arthik abhiyan
ad banner

बैंकमा आन्तरिक नियन्त्रण प्रणाली 

Sep 11, 2019 
लेख | दृष्टिकोण
NA
author avatar डा.दिवाकर वशिष्ठ

आन्तरिक नियन्त्रण भनेको व्यवस्थापनद्वारा संस्थाको उद्देश्य प्राप्तिका लागि अँगालिने सांगठनिक योजना र कार्यविधि हो । आन्तरिक सम्पत्तिको संरक्षणको उपाय अपनाउने, कर्मचारी एवम् स्रोतसाधनको अधिकतम परिचालन र निरीक्षण एवम् अनुगमन गर्ने, नियमित कार्यालय बैठक गरी गुनासाको संकलन र सम्बोधन एवम् समाधान गर्ने कार्यहरू आन्तरिक नियन्त्रणभित्र पर्छन् । तर, नेपालको बैंकिङ क्षेत्रको अचल तथा चल सम्पत्तिको परिचालन र नियन्त्रणको अवस्था कमजोर छ । यसमा सरकारको स्वामित्व भएका बैंकहरू बढी पर्छन् । 

भवन, जग्गा, फर्निचर पुराना गाडीको व्यवस्थापन कुशलतापूर्वक भएको देखिँदैन । तरल अर्थात् चल सम्पत्तिको परिचालन र नियन्त्रणसमेत भरपर्दो, दिगो, नियमित र सुरक्षित देखिँदैन भन्ने कुरा भाखा नाघेको कर्जा दर बढ्नु र कालोसूचीमा पर्ने व्यक्तिको संख्या दिनहुँ बढेकोबाट स्पष्ट हुन्छ । बैंकभित्र दरिलो आन्तरिक नियन्त्रण पद्धतिको विकास र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन आन्तरिक सदाचारिताको विकास, समस्याको आन्तरिक रूपमा नै समाधान गर्ने परिपाटी बसाल्नु साथै विद्यमान ऐनकानूनको पूर्ण पालना गर्नुपर्छ । आन्तरिक जोखिमको संवाहक नै आन्तरिक नियन्त्रण भएको हुँदा सुपरिवेक्षण, अनुगमन, निरीक्षण, आन्तरिक मूल्यांकन, आन्तरिक लेखापरीक्षण, गुण नियन्त्रण जस्ता विधिमार्फत बैंकिङ जोखिम कम गर्न सक्ने कुरामा कसैको दुईमत नहोला । 

लक्षित उद्देश्य प्राप्त गर्ने बाटामा आइपर्ने बाधालाई सामान्य अर्थमा जोखिम भन्ने गरिन्छ । बैंकिङ क्षेत्रले जोखिमभित्र रहेर अवसरको खोजी गर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रमा आइपर्ने जोखिमहरूमा कर्जा, बजार, कार्यसञ्चालन, तरलता र ब्याजदरसम्बन्धी जोखिमहरू प्रमुख छन् । सञ्चालन जोखिमले हालका दिनहरूमा बैंकलाई बढी पिरलिरहेको छ । विभिन्न जोखिममध्ये सञ्चालन जोखिम महत्त्वपूर्ण छ भन्ने बुझ्दाबुझ्दै पनि बैंक तथा वित्तीय संस्थाको ध्यान यसमा बढी केन्द्रित नहुँदा तथा दिनहुँ आन्तरिक नियन्त्रण पद्धति कमजोर बन्दा विभिन्न घटना र जोखिम बढिरहेको छ । जोखिमको सबैभन्दा ठूलो वाहक कर्मचारी र उसको खराब नियत, कम अनुभव र तालीमको अभावलाई मानिन्छ । त्यस्तै सूचनाप्रविधिको अपडेट नहुनु पनि कारण हो । निरन्तर अनुगमन एवम् सुपरिवेक्षणको अभाव र आन्तरिक नियन्त्रणको कार्यान्वयन पक्षा चुस्त नहुँदा हिजोसम्म राम्रो मानिएको मानिस वा संस्था एकाएक अपराधि वन्न सक्छन् । हालका दिनहरूमा बंैक तथा वित्तीय संस्थामा सञ्चालन जोखिम निरन्तर बढेकाले वित्तीय अपराधले प्रश्रय पाएको छ । हालै चिनियाँहरूको संलग्नतामा एटीएम मेशिनबाट रकम चोरी हुनुले पनि यो साबित गरिसकेको छ । यसलाई पनि आन्तरिक नियन्त्रणको कमजोरीकै रूपमा लिन सकिन्छ ।  

आन्तरिक नियन्त्रणलाई सुदृढ बनाउन इ.प्रा.निर्देशन नं. ७/०७४ मा नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकिय निर्देशन लागू गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्रप्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षणको सन्दर्भमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरीे निर्देशन जारी गरेको छ । निरीक्षण प्रतिवेदन उपरको प्रतिक्रिया स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको मितिले बढीमा ३० दिनभित्र इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले उक्त प्रतिवेदनमा उल्लिखित कैफियतहरूको सुधार गर्नुका साथै दिएका निर्देशनहरूको पालना गरी सो निरीक्षण प्रतिवेदनमा उठाइएका बुँदाहरूको सुधारको स्थिति सहितको प्रतिक्रिया राष्ट्र बैंकको सम्बद्ध सुपरिवेक्षण विभागमा पठाउनु पर्नेछ भनी उल्लेख गरिएको छ । सुरक्षित कारोबार ऐन, २०६३ र जोखिम व्यवस्थापन गाइडलाइन, २०१० समेत कार्यान्वयनमा आइसकेको छ ।

बैंकिङ जोखिममा कर्जा, सञ्चालन, विदेशी विनिमय, बजार, ब्याजदर, तरलता आदिमा जोखिम रहे तापनि सञ्चालन जोखिममा ध्यान दिँदा अरू जोखिम स्वतः नियन्त्रण हुने वातावरण बन्दछ । आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउन आन्तरिक जाँच अति जरुरी पक्ष हो । यसमा एउटा कर्मचारीको काम कारबाहीलाई अर्को कर्मचारीको कामकारबाहीद्वारा स्वतः एवम् स्वतन्त्रतापूर्वक जाँच गरिन्छ । आर्थिक कारोबार तथा हरहिसाब सम्वन्धी कार्यहरू सम्पादन गर्दा एक कर्मचारीको कामलाई अर्को कर्मचारीले क्रस चेक गर्ने वा जाँच गर्ने कार्यलाई नै आन्तरिक जाँच भनिन्छ । कार्यालय समय समाप्तिपछि दिनभरि भएको कार्यहरू कार्यालय बन्द गर्नुअगावै विस्तृत जाँच गरी ठीक दुरुस्त छ भनी यकिन गर्नु नै आन्तरिक जाँच हो । प्रविधिको कार्यहरूको समेत सूक्ष्म अध्ययन गर्ने पद्धति नै आन्तरिक जाँच भएको हुँदा यसतर्पm बैंक कर्मचारी बढी सजग हुनुपर्छ । 

समग्रमा आन्तरिक जाँच एउटा यस्तो व्यवस्था हो, जसले कर्मचारीहरूको कार्य विभाजनलाई व्यवस्थित तुल्याई गल्ती र छलकपट नियन्त्रण गर्न सघाउँछ । यसका माध्यमबाट एउटा कर्मचारीले गरेको गल्ती तथा छलकपट अर्को कर्मचारीले पत्ता लगाई त्यसको निदान गर्न सकिन्छ । 

आन्तरिक जाँच तथा नियन्त्रणलाई बढी प्रभावकारी बनाउन सकेमा कर्मचारीको कार्यदक्षतामा वृद्धि हुन्छ र व्यवसायको लागतमा कमी आउँछ । त्यसैले आन्तरिक जाँच र नियन्त्रणलाई प्रभावकारी बनाउनको लागी कर्मचारीबीच स्पष्ट कार्य विभाजन हुनुपर्छ । विशिष्टीकरण र विस्तृतीकरण पद्धतिको विकास गर्नुपर्छ । अधिकार तथा कर्तव्यको निर्धारणका साथै नियमित कार्यहरूको सुपरिवेक्षण तथा अनुगमन गर्नुपर्छ । नियमित कार्य परिवर्तन, तालीमको व्यवस्था, लेखा नियन्त्रण पद्धतिको कार्यान्वयन तथा विकास र कर्मचारी उत्प्रेरणा जस्ता कार्य पनि अनिवार्य रूपमा गर्नुपर्छ । 

बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकको निर्देशन, सम्बद्ध बैंकभित्र खडा गरिएका विभाग आदि रहे पनि यी संयन्त्रको कार्यान्वयन पक्ष कमजोर देखिन्छ । निर्देशन पालना र आन्तरिक रूपमा खडा गरिएका निकाय अपेक्षित रूपमा सक्रिय नहुँदा आन्तरिक नियन्त्रण प्रभावारी हुन सकेको छैन । आन्तरिक नियन्त्रण प्रभावकारी भएन भने वैक तथा वित्तीय संस्थाहरूको सञ्चालन जोखिम बढेर निकट भविष्यमा कहालीलाग्दो रूपमा उजागर हुनेछ र बैंक तथा वित्तीय संस्थाहरूको बजारशाख घट्दै जानेछ । भोलिका दिनमा पुनः बृहत् बैंकिङ पुनःसंरचना अथवा वित्तीय क्षेत्र सुधार कार्यक्रम समग्र बंैकिङ क्षेत्रमा नै लागू गर्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन । 

लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् । 
 

प्रतिक्रिया दिनुहोस्