद्युतीय सवारीमा १ मेगावाट विद्युत् खपत हुँदा इन्धनबाट चल्ने गाडीमा २३ सय लिटर डिजेल र २४०० लिटर पेट्रोल खर्च हुन्छ,’ उनले भने, ‘इन्धन आयातबाट वर्षेनि अर्बौंको व्यापार घाटा हुने गरेको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढाएर यसलाई रोक्नुपर्छ ।’

डिजेल भ्यानलाई विद्युतीय बनाउन केन्द्रले रू. ८ लाखमा ब्याट्री र मोटर खरीद गर्न लागेको छ । पुनका अनुसार त्यसपछि रू. २ लाखदेखि ३ लाख लागतमा उक्त भ्यान पूर्णरूपमा विद्युतीय प्रणालीमा परिवर्तन हुनेछ । यो परीक्षण सफल भएमा देशमै भएका थप पुराना सवारीसाधनलाई यसैगरी सञ्चालन गर्न सकिने उनले बताए । ‘यसबाट हजारौं नयाँ रोजगारी सृजना समेत हुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्