arthik abhiyan
ad banner

घोडदौरामा साँस्कृतिक डबलिको रुपमा ‘रक हिल पार्क’ बनाउने तयारी

Sep 10, 2019 
प्रदेश ०५
Image Not Found
author avatar पाण्डव शर्मा

भदौ २४, घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं १८ घोडदौरामा ‘रक हिल पार्क’ बनाइने भएको छ । 

पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी भइरहेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार घोडदौरालाई प्रदेश ५ कै पर्यटकीय केन्द्र बनाउने लक्ष्य छ । 

सो क्षेत्रमा प्रदेश ५ सरकारले साँस्कृतिक डबलिको अवधारणा अघि सारेको छ । गत आर्थिक वर्षमा डबलिका लागि रू.२ करोड विनियोजन गरिएको थियो । चालु आवमा रू.१ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

साँस्कृतिक डबलि र रक हिल पार्कलाई एकिकृत रुपमा अघि सारिने उनले बताए । घोराही बजारदेखि करीव साढें ४ किलोमिटर टाढा पर्ने घोडदौरा क्षेत्रबाट दाङ उपत्यकाको अवलोकन गर्न सकिन्छ ।‘दाङ उपत्यका हेर्न चाहनेहरुका लागि घोडदौर सबैभन्दा उपयुक्त स्थान हो,’ उनले भने, ‘अग्लो ठाउँमा रहेकाले गर्मीयाममा शितलताका लागि समेत मानिसहरु जाने गर्छन् ।’

घोडदौरा क्षेत्रमा प्रशस्त चट्टानहरु रहेकाले त्यस क्षेत्रको ऐतिहासिकता झल्कने गरी चित्रहरु कोरिने उपमहानगरपालिकाले बताएको छ । 

त्यहाँ रहेका केही ढुंगाहरुमा हात्तिको आकारसमेत देख्न सकिन्छ । ‘रक हिल पार्क मार्फत यस क्षेत्रको कला, सँस्कृति, रहन सहन र सामाजिक चरित्रको चित्रण गरिने छ,’ चौधरीले भने, ‘यस्तो पार्क प्रदेश नं ५ का लागि नयाँ हुने छ ।’ घौडदोरा यहाँको सभ्यतासँग जोडिएको क्षेत्र भएकाले यहाँका पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने उनले बताए ।

केही वर्ष पहिलेसम्म घोराहीबाट घोडदौरासम्म पैदल जानुपर्दथ्यो तर, गत वर्ष देखि त्यहाँ बाटोसमेत पुगेको छ । अहिले बाटोको ट्रयाक खोल्ने काम सम्पन्न भए पनि कालेपत्रको काम भइसकेको छैन ।

उपमहानगरका प्रवक्ता तथा वडा अध्यक्ष भरतमणी अर्यालले सो सडक खण्ड कालेपत्रका लागि आगामी वर्षमा बजेट विनियोजन गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्